केशव राज खनाल
थाङपाल, सिन्धुपाल्चोक, जेठ ११ गते
हरियालीले ढाकिएको थाङपाल गाउँ यतिबेला चित्रकला र पर्यटक कलाकर्मको संगम बन्दैछ। चारैतिर हरियाली छ थाङपाल, सिन्धुपाल्चोक यति बेला । केही कलाकार ऐतिहासिक तिनधाराको चित्र कोर्दै थिए, त केही पुरानो मानेलाई रंगमा उतार्दै। कलाकार नरबहादुर त्यहाँको एतिहारिक तिनधारालाई चित्रमा उतार्दै हुनुहुन्थ्यो भने युवा कलाकार शर्मिलादेवी तामाङले पुरानो मानेलाई क्यान्भासमा कैद गर्नुभयो । लिलाधर केसीले लामबद्ध चैत्य र लुङ्दरका बीचबाट देखिने सुन्दर हिमाललाई कैद गर्नुभयो । विविता खड्काले पाँचपोखरीको मनमोहक दृष्यलाई क्यान्भासमा कैद गर्नुभयो ।
कलाकारहरूको यो अभूतपूर्व जमघट नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र पाँचपोखरी थाङपाल गाउँपालिका, सिन्धुपाल्चोकको आयोजनामा तीन दिने ‘पाँचपोखरी चित्रकला पर्यटन प्रवर्धन कार्यशाला’ ले गरेको हो । देशका युवा तथा नामुद १६ जना कलाकारको उपस्थितिले कला कार्यशाला अझ वैचारिक र विषयका हिसावले सांस्कृतिक र प्राकृतिक बनेको थियो । मनरा प्रजापतिले स्थानीय तामाङ वृद्ध महिलाको चित्र बनाईरहदा लिलाधर केसीले आफ्नो पहिलो चित्र सकेर गाउपालिकाका अध्यक्षको मुहार चित्र बनाउदै हुनुहुन्थ्यो । पछाडीबाट टुप्लुक्क गाउँपालिकाका अध्यक्ष टासी लामा आउनु भयो आफ्नै प्रतिबिम्ब क्यान्भासमा देखेर मुस्कुराउदै भन्नुभयो, "अहो दुरुस्तै बनाउनु भएछ ।" कार्यशालामा अग्रज कलाकार राजन काफ्लेले समसामयिक शैलीमा गाउको वास्तुकला र जीवनलाई चित्रण गर्नुभयो । केशव राज खनाल, दिवेशमान प्रधान, प्रितम थापा, राजेन्द्र कुँवर, सिकेन्दर चौधरी, राजिना गुरुङ, सुष्मा श्रेष्ठ लगायतले प्रकृतिलाई क्यान्भासमा ल्याउनु भयो भने रामनारायण महतो, मनरा प्रजापतिले दैनिक जीवन र लामा गुरुकोे चित्र कोर्नुभयो ।
गाउँपालिका अध्यक्ष टासी लामाले कलाको संरक्षणमा गाउँपालिका सधैँ अघि बढ्ने जानकारी गराउनुभयो । उहाँले गाउँपालिकालाई पर्यटनको केन्द्र बनाउन लागिपरेको बताउनुभयो । पालिकाका वडा नं ३ का वडाध्यक्ष ङिमा छिरिङ तामाङले पर्यटन प्रवर्धनमा चित्रकला कार्यशालाले महत्त्वपूर्ण योगदान दिने बताउनुभयो । विहिवार सम्पन्न समापन समारोहमा प्रतिष्ठानका वास्तुकला तथा लोककला विभाग प्रमुख प्रदीप अधिकारीले यस किसिमका कार्यशालाले सामाजिक चेतनासँगै स्थानीयको जीवनस्तर उकास्न मद्दत पु¥याउने बताउनुभयो । उहाँले गाउँपालिकाको प्रकृति, संस्कृतिलगायतको चित्रण यस कार्यशालामा सिर्जना गरिने कलाकृतिमा देख्न पाइने विचार व्यक्त गर्नुभयो । उहाँले स्थानीयको आर्थिक समृद्धि पर्यटनबाट सम्भव भएकाले ललितकलार्मीहरूले पनि यस कार्यक्रममार्फत योगदान दिने धारणा राख्नुभयो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलले कलाकारहरुलाई प्रमाणपत्र तथा मायाको चिनो प्रदान गर्दै कलाकारको सहयोगले पालिकाको निर्माणाधिन संग्रहालयले पुर्णता पाउने र आगामी दिनमा पनि कलाको कार्यक्रलाई निरन्तरता दिने बताउनुभयो ।