नेपाल टेलिकमको १९ औँ वार्षिकोत्सव, सेवा विस्तारसँगै त्यसको गुणस्तरमा पनि ध्यान दिन सुझाव

काठमाडौँ । नेपाल टेलिकमले सेवा विस्तारसँगै त्यसको गुणस्तर पनि उत्तिकै ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले सुझाव दिएका छन् । ग्राहकको सन्तुष्टिलाई सर्वोपरि मानेर गुनासो आए तुरुन्त सम्बोधन हुन सक्ने गरी व्यवस्थापन गर्नुपर्ने उनीहरुको भनाई थियो ।

नेपाल टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ग्राहकको सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेर सेवा प्रवाह गर्न आग्रह गर्नुभयो । सरकारको दूरसञ्चार सेवाप्रदायकका रूपमा टेलिकमले नाफारहित अवस्थामा पनि विकट तथा दुर्गम स्थानमा सेवा उपलब्ध गराउने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

पहुँच विस्तारसँगै टेलिकमको सेवा गुणस्तरीय र सर्वसुलभ हुनुपर्ने भन्दै उहाँले ग्राहकले प्रत्यक्ष लाभ महसुस गर्ने हिसाबले सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।

प्रतिस्पर्धी बजारमा नाफा पनि आर्जन गर्नुपर्ने र विकट स्थानमा नाफाबिना पनि सेवा प्रवाह गर्नुपर्ने चुनौतीबीच टेलिकम व्यवस्थापनले सही योजना ल्याउन आवश्यक रहेको उहाँको सुझाव थियो । त्यस्तै उहाँले टेलिकमको विकास र सेवा विस्तारमा सरकारको सधैँ सकारात्मक सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

नेपाल टेलिकम सञ्चालक समितिको अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले सेवा विस्तारसँगै त्यसको गुणस्तर पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो । ग्राहकको सन्तुष्टिलाई सर्वोपरि मानेर गुनासो आए तुरुन्त सम्बोधन हुन सक्ने गरी व्यवस्थापन गर्न निर्देशन दिनुभयो । सन् २०३० सम्म कम्पनीका प्राथमिकता र लक्ष्य समेटेर दीर्घकालीन योजनामा काम गर्नुपर्ने उहाँको भनाइ थियो । त्यस्तै उहाँले टेलिकमको जिम्मेवारीमा रहेका आयोजना तोकिएकै समयमा पूरा गर्न गति बढाउनैपर्ने बताउनुभयो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पछिल्लो समय टेलिकमको सेवाको गुणस्तर खस्केको, परियोजना निर्माणमा ढिलाइ गरेर र फाइभजी परीक्षण पनि तोकिएको समयमा हुन नसकेको बताउनुभयो । त्यस्तै उहाँले काठमाडौँ उपत्यकाभित्रै फोरजी सेवा गुणस्तरीय नभएको अवस्थामा देशैभर विस्तार हुनुको खास अर्थ नहुने भनाइ राख्नुभयो । अन्य सेवाप्रदायकको तुलनामा टेलिकमले फ्रिक्वेन्सी पनि धेरै पाएको तर सो बराबर आम्दानी गर्न नसकेकामा उहाँले प्रश्न गर्नुभयो ।

टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलले भ्वाइस सेवाको निरन्तर घट्दो प्रयोग र डेटा बजारमा रहेको तीव्र प्रतिस्पर्धाबीच पनि कम्पनीले गत आर्थिक वर्ष आठ अर्ब ४७ करोड रुपियाँ नाफा आर्जन गरेको बताउनुभयो ।

