मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि सेयर बजार ओरालो

काठमाडौँ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आउनु अगाडि उकालो लागिरहेको सेयर बजार मौद्रिक नीतिको समीक्षापछि भने ओरालो लागेको छ ।

सोमबार सेयर बजारमापक नेप्से परिसूचक १५.६१ अंकले ओरालो लागेर १९५०.३७ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इण्डेक्स पनि ३.६६ अंकले ओरालो लागेर ३८२.६१ के विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको दोस्रो दिनको नेप्से ०.७९ प्रतिशत र सेन्सेटिभ इण्डेक्स पनि ०.९५ प्रतिशतले ओरालो लागेको छ ।

अघिल्लो साताको अन्तिम दिन सुधारिएर बन्द भएको सेयर बजारले यो साताको पहिलो दिन पनि सुधारलाई नै निरन्तरता दिएको थियो ।

आइतबार सेयर बजारमापक नेप्से परिसूचक ३२.४३ अंकले उकालो लागेर १९६५.९८ को विन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इण्डेक्स पनि ५.३४ अंकले उकालो लागेर ३८६.२६ को विन्दुमा पुगेर रोकिएको थियो । समग्रमा आइतबारको नेप्से १.६८ प्रतिशत र सेन्सेटिभ इण्डेक्स पनि १.४० प्रतिशतले ओरालो लागेको थियो । 

सोमबार २३६ कम्पनीको ३७ लाख ६१ हजार २९९ कित्ता सेयर २४ हजार ९५१ पटक खरिदबिक्री हुँदा एक अर्ब ४९ करोड ४३ लाख ९४ हजार ६१३ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ५३ करोड रुपियाँले कमी हो ।

आइतबार २३३ कम्पनीको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर ३१ हजार ९३ पटक खरिदबिक्री हुँदा दुई अर्ब दुई करोड ५४ लाख ८९ हजार ५२ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

सोमबार १६ करोड ४६ लाख रुपियाँ बराबरको सेयर खरिदबिक्री भएर हिमालयन डिष्टिलरी कारोबार रकमका आधारमा शीर्ष स्थानमा पुगेको छ । नबिल बैंकको सात करोडभन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै शिवम् सिमेन्ट्सको छ करोडभन्दा बढीको सेयर कारोबार भएको छ भने एभरेष्ट बैंकको पनि झण्डै छ करोड रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक बाहेक बाँकी ११ उपसमूहको परिसूचक ओरालो लागेको छ । विकास बैंक, वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।


SHARE THIS