नौ महिनामा नौ खर्ब भित्रियो रेमिट्यान्स, २४ प्रतिशतको बढोत्तरी

काठमाडौँ । नेपाल भित्रने रेमिट्यान्स २४ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिना (चैत) सम्मको तथ्याङ्क अनुसार यो अवधिसम्म नौ खर्ब तीन अर्ब ३९ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष सोही अवधिमा रेमिट्यान्स ०.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा भने रेमिट्यान्स आप्रवाह १३.९ प्रतिशतले बढेर ६ अर्ब ९२ करोड डलर पुगेको छ । गत आवको सोही अवधिमा अमेरिकी डलरमा १.८ प्रतिशतले रेमिट्यान्स घटेको थियो । 

कुनै समय विदेशी मुद्राको सञ्चिति सङ्कुचनको अवस्थामा पुगेको मुलुकका लागि रेमिट्यान्स आप्रवाहमा भएको बृद्धिले राहत दिएको थियो । यति बेला मुलुक विदेशी मुद्रा सञ्चितिको सहज अवस्थामा रहेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाउँछ । तथ्याङ्क अनुसार चैतसम्म मुलुकसँग १४ खर्ब ३३ अर्ब ७३ करोड रुपियाँ बराबरको विदेशी मुद्रा सञ्चिति छ । जुन् गत असार मसान्तको तुलनामा १७.९ प्रतिशतले बढी हो । अमेरिकी डलरको आधारमा भने सञ्चिति १४.८ प्रतिशतले बढेर १० अर्ब ९४ करोड डलर कायम भएको छ । 

कुल विदेशी मुद्रा सञ्चितिमध्ये राष्ट्र बैङ्कसँग १२ खर्ब ७३ अर्ब ९९ करोड र अन्य बैङ्क तथा वित्तीय संस्थासँग एक खर्ब ५९ अर्ब ७४ करोड रुपियाँ रहेको छ । कुल विदेशी मुद्रा सञ्चितिमध्ये २३.१ प्रतिशत भारतीय मुद्रा रहेको छ । उपलब्ध विदेशी मुद्रा ११ महिनाको वस्तु र ९.४ महिनाको वस्तु तथा सेवा आयातका लागि पर्याप्त हुने राष्ट्र बैङ्कले जनाएको छ ।

समीक्षा अवधिसम्म मुलकको शोधनान्तर स्थिति (मुलुक भित्रने र बाहिरिने रकमको अन्तर) मा उच्च सुधार देखिएको छ । गत वर्ष सोही अवधिमा दुई खर्ब ६८ अर्ब २६ करोड रुपियाँले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिसम्म एक खर्ब ८० अर्ब १७ करोड रुपियाँले बचतमा छ । अमेरिकी डलरमा यस्तो बचत एक अर्ब ३७ करोड रुपियाँले बचतमा देखिन्छ । मुलुकको चालु खाता भने घाटामै छ । यद्यपि घाटाको आकारमा अघिल्लो वर्षको तुलनामा भने सुधार देखिन्छ । राष्ट्र बैङ्कका अनुसार चैतसम्म मुलुकको चालु खाता ५१ अर्ब ८२ करोड रुपियाँले घाटामा छ जब कि गत आवको चैतसम्म यस्तो घाटा पाँच खर्ब १० अर्ब रुपियाँले घाटामा थियो । यसबिचमा खुद वैदेशिक लगानी भने व्यापक घटेको छ । अघिल्लो आवको चैतसम्म १६ अर्ब ५१ करोड रुपियाँ बराबरको खुद प्रत्यक्ष वैदेशिक लगानी भित्रिएकामा चालु आवको समीक्षा महिनासम्म पाँच अर्ब ९१ करोड रुपियाँ खुद प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । 

चैतमा मूल्य वृद्धि ७.७६ प्रतिशत पुगेको छ । गत आवको चैतमा भने मूल्य वृद्धि दर ७.२८ प्रतिशत थियो । समीक्षा महिनामा गैरखाद्य तथा सेवा समूहको मूल्य वृद्धि बढी छ । राष्ट्र बैङ्कका अनुसार यो समूहको मूल्य वृद्धि ८.४२ प्रतिशत रहेको छ भने खाद्य तथा पेय पदार्थ समूहको ६.९३ मूल्य वृद्धि रहेको छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत सबैभन्दा धेरै रेस्टुराँ तथा होटल उपसमूहको १४.६८ प्रतिशतले मूल्य वृद्धि भएको तथ्याङ्क छ । त्यस्तै गैरखाद्य तथा सेवा समूह अन्तर्गत सबैभन्दा धेरै स्वास्थ्य उपसमूहको १०.३९ प्रतिशतले मूल्य वृद्धि भएको छ । क्षेत्रगत हिसाबले काठमाडौँ उपत्यकामा ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशतको मूल्य वृद्धि रहेको छ ।


SHARE THIS