नेपाल बैंकको ८६ वार्षिकोत्सव, ऐतिहासिक बैंकिङ दिवसको रुपमा लिन सरोकारवालाहरुको जोड

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८६औं बार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ । वि.सं.१९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेड मिति २०७९ साल कार्तिक ३० गते आफ्नो ८५ औं बर्ष पुरा गरी ८६ औं वर्षमा प्रबेश गरेको छ । प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहको प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी रहनुभएको थियो । त्यसैगरी नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका पूर्व डाइरेक्टर जनरल हिमालय शंसेर जबरा, अर्थमन्त्रालयका राजस्व सचिव रामेश्वर दंगाल, नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष अनिल कुमार उपाध्याय विशेष अतिथिको रुपमा रहनु भएको उक्त समारोहको अध्यक्षता बैंकका सञ्चालक समिति अध्यक्ष गंगा प्रसाद ज्ञवालीले गर्नुभएको थियो ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको पहिलो बैंक ८६ वर्षमा प्रबेश गरेको उपलक्ष्यमा शुभकामना प्रकट गर्दै नेपालको बैंकिङ विकास र उद्यमशीलताको प्रबद्र्धनमा नेपाल बैंकको अतुलनिय भूमिका रहेको र प्रत्येक वर्ष कात्तिक ३० गतेलाई नेपालको बैंकिङ क्षेत्रको ऐतिहासिक बैंकिङ दिवसको रुपमा लिन सकिने विषयमा जोड दिनुभएको थियो ।

त्यसैगरी आफ्नो शुभकामना मन्तव्य राख्दै कार्यक्रमका विशेष अतिथि अर्थ मन्त्रालयका राजस्व सचिव रामेश्वर दंगालले नेपाल बैंक लिमिटेड नेपालको बैंकिङ क्षेत्रको ऐतिहासिक धरोहर रहेको विषय उल्लेख गर्दै वर्तमान सूचकहरुले बैंक निकै सबल र प्रतिस्पर्धी रहेको धारणा उल्लेख गर्नुभएको थियो । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले नेपाल बैंक दिनप्रतिदिन सबल हुंदै गएको विषय उल्लेख गर्दै बैंकले भविश्यमा अझै धेरै प्रगती गर्दै जाओस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको विगत, वर्तमान र भविश्यको वारेमा चर्चा गर्दै नेपाल बैंकका तीन वटा नयाँ प्रडक्टहरु क्रमश: अनलाइन एफ्डी, गोल्ड लोन प्रोसेस डिजिटाईजेशन र डलर प्रिपेड कार्ड सञ्चालनमा ल्याएको घोषणा गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा बैंकमा रहेका ट्रेड युनियनका प्रतिनिधहरुले समेत आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

वार्षिकोत्सव समारोमा बैंकले गत आ.व.मा उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरेको थियो । त्यसैगरी वार्षिकोत्सवको अवसर पारेर बैंकले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई समेत प्रमाण पत्र तथा मेडल प्रदान गरिएको थियो ।

बैंकले के.एल.दुगड गु्रपका अध्यक्ष किसलनलाल दुगड र द्वारीकाज होटलका अध्यक्ष अम्बिका श्रेष्ठलाई उत्कृष्ट ग्राहकको रुपमा सम्मान गरेको थियो । त्यसैगरी समारोहमा बैंकले नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपाल बैंक लि.का वि.सं २००८ देखि वि.सं. २०११ सम्मका डाइरेक्टर जनरल हिमालय सम्शेर जबरालाई अभिनन्दन समेत गरेको थियो ।

कार्यक्रममा ८६ औं वार्षिकोत्सव मूल समारोह समितिका संयोजक प्रकाश कुमार अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समता पन्तलगायत उच्च व्यवस्थापनका सदस्यहरु, बैंकका पूर्ब अध्यक्षहरु, पूर्व प्रमुख कार्यकारी अधिकृतहरु, पूर्व महाप्रबन्धक तथा पूर्व नायब महाप्रबन्धकहरु लगायतका पूर्व कर्मचारीहरु, बैंकमा कार्यरत कर्मचारीहरु, पत्रकारहरु लगायतकोे उपस्थिती रहेको थियो ।


SHARE THIS