सहकारी क्षेत्रको सुधारका लागि नीतिगत व्यवस्थालाई कार्यान्वयन गर्नुपर्नेमा जोड

ललितपुर । सहकारी क्षेत्रको थप सुधारका लागि नीतिगत व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा सरोबारवालाहरुले जोड दिएका छन् ।

सहकारी क्षेत्रको एक मात्रै बैंक राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो स्थापनाको २१ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

बैंकले आफ्नो स्थापनाको २१ औं स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवस विविध कार्यक्रमका साथ मनाएको छ ।

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमको उद्घाटन समारोहमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारी क्षेत्रमार्फत समाज रुपान्तरण गर्न सकिने योगदानलाई थप बृद्धि गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

महासंघका अध्यक्ष कँडेलले सहकारी क्षेत्रमार्फत समाज रुपान्तरण गर्न सकिने योगदानलाई थप बृद्धि गर्नका लागि सहकारी अभियान र सरकारबीचको निरन्तर सहकार्य तथा समन्वय आवश्यक रहेको बताउनुभयो ।

सहकारी क्षेत्रको थप सुधारका लागि नीतिगत व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालको सहकारी अभियानलाई प्रभावकारी बनाउन निरन्तर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको राष्ट्रिय सहकारी बैंकलाई पूर्ण बैकिङ कारोबारको अनुमति दिनका लागि सरोकारवाला निकायले ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले २०६१ सालमा सरकारबाट एक करोड रुपियाँ र सहकारी संस्थाहरुबाट सेयरबापत उठाइएको एक करोड गरी दुई करोडबाट सुरु भएको बैंक यतिबेला अर्बको कारोबार गरिरहेको बताउनुभयो । २० वर्षको अवधिमा बैंकले सेवा विस्तार र कारोबारलाई थप आक्रमक बनाउँदै लगेको उहाँले बताउनुभयो ।

सो अवसरमा विषम परिस्थितिमा सहकारीको उत्कृष्ट व्यवस्थापन सम्बन्धी सफलताको अनुभव आदान–प्रदान गरिएको थियो । सहकारी व्यवस्थापनमा सफल रहेका विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेड नवलपुरका प्रमुख कार्यकारी अधिकृत माधव पौडेल, मेचि बहुउद्देश्यीय सहकारी संस्थाका लिमिटेड झापाका प्रमुख कार्यकारी अधिकृत खेम प्रसाद बगाले, चन्द्रगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठ र कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड ललितपुरका प्रमुख कार्यकारी अधिकृत कुमार खत्रिले सफल सहकारी व्यवस्थापनको लागि आ–आफ्नो अनुभव आदान–प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा गत पुसमा सम्पन्न १९ औं वार्षिक साधारण सभामा घोषणा भएका व्यक्ति तथा संस्थाका विभिन्न विधाका पुरस्कार तथा सम्मान वितरण गरेको छ ।

स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवसका अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता बैंकका अध्यक्ष के.बी.उप्रेती, स्वागत लेखा सुपरिवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेती र सञ्चालन बैंकका सञ्चालक नायब महाप्रबन्धक राजेश श्रेष्ठले गर्नु भएको थियो ।

भौतिक तथा भर्चुअल रुपमा समेत सञ्चालन भएको कार्यक्रममा देशभरका बैंकका सदस्य सहकारी संघ संस्थाका प्रतिनिधि तथा अभियानका विभिन्न निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

बैंकको उपत्याका बाहेकका सम्पूर्ण शाखा कार्यालयहरुमा २१ औं स्थापना दिवसको अवसरमा छलफल तथा अन्तरक्रिया गरि दिवस मनाइएको बैंकले जनाएको छ ।

बैंकले २१ औं स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवसको अवसरमा विभिन्न व्यक्त तथा संस्थाहरुलाई सम्मान गरेको छ ।

गत पुसमा सम्पन्न बैंकको १९ औं वार्षिक साधारण सभामा विभिन्न विधामा पुरस्कार तथा सम्मानका लागि छनोट भएका व्यक्ति तथा सहकारी संस्थाहरुलाई पुरस्कृत गरिएको हो । महासंघका अध्यक्ष मिनराज कँडेल र बैंकका अध्यक्ष के.बी.उप्रेतीले सम्मानित व्यक्ति र पुरस्कृत संस्थाका पदाधिकारीहरूलाई प्रशंसा पत्र सहित पुरस्कार प्रदान गर्नु भएको थियो ।


SHARE THIS