अहिले देखिएको आर्थिक संकट अस्थायी हो, त्यसमा सुधार हुँदै जान्छ

काठमाडौं । अर्थमन्त्री प्रकाश शरण महतले अहिले देखिएको आर्थिक संकट अस्थायी रहेको र क्रमशः सुधार हुँदै जाने बताउनुभएको छ । शनिबार काठमाडौंमा नेपाल अडिटर्स एशोसियन (अडान)को १८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री महतले अर्थतन्त्रमा रहेको समस्या हल गर्न मौद्रिक नीतिमार्फत सम्बोधन गरेको बताउनुभयो । उहाँले वित्त नीति मार्फत पनि सरकारले आर्थिक क्षेत्रका लागि कार्यक्रमहरु ल्याउन लागेको उल्लेख गर्नुभयो ।

मन्त्री महतले अन्तराष्ट्रिय परिस्थित, कोभिडको प्रभावको कारणबाट सिर्जना भएको असर अर्थतन्त्रमा अझै कायम रहेको उल्लेख गर्दै अहिले देखिएको आर्थिक संकट अस्थायी रहेको बताउनुभयो । सरकारले तरलता बृद्धि गरी त्यसमा सुधार गर्दै लैजाने उहाँले बताउनुभयो ।

उहाँले सुशासनको महत्वपूर्ण कुरा लेखापरीक्षणसँग जोडिएको बताउँदै एकाउन्टेन्स र अडिटिङमा पारदर्शीता कायम गर्न ठूलो भुमिका रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘यो पेशाको विस्तार र भूमिका बढाउन आवश्यक छ । हिसाब किताब चुस्त दुरुस्त राख्ने, त्यसलाई पुनः परीक्षण गरेर हेर्ने, चाहे राज्य संयन्त्रको होस वा अन्य निकायको होस त्यसको हिसाब किताब हेर्र्ने काममा महत्वपूर्ण भूमिका छ ।’

मन्त्री महतले अडानले हिसाब किताब चुस्त दुरुस्त राख्न तालिम दिनका लागि सिटिइभीटीसँग तालिम कार्यक्रम अघि बढाउन लागेकोमा धन्यवाद दिँदै सरकारबाट आश्यक सहयोग गर्ने बचन दिनुभयो ।

मन्त्री महतले बजेटको स्रोत सुनिश्चितता गरेको आधारमा बहुबर्षे विकासका आयोजना अघि बढाउँदा पछि बजेटको नपुग्ने र काम थालेका निर्माण व्यवसायीलाई भुक्तानीमा समस्या रहेको बताउनुभयो ।

उहाँले व्यवसायीहरुलाई ऋण लिँदा आफ्नो क्षमता हेरेर, त्यसबाट कति प्रतिफल आउँछ, त्यसलाई हेरेर मात्र ऋण लिन र हचुवाको भरमा काम गर्दा समस्या आउने बताउनुभयो ।

नेपालमा काम गर्नका लागि धेरै सम्भावनाहरु रहेको बताउँदै धैर्यता राख्ने हो भने अवसरहरु रहेको र त्यसलाई उपभोग गर्नेतिर लाग्नुपर्ने उहाँले बताउनुभयो ।

मन्त्री महतले आर्थिक संकट भोगेको उद्योगी व्यवसायीहरुलाई सकारात्मक बहस सुरु गरेर हामी गर्न सक्छौँ भन्ने मान्यताका साथ अघि बढ्न आग्रह उहाँले गर्नुभयो । उहाँले सम्भावना भएका क्षेत्रमा मात्र लगानी गर्न उद्योगीहरुलाई आग्रह गर्दै कृषि लगायतका उद्योगहरुमा धेरै संभावना रहेको बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल अडिटर्स एसोसिएसन(अडान)का  अध्यक्ष केदारनाथ पौडेलले जुन उद्देश्यका लागि अडानको स्थापना गरिएको थियो त्यो उद्देश्य पूरा भएको बताउनुभयो ।

स्थापना दिवसको अवसरमा अडानले प्रभातफेरी र रक्तदान कार्यक्रम समेत गरेको उल्लेख गर्दै झन्डै एक सय जनाले रक्तदान गरेको अध्यक्ष पौडेलले बताउनुभयो ।

२०८० सालदेखि दर्तावाल लेखापरीक्षकलाई एक व्यक्ति एक पेशाको अवधारणा लागू गर्न लागिएको भन्दै सो नीति उपयुक्त नभएको उहाँले बताउनुभयो । उहाँले लेखा परीक्षक ऐन २०३१ विपरित एक ब्यक्ति एक पेशाको रुपमा लेखापरीक्षकले काम गर्न समस्या हुने भन्दै अर्थमन्त्री महतको ध्यानाकर्षण गराउनुभयो ।

