भारतीय मुद्रालाई विस्थापित गरी नेपाली मुद्राको चलनचल्तीलाई बढाउने सुत्रधार पहिलो गभर्नर हिमालय शमशेर राणा

काठमाडौं । नेपालकै पहिलो बैंकर तथा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जङ्गबहादुर राणाको आइतबार बिहान निधन भएको छ । आइतबार बिहान ८ बजे ९७ वर्षको उमेरमा उहाँको निमोनियाका कारण निधन भएको हो ।

थापाथलीस्थित नर्भिक अस्पतालमा राणाको उपचारका क्रममा आइतबार बिहान निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वासको समस्या झेल्दै आएउनुभएका राणा उपचारका लागि केही दिनअघि अस्पताल भर्ना हुनुभएको थियो ।

राणा २००७ सालमा अर्थ मन्त्रालयको सचिव पनि हुनुभएको थियो । अर्थ सचिव भएकै बेला भन्सारलाई आधुनिकीकरण गर्ने तथा सरकारी खर्चको पारदर्शिताका लागि महालेखा परीक्षक कार्यालय गठन गर्ने काम अघि बढेको थियो । यस्तै‚ सरकारको आम्दानी र खर्चको पारदर्शिताका लागि बजेट सार्वजनिकीकरणको अभ्यास शुरू भएको थियो ।

भारतीय मुद्रालाई विस्थापित गरी नेपाली मुद्राको चलनचल्तीलाई बढाएको जस पनि राणालाई जान्छ । तत्कालीन राजा महेन्द्रले २०१३ सालमा भारतीय मुद्रालाई विस्थापित गरी नेपाली मुद्रालाई चलनचल्तीमा ल्याउने उद्देश्य सहित नेपाल राष्ट्र बैंक स्थापना गरेपछि राणा २९ वर्षको उमेरमै राष्ट्र बैंकको पहिलो गभर्नर नियुक्त हुनुभएको थियो ।

त्यसअघि नेपाल (खासगरी तराई क्षेत्र)मा भारतीय मुद्रा नेपाली मुद्रा सरह चलनचल्तीमा थियो । पहिलो गभर्नर नियुक्त भएपछि नेपाली मुद्राको चलनचल्ती विस्तार भएको थियो ।

प्रारम्भिक जीवन

हिमालय शमशेर राणा प्रधान मन्त्री श्री ३ देव शम्शेरको नाती हुनुन्थ्यो । सोही कारण उहाँले जन्मँदै कर्नेल उपाधि पाउनुभएको थियो । उहाँ पनि देशको प्रधानमन्त्री बन्ने रोलक्रममै हुनुन्थ्यो ।

पहिलो अर्थसचिव

अर्थसचिव हिमालय शमशेर जबराले अर्थमन्त्रीले आफू लगायत तीनजना एमए पास गरेका युवालाई केही दिन काम लगाई राम्रो कामको आधारमा आफूलाई सचिवमा छानेको बताउनुभएको थियो । उहाँले वि.सं. २००७ सालपछि पाँच वर्ष देशको पहिलो अर्थसचिव भई कार्यरत रहँदा अर्थमन्त्रालय र त्यस मन्त्रालय मातहतका नयाँ निकायहरु संस्थापन गर्न सकृय भूमिका निर्वाह गर्नुभएका् थियो ।

राष्ट्र बैँकको पहिलो गभर्नर

उहाँले त्यसपश्चात् नेपाल राष्ट्र बैँकको पहिलो गभर्नरमा नियुक्त भई सो बैँक संस्थापन गर्ने अवसर पाउनुभएको थियो । यसबाहेक पनि केही नयाँ निकाय तथा संस्थानहरु संस्थापन गर्नुभयो । तर, उहाँलाई नेपाल राष्ट्र बैँकका पूर्व गभर्नरकै रूपमा चिनियो । राष्ट्र बैँकले आर्थिक सल्लाहकारको कर्तव्य निर्वाह गर्दा नेपाल सरकारलाई सत् परामर्श दिनुपर्छ भन्ने मान्यता राख्दै यस संस्थाको छापमा ‘असतोमा सद् गमय’ भन्ने निर्देशक बचन राख्न उहाँले नै लगाउनुभएको हो । छापको डिजाइन बालकृष्ण समकी छोरी कलाकार ज्वालाले गर्नुभएको हो । उहाँको चार वर्ष आठ महिनाको कार्यकालमा देशमा दूरगामी असर पार्ने केही कार्यक्रमहरू सम्पन्न गर्न सफल भयो । उहिलेदेखि भारतीय रुपियाँमा कारोबार गरिने नेपालको तराई क्षेत्रमा अप्रत्याशित सहजताका साथ नेपाली रुपियाँलाई चलनचल्तीमा स्थापित गर्न सफल हुनुभएको थियो । तराई प्रदेश नेपाल राज्यको अर्थतन्त्रको अभिन्न अङ्ग हो भन्ने तराईवासीहरूले अनुभव गर्न थालेका थिए ।

त्यसबेला नेपाल राष्ट्र बैंक स्थापना गर्नुको मुख्य उद्देश्य एउटा मुलुकमा एउटै मुद्रा चलनचल्तीमा हुनुपर्छ भन्ने थियो । २०१३ सालमा नेपालमा द्वध मुद्रा चलन थियो । काठमाडौँ उपत्यका र पहाडमा नेपाली रुपियाँ चलनचल्तीमा हुने, झापादेखि कन्चपुरसम्मको तराई र भित्री मधेशमा भारतीय मुद्रा चलनमा थियो । सरकारले नै भारतीय रुपैयाँ चलनचल्तीमा ल्याएको हो । भारुमै मालपोत उठाउँथ्यो, भारुमै खर्च गरिन्थ्यो ।

नेपाल राष्ट्र बैक स्थापना भएपछि बैंक अफ इग्ल्यिान्डदेखि सबै ठाउँमा खाता खोलियो । र, ब्रिटिसहरूले गोर्खालीहरूको पेन्सनका लागि जुट पाउन्ड साट्न राष्ट्र बैंकमा आउन थाले । विदेशी विनियममा पनि हामी आत्मनिर्भर भयौं । आफ्नो कमाइबाट नेपाल आफैले खर्च गर्न सक्ने भयो ।


SHARE THIS