कम्पनीले सञ्चालनमा ल्याएको फोरजी हालसम्म ७७ जिल्लाका ७३९ स्थानीय तहमा पुगेको उहाँले जानकारी दिनुभयो । फोरजी नेटवर्कको विस्तारसँगै फोरजी डेटाको खपत बढेको, नयाँ प्रविधिका रूपमा ई–सिम वितरण सुरु गरेको भीओएलटीई सेवा लिनेको सङ्ख्या बढेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै टेलिकमले पछिल्लो समय फाइभजी उपकरणको जडान गरी फाइभजीको परीक्षण जारी राखेको पनि उहाँले बताउनुभयो । मुलुकभर सेवा विस्तार, भ्यालु एडेड सेवाको विस्तार र नयाँ भ्यालु एडेड सेवाको सुरुवात कम्पनीको प्राथमिकतामा रहेको उहाँले जानकारी दिनुभयो ।

टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीको उत्कृष्ट पूर्वाधार र नेटवर्क तथा साधन, स्रोत एवं मानवशक्तिको उच्चतम प्रयोग गरी ग्राहक सन्तुष्टि कायम राख्दै कम्पनीलाई सेवाग्राहीको पहिलो रोजाइ बनाउन भरमग्दुर प्रयास गरिने प्रतिबद्धता जनाएका छन् । विसं २०३२ असार १ गते नेपाल दूरसञ्चार संस्थानको रूपमा भएता पनि २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएको थियो । विसं २०६१ देखि यसलाई नेपाल टेलिकम भन्न थालियो । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको टेलिकम विसं २०६१ वैशाख १ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा रुपान्तरण गरियो ।

कम्पनीको आर्थिक वर्ष २०७८/८९ को कुल राजस्व ४४ अर्ब ३७ करोड छ, जसमा खुद नाफा आठ अर्ब ४७ करोड रहेको छ । कम्पनीको ग्राहकसेवा भ्वाइस सेवातर्फ २०७९ मङ्सिरसम्मको विवरणमा दुई करोड १३ लाख २५ हजारभन्दा बढी रहेको छ । सोमध्ये जीएसएम मोबाइल ग्राहक दुई करोड एक लाख ६८ हजार, एडिएसएल सेवाका चार लाख ३७ हजार र पिएसटीएन सेवाका चार लाख ५५ हजार रहेका छन् ।

त्यसैगरी एफटिटीएच भ्वाइस सेवाका ग्राहक दुई लाख ४७ हजार एक सय १४ छन् भने एफटिटीएच डाटाका ग्राहक दुई लाख ११ हजार पाँच सय ७९ रहेका छन् । यो अवधिमा फोरजी प्रयोगकर्ता एक करोड १५ लाख ५० हजार छन् । सन् २०२३ मा फाइभजी परीक्षण प्रारम्भ भएको छ ।

विसं २०७९ असोज महिनाको नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस प्रतिवेदनअनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कुल ५२.२४ प्रतिशत रहेको छ । टेलिकमका अनुसार हालसम्म देशका ७७ वटै जिल्लाका सात सय ३९ स्थानीय तहमा फोरजी एफटीइ सेवाको पहुँच स्थापित भएको छ । फोरजी विस्तारकार्य हालसम्म ९८ प्रतिशत सम्पन्न भइसकेको छ ।

टेलिकमले देशभरमा पिएसटीएन, सिडिएमएलगायत आधारभूत टेलिफोन र जिएसएम र सिडीएमएजस्ता मोबाइल सेवा प्रदान प्रदान गर्ने गरेको छ । इन्टरनेट सेवामा डायल–अप आइएसडीएम र सिडीएमएजस्ता मोबाइल सेवा प्रदान गर्ने गरेको टेलिकमले इन्टरनेट सेवामा डायल–अप आइएसडीएन लिज्ड एडिएसएल इन्टरनेट र स्काइ डाटामार्फत वायरलेस इन्टरनेट सेवा प्रदान गर्ने गर्दछ ।

बैंक तथा विभिन्न निकायलाई तथ्याङ्क आदन–प्रदान गर्न लिज्ड सर्किटको सेवासमेत टेलिकमले दिने गरेको छ । कम्पनीमा हाल करिब चार हजार कर्मचारी कार्यरत छन् । विसं १९७० मा काठमाडौंमा म्याग्नेटो सिस्टमको स्थापना भई नेपालमा दूरसञ्चार सेवाको थालनी भएको थियो ।


SHARE THIS