महाविर पुनका मागप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघको ऐक्यवद्धता

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा.महावीर पुनले शुरु गरेको अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रममा समर्थन र ऐक्यबद्धता प्रकट गरेको छ ।

महासंघका अध्यक्ष उमेशप्रसाद सिंह नेतृत्वको टोलीले धर्ना स्थलमा पुगेर डा. पुन र धर्नारत आविष्कार केन्द्रको टोलीलाई भेटेर आफ्नो संस्थागत समर्थन जनाएको छ ।

धर्ना स्थलमा महासंघका वरिष्ठ उपाध्यक्ष सुर्य कँडेल, महासंघ केन्द्रिय महिला उद्यमी समिति अध्यक्ष  रोशनी उपाध्याय, महासचिव डम्बरप्रसाद रेग्मी, सचिव दिपक बुढालगायतको ऐक्यबद्धताका लागि सहभागिता रहेको थियो ।

आफ्ना मागहरू सहित धर्नामा बसिरहेका महाविर पुन र आविष्कार केन्द्रका टोलीसँगको भेटमा महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर्नुपर्ने तथा  अनुसन्धान र नवप्रवर्तनको लागि हरेक वर्ष विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने कुरा महासंघले पनि उठाउँदै आएको भन्दै यसको पूर्ण समर्थन रहेको बताउनुभयो ।

महासंघका अध्यक्ष सिंहले मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिका लागि खोज, अनुसन्धान, नवीन सोच र आविष्कार अपरिहार्य विषय भएको बताउँदै पुन र आविष्कार केन्द्रले उठाएका विषय र मागहरू सान्दर्भिक भएको बताउनुभयो ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा.पुनले आफ्नो अभियानमा संस्थागत उपस्थिति र ऐक्यबद्धता जनाएकोमा महासंघको टोलीलाई धन्यवाद दिंदै लघु, घरेलु तथा साना उद्योगहरुमा अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा सहकार्य गरिने बताउनुभयो ।

उहाँले अनुसन्धान, नवप्रर्वतन र अविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन बनाउनुपर्ने, अनुसन्धान केन्द्रबाट उत्पादन भएका वस्तुको बजारीकरणका लागि नीति नियम बनाउनुपर्ने, कामलाई सहज बनाउन र आवश्यक अनुसारको नीति नियम बनाउन ‘नवउद्यमी प्रवर्द्धन समिति’ बनाउनुपर्ने, नवउद्यमी बन्न चाहने नेपालीका लागि अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनुपर्ने  आफ्नो माग दोहो¥याउनुभयो ।


SHARE THIS