कर्जा प्रवाह, कुल आन्तरिक कर्जा, निक्षेप परिचालन बढ्यो, बृद्धिदर भने खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को नौ महिनामा कर्जा प्रवाह, कुल आन्तरिक कर्जा, निक्षेप परिचालन बढेको छ । तर अघिल्ला वर्षहरुको तुलनामा बृद्धिदरमा भने संकुचन आएको छ ।

समिक्षा अवधिमा कुल आन्तरिक कर्जा पाँच प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १०.७ प्रतिशतले बढेको थियो ।

आर्थिक वर्ष २०७९/८० को नौ महिनामा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्तमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ९.६ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ चैत मसान्तमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी ५५.७ प्रतिशतले बढेकामा २०७९ चैत मसान्तमा यस्तो दाबी ५२.८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ४.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १३.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी चार प्रतिशतले बढेको छ ।

निक्षेप परिचालन बढ्दो

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप ३५५ अर्ब ८९ करोड रुपियाँ (सात प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २३६ अर्ब २३ करोड रुपियाँ (५.१ प्रतिशत) ले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११ प्रतिशतले बढेको छ । २०७९ चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः आठ प्रतिशत, २५.७ प्रतिशत र ६०.१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.७ प्रतिशत, २८.७ प्रतिशत र ५६.१ प्रतिशत रहेको थियो ।

२०७९ चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.३ प्रतिशत रहेको छ । २०७८ चैत मसान्तमा यस्तो निक्षेपको अंश ३८.६ प्रतिशत रहेको थियो ।

कर्जा प्रवाह ३.५ प्रतिशतले बढ्यो

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १६१ अर्ब ९८ करोड रुपियाँ (३.५ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५५० अर्ब ६४ करोड रुपियाँ (१३.५ प्रतिशत) ले बढेको थियो ।

वार्षिक बिन्दुगत आधारमा २०७९ चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ३.२ प्रतिशतले बढेको छ । २०७९ चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.१ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.३ प्रतिशत र ३७.१ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कहरूको कर्जा प्रवाह ३.४ प्रतिशतले, विकास बैङ्कहरूको ४.७ प्रतिशतले र वित्त कम्पनीहरूको १.१ प्रतिशतले बढेको छ । २०७९ चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जामध्ये १२.२ प्रतिशत कर्जाका लागि चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) सुरक्षणका रूपमा रहेको छ भने ६७.५ प्रतिशत कर्जाका लागि घरजग्गा धितो सुरक्षण रहेको छ । २०७८ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.३ प्रतिशत र ६६.९ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० को नौ महिनामा बैङ्क तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ६.४ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १२.६ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १४.६ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.२ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.८ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ३.४ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १९.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.९ प्रतिशतले र ट्रस्ट रिसिट (आयात) कर्जा ३.१ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ६५.८ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनर्वर्गीकरणको कारणसमेत), मार्जिन प्रकृतिको कर्जा ६.७ प्रतिशतले र हायर पर्चेज कर्जा १४.६ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको सङ्ख्या ५१.५ प्रतिशतले वृद्धि भई तीन लाख ८७ हजार ८३९ पुगेको छ । त्यसै गरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ५.५ प्रतिशतले वृद्धि भई दुई लाख १७ हजार ९५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या १९९.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २२.८ प्रतिशतले वृद्धि भई ९९६ अर्ब ८८ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.४ प्रतिशतले घटेको थियो ।


SHARE THIS