कुल बजार पूँजीकरण एक खर्ब २७ अर्ब ९५ करोड ८८ लाख रुपियाँले घट्यो

काठमाडौं । सेयर बजार निरन्तर घटेको यो साता कुल बजार पूँजीकरण पनि एक खर्ब २७ अर्ब ९५ करोड ८८ लाख रुपियाँले घटेको छ। अघिल्लो साताभन्दा यो साता लगानीकर्ताको सम्पत्तिको मूल्य अर्थात् कुल बजारपूँजीकरण एक खर्ब २७ अर्ब ९५ करोड ८८ लाखले घटेको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन ३१ खर्ब ५० अर्ब ४८ करोड ६५ लाख रुपियाँ रहेको कुल बजार पूँजीकरण यो साताको अन्तिम कारोबार दिन ३० खर्ब २२ अर्ब ५२ करोड ७६ लाख रुपियाँ रहेको थियो ।

यो साता कारोबार रकम र कित्ता समेत घटेको छ । अघिल्लो साता १३ अर्ब १९ करोड ३८ लाख रुपियाँ भन्दा बढीको तीन करोड ६३ लाख ५६ हजार ७८६ कित्ता सेयर खरीदविक्री भएकोमा यो साता १३ अर्ब ७२ लाखभन्दा बढीको तीन करोड ५५ लाख ८९ हजार ७५८ कित्ता धितोपत्र खरीदविक्री भएको हो । यो साता औषतमा दुई अर्ब ६० करोड रुपियाँ भन्दा बढीको धितोपत्र खरीदविक्री भएको छ ।

यो साता धितोपत्र दोस्रो बजारका महत्वपूर्ण सूचकहरू घटेका छन् भने बजार अघिल्लो साताको तुलनामा ८८ दशमलव ६७ अंक तल झरेको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन दुई हजार १८३ दशमलव २१ विन्दुमा रहेको बजार गत साताको अन्तिम कारोबार दिन दुई हजार ९४ दशमलव ५४ विन्दुमा झरेको हो । साताको पाँच कारोबार दिनमा नेप्से परिसूचक एक कारोबार दिनमात्र बढेको छ । पहिलो कारोबार दिन १४ दशमलव ६८ अंक, दोस्रो दिन ४१ दशमलव १६ अंक र तेस्रो दिन १५ दशमलव ७० अंक घटेको बजार चौथो दिन भने ४ दशमलव ९७ अंक बढेको थियो । पाँचौ कारोबार दिन बजार २२ दशमलव १२ अंकले घटेर बन्द भएको हो ।

धितोपत्र दोस्रो बजारको समग्र कारोबार मापक नेप्से परिसूचकसँगै ठुला कम्पनीको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि गत साता १४ दशमलव ७७ अंकले घटेको छ । अघिल्लो साता ४१३ दशमलव १४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स गत साता ३९८ दशमलव ३७ विन्दुमा झरेको हो ।

यो साता सबै समूहले गुमाएका छन् । कारोबारमा आएका सबै समूहगत परिसूचक गत साता घटेका हुन । गत साता सर्वाधिक परिसूचक लगानी समूहको ७ दशमलव २५ प्रतिशत घटेको छ । त्यस्तै वित्त समूहको ६ दशमलव ९५ प्रतिशत, जलविद्युतको ५ दशमलव शून्य ८ प्रतिशत, लघुवित्त ४ दशमलव ९६ प्रतिशत, विकास बैंक ४ दशमलव ८६ प्रतिशत, निर्जीवन बीमा ४ दशमलव ४५ प्रतिशत, अन्यको ४ दशमलव ४० प्रतिशत, होटल तथा पर्यटनको ४ दशमलव ३६ प्रतिशतले घटेको छ ।

त्यसैगरी व्यापारिकको ४ दशमलव ३५ प्रतिशत, जीवन बीमाको ३ दशमलव ३० प्रतिशत, म्युचुअल फण्डको २ दशमलव ८३ प्रतिशत, बैंकिङको २ दशमलव ७१ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको २ दशमलव १६ प्रतिशत परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्ने लगानी समूह अन्तर्गत धितोपत्र दोस्रो बजारमा ६ कम्पनी सूचीकृत रहेका छन् ।


SHARE THIS