नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८, महिला ५१.०२ प्रतिशत / पुरुष ४८.९८ प्रतिशत

काठमाडौं । नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ। शुक्रबार राष्ट्रिय तथ्याङ्क कार्यालयले १२औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदनमा सार्वजनिक गरेको छ। तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार, नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगेको हो।

जसमा महिलाको संख्या एक करोड ४९ लाख ११ हजार २७ अर्थात् ५१।०२ प्रतिशत छ। त्यस्तै, पुरुषको संख्या एक करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् ४८।९८ प्रतिशत छ। यसैगरी, अन्य लिङ्गीको संख्या दुई हजार ९२८ रहेको तथ्याङ्क कार्यालयले जनाएको छ। यो देशको जनसंख्याको ०।००१ प्रतिशत हो।

यसअघि २०६८ सालमा भएको जनगणना अनुसार, देशको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो । तथ्याङ्क कार्यालयले गत कात्तिक २५ देखि मंसीर ९ गतेसम्म जनगणना गरेको थियो। यसको प्रारम्भिक नतीजा गत माघमा सार्वजनिक गरिएको थियो ।

तथ्याङ्क कार्यालयले हरेक १० वर्षमा राष्ट्रिय जनगणना गर्दै आएको छ। राष्ट्रिय जनगणना २०७८ का लागि सन्दर्भ दिन २०७८ मंसीर ९ गतेलाई राखिएको छ। जनगणना २०७८ अनुसार, वार्षिक जनसंख्या वृद्धिदर ०।९२ प्रतिशत छ। २०६८ सालको जनगणना अनुसार वार्षिक जनसंख्या वृद्धिदर १।३५ प्रतिशत थियो।

जनगणना प्रतिवेदन अनुसार, देशभर ६६ लाख ६६ हजार ९३७ परिवार छन्। जसमा आफ्नै घर भएका ८६ प्रतिशत अर्थात् ५६ लाख २८ हजार ५८६ परिवार छन् ।

त्यस्तै, १२।८ प्रतिशत परिवार भाडामा बस्दै आएका छन् । भाडा बस्ने परिवारको संख्या आठ लाख ५० हजार ५६२ छ ।

वृद्धिदरमा कमी

२०५८ सालको जनगणनामा नेपालको वार्षिक जनसङ्ख्या २।२५ रहेकोमा सो दर घटेर २०६८ मा १।३५ र २०७८ सालको जनगणनाका ०।९२ प्रतिशतमा झरेको जनगणना २०७८ को नतिजामा उल्लेख गरिएको छ । ७७ जिल्लामध्ये औसत जनसङ्ख्या वृद्धिदर भक्तपुरमा ३।३५ प्रतिशत रहेको छ भने सबैभन्दा कम रामेछापमा १।६७ प्रतिशत रहेको छ ।

एकल परिवार बढ्दो

राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालमा कुल घरपरिवारको सङ्ख्या ६६ लाख ६६ हजार ९३७ रहेकोमा व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८४१ र संस्थागत परिवार छ हजार ९६ रहेका छन् । प्रतिपरिवार अक्सर ४।३७ जना रहेकोमा २०६८ सालको जनगणनामा सो सङ्ख्या ४।८८ प्रतिशत रहेको थियो । अहिले प्रतिपरिवार हिमाली क्षेत्रमा ४।३३ जना, पहाडमा ३।९९ र तराईमा ४।७३ जना सदस्य रहेका छन् । परिवारको आकार रौतहट जिल्लामा सबैभन्दा बढी ५।९४ प्रतिशत तथा गोरखा र दोलखामा सबैभन्दा कम ३।४९ प्रतिशत रहेका छन् । नतिजाअनुसार जनघनत्व प्रतिवर्गकिलोमिटर १९८ जना रहेको छ । २०६८ सालको जनगणनामा प्रतिवर्गकिलोमिटर १८० थियो । सबैभन्दा धेरै जनघनत्व तराईमा प्रतिवर्गकिलोमिटर ४६० जना र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना रहेका छन् । सबैभन्दा बढी जनघनत्व काठमाडौँमा प्रतिवर्गकिलोमिटरमा पाँच हजार १६८ र सबैभन्दा कम मनाङमा तीन जना रहेको छ ।

बागमतीमा धेरै, कर्णालीमा थोरै

राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार सातवटा प्रदेशमध्ये सबैभन्दा धेरै जनसङ्ख्या बागमती प्रदेशमा छ । बागमतीमा कुल जनसङ्ख्याको ६१।२ प्रतिशत र सबैभन्दा कम जनसङ्ख्या कर्णाली प्रदेशमा १६।९ प्रतिशत रहेको छ । त्यस्तै कोशीमा ४९।६, मधेशमा ६१।१, गण्डकीमा २४।७, लुम्बिनीमा ५१।२ र सुदूरपश्चिममा २६।९ प्रतिशत जनसङ्ख्या रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

विदेशमा २२ लाख 

कुल १५ लाख ५५ हजार ९६१ परिवारबाट २१ लाख ९० हजार ५९२ जना विदेशमा रहेका छन् । उक्त सङ्ख्यामध्ये १७ लाख ९९ हजार ६७५ जना पुरुष र तीन लाख ९० हजार ९१७ जना महिला रहेका  छन् । २०६८ सालको जनगणनाअनुसार १९ लाख २१ हजार ४९४ जना विदेशमा बसोबास गरेका थिए ।


SHARE THIS