नेपाल चार्टट एकाउन्टेन्ट ऐन २०५७ संशोधन हुन लागेकोले त्यसलाई संशोधनको क्रममा जाँदा त्यसमा छलफल गरेर अगाडी लैजानुपर्ने उहाँले बताउनुभयो ।

अध्यक्ष पौडेलले प्रोफेशनल एकाउन्टेन्ट विषय पढाउनका लागि सिटिइभीटीबाट पढाउनेगरी १६ सय ९६ घण्टाको कक्षा हुने, ८० प्रतिशत सैद्धान्तिक र २० प्रतिशत अभ्यासगत कोर्ष सञ्चालन गर्ने तयारी गरेको बताउनुभयो । उहाँले पाठ्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले उद्योगी व्यवसायी मैत्री नीति ल्याउन सरकारलाई आग्रह गर्नुभयो ।

चार्टस एकाउन्टेन्ट संघ एक्यानका अध्यक्ष दिपक पाण्डेले बजारमा अडिर्टसको ब्रान्ड स्थापना गर्न सफल गराएकोमा चार्टड एकाउन्टेसको तर्फबाट अडिटरहरुलाई धन्यवाद दिनुभयो ।

उहाँले नेपालबाट चार्टड एकाउन्टेन्टहरु दुबई, मलेसिया, अष्ट्रेलिया, यूरोप लगायतका देशमा पलायन हुने अवस्था रहेको बताउनुभयो । पाण्डेले राज्यको नीति नियम बनाउँने ठाँउमा सिएहरुको भूमिका खेल्न सक्ने, अहिले राज्यका तीन तहमा पनि सिएले भूमिका खेल्न सक्ने भएपनि त्यो वातावरण नभएको बताउनुभयो ।

चार्टस एकाउन्टेन्ट संघ र नेपाल अडिर्टस एसोसिएसनका मुद्दाहरु समान भएकोले त्यसमा संगै हातोमालो गरेर जान सक्ने उहाँले बताउनुभयो । उहाँले लेखापरीक्षकहरु एक व्यक्ति एक पेशामा लाग्ने नीति उपयुक्त नभएको बताउनुभयो ।

कार्यक्रममा कार्यवहाक महालेखा परीक्षक महेश्वर काफ्लेले संस्थाहरुको आर्थिक अवस्थाले देशको आर्थिक अवस्था देखाउँने बताउँदै त्यस्ता संस्थाहरुको लेखापरीक्षण गर्दा देशका लागि सहयोग पुग्ने बताउनुभयो । अडानको काम महालेखा परीक्षकको कार्यालयसँग पनि जोडिएको उहाँले उल्लेख गर्नुभयो ।

यस्तै उद्योग वाणिज्य संघका उपाध्यक्ष हेमराज ढकालले अडानले उठाएका विषय र मुद्दाहरुमा उद्योग वाणिज्य संघको पनि साथ रहेको बताउनुभयो । धेरै उद्योग व्यवसाय पलायन भएर गएको, धेरै सटरहरु बन्द भएको, धेरै उद्योगीहरु पलायन भएकोको बताउँदै उद्योगीहरुका लागि सहज नीति ल्याउनका लागि आग्रह गर्नुभयो । उहाँले उद्योग क्षेत्रलाई सहयोग पुग्यो भने मात्र देश विकासमा सहयोग पुग्ने, उद्योगीहरु पलायन भएको उल्लेख गर्दै ढकालले त्यसतर्फ अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले जिल्ला–जिल्लामा एकान्टिङको धेरै समस्या रहेको बताउनुभयो । एकाउन्टको हिसाव राख्न  सक्ने जनशक्ति नरहेको बताउँदै जिल्ला जिल्लामा युवाहरुलाई यसबारे तालिम गराउन मन्त्रालयलाई भनेको उल्लेख गर्नुभयो ।

अडानको तर्फबाट सिटिइभिटी मार्र्फत एकाउन्टिङ्गको तालिम दिने काम सकारात्मक रहेको बताउँदै उहाँले दक्ष जनशक्तिलाई गाउँ जाने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

उहाँले सशस्त्र प्रहरीबाट भन्सारबाट छुटाएको सामानको पनि चेकजाँच गरेर दुःख दिने काम गरेकोप्रति पनि मन्त्री महतको ध्यानाकर्षण गराउनुभयो ।

हिजोको तुलनामा काम घटेको तर बैंकको ब्याज नघटेको, आधा भन्दा बढी व्यवसायी कालोसूचीमा परेको भन्दै यस्तो अवस्थामा कसरी काम गर्न सकिन्छ भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । व्यावसायीलाई परेको आर्थिक संकट समाधान गर्नका लागि जिम्मेवारीपूर्वक नीति ल्याउन उहाँले आग्रह गनुभयो ।

नेपाल अडिटर्स एसोसिएसन (अडान) को ६५ जिल्लामा संगठन विस्तार भएको छ भने सात हजार बढी सदस्यहरु रहेका छन् ।


SHARE THIS