अन्तिम दिन सुधारियो सेयर बजार

काठमाडौँ / लगातार तीन ओरालो लागेको सेयर बजार साताको अनितम दिन भने सुधारिएर बन्द भएको छ । तीन दिनमै ५५ अंकले ओरालो लागेको बजार अन्तिम दिन भने आठ अंकले सुधारिएको हो ।

साताको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ८.०१ अङ्कले उकालो लागेर २०३३.१३ को बिन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १.०८ अंकले उकालो लागेर ३८७.३८ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा अन्तिम दिनको नेप्से ०.३९ प्रतिशतले उकालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १.०८ प्रतिशतले उकालो लागेको छ । बुधबार नेप्से २०.३१ अङ्कले ओरालो लागेर २०२५.१२ को बिन्दुमा पुगेर रोकिएको थियो ।

बिहीबार दिनभर ४० लाख नौ हजार २६३ कित्ता सेयर ४३ हजार ५९१ पटक खरिदबिक्री हुँदा एक  अर्ब ५४ करोड १३ लाख ६७ हजार ३९८ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १३ करोडले कमी हो । बुधबार ४८ लाख ३८ हजार १०६ कित्ता सेयर ४५ हजार १६७ पटक खरिदबिक्री हुँदा एक अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

बिहीबार १३ करोड ७१ लाख पाँच हजार ६४६ हजार रुपियाँ बराबरको सेयर कारोबार भएर सोल्टी होटल लिमिटेडको सर्वाधिक सेयर कारोबार भएको छ भने आइएमई लाईफ इन्स्योरेन्सको सात करोड ७९ लाख ४१ हजार ३७८ रुपियाँ, घोराही सिमेण्टको पाँच करोड १६ लाख ६१ हजार २४१ रुपियाँ, शिवम् सिमेण्टको चार करोड ४२ लाख १६ हजार ८७५ रुपियाँ र हिमालयन डिष्टीलरीको तीन करोड २१ लाख ४१ हजार ७२१ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक बाँकी १२ उपसमूहको सूचक उकालो लागेको छ । व्यापार उपसमूह सर्वाधिक २.५३ प्रतिशतले उकालो लागेको अन्तिम दिन होटल तथा पर्यटन २.०० प्रतिशतले उकालो लागेको छ । यता म्युचुअल फण्ड भने ०.२३ प्रतिशतले ओरालो लागेको छ ।


SHARE THIS