लक्ष्मी सनराइज बैंकको एकीकृत कारोबार शुरु

काठमाडौँ । लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडले ‘लक्ष्मी सनराइज बैंक लिमिटेड’को नामबाट एकीकृत कारोबार शुरु गरेका छन् । लक्ष्मी र सनराइजले १ः१ अनुपातमा मर्जर भई संयुक्त कारोबार थालेका हुन् ।

मर्जरमा जानका लागि गत जेठ ८ गते अन्तिम सम्झौता गरेका दुबै बैंकको गत असार ३ गते सम्पन्न साधारणसभाले मर्जरमा जाने विशेष प्रस्ताव पारित गरेको थियो । मर्जरका लागि नेपाल राष्ट्र बैंकले असार २२ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

हाल लक्ष्मी बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड रुपियाँभन्दा बढी छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपियाँभन्दा बढी छ । दुई बैंक एक भएपछि चुक्ता पूँजी २१ अर्ब ६६ करोड रुपियाँभन्दा बढी कायम हुने बताइएको छ ।

मर्जपछि बैंकको जगेडा कोष १२ अर्ब ८२ करोड, निक्षेप संकलन दुई खर्ब ८७ अर्ब र कर्जा लगानी दुई खर्ब ५९ अर्ब रुपियाँ बढी पुगेको छ ।

मर्जरपछि बनेको बैंकको अध्यक्षमा हाल लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल रहनुभएको छ । बैंकमा लक्ष्मी बैंकको तर्फबाट चार जना र सनराइज बैंकको तर्फबाट तीन जना सञ्चालक चयन हुनुभएको छ । लक्ष्मी बैंकबाट डा. मनीष थापा, स्वाती रुङ्गटा र विद्या बस्नेत सञ्चालक चयन हुनुभएको छ । यस्तै, सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगड सहित इन्जिनियर बच्छराज तातेड र मालचन्द दुगड लक्ष्मी सनराइज बैंकको सञ्चालक चयन हुनुभएको छ ।

बैंकको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मी बैंकका सीईओ अजय विक्रम शाहले निरन्तरता पाएका छन् । मर्जरपछि शाखा संख्या २८४ पुगेको छ भने मर्जरपश्चात् बैंकको केन्द्रीय कार्यालय हात्तीसार, काठमाडौंमा रहेको छ ।


SHARE THIS