सर्वसाधारण सेयरधनीको सेयर कारोबार रोक्का हुने समस्याको अन्त्य

काठमाडौँ / अब मर्जरमा गएका कम्पनीको दोस्रो बजारमा हुने सेयर कारोबार रोकिने समस्या अन्त्य हुने भएको छ । लगानीकर्तालले मर्जर सम्झौतापछि वर्षौसम्म सेयर कारोबार रोक्का भएर वर्षौंसम्म कारोबार गर्न नपाएर दिक्क हुन नपर्ने भएको छ ।

नियामक नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बुधबार स्वीकृत गरेसँगै सर्वसाधारण सेयरधनीको सेयर कारोबार रोक्का हुने समस्याको अन्त्य भएको हो । स्वीकृत निर्देशिका बिहीबारबाट लागू भएको हो ।

निर्देशिका कार्यान्वयनसँगै गाभ्ने र गाभिने तथा प्राप्तिका कारण रोकिएका कम्पनीको कारोबार क्रमश: खुल्दै जाने भएको छ । निर्देशिकामा भएको व्यवस्था अनुसार कम्पनीहरूले कारोबार खुलाउन निवेदन दिएसँगै सीडीएससी र नेपाल स्टक एक्सचेञ्जले कारोबार खुल्ला गर्ने भएका छन् ।

एकीकृत कारोबारपछि सेयर मिलानको लागि बढीमा १५ दिनसम्म सेयर कारोबार रोक्न सक्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।

निर्देशिका प्रारम्भ हुनु अघि गाभ्ने गाभिने वा प्राप्ति प्रक्रियामा रहेका कारण सेयर कारोबार रोक्का रहेका संगठित संस्थाको आधारभूत सेयरधनी बाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यसका लागि कम्पनीहरूले आधारभूत सेयरधनीको विवरण सहित नेप्से र सिडिएससीमा निवेदन दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।

कुनै पनि कम्पनी मर्जर वा प्राप्तिमा जान लागेको भए उनीहरूको आधारभूत सेयरधनीको कारोबार रोक्का गर्नुपर्ने व्यवस्था समेत निर्देशिकामा गरिएको छ । यसअघि कै व्यवस्था अनुसार कम्पनीहरूले मर्जर तथा प्राप्ति सम्बन्धी सम्झौता गरेको दिन वा भोलिपल्ट नै आधारभूत सेयरधनीको कारोबार रोक्का गर्न नेप्सेमा निवेदन गर्नुपर्ने छ । साधारणसभामा नभएसम्मको लागि कारोबार रोक्का गर्नुपर्ने छ । एकीकृत कारोबार गरेपछि भने सेयर मिलानको लागि कम्पनीहरूले सबै सेयरधनीको कारोबार रोक्का गर्न सक्ने निर्देशिकामा उल्लेख छ ।

निर्देशिका अनुसार आधारभूत सेयरधनीको सेयर कारोबार मर्जर सम्झौता भएको मितिदेखि साधारणसभा सम्पन्न नहुञ्जेलसम्मका लागि रोक्का राख्नुपर्नेछ । बढीमा छ महिनाभित्रमा मर्जर प्रक्रिया सक्नुपर्ने व्यवस्था निर्देशकामा गरिएको छ । सोही अवधिमा साधारणसभा सम्पन्न नगरेको खण्डमा सम्बन्धित संस्थाको सञ्चालक समिति जवाफदेही हुनुपर्ने व्यवस्था निर्देशिकाका छ ।

गाभ्ने गाभिने तथा प्राप्ती विनियमाबली पनि संशोधन

एक महिना अगाडि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको एक आपसमा गाभ्ने/ गाभिने तथा प्राप्तीसम्बन्धी व्यवस्थालाई संशोधन गरेको थियो । गाभ्ने/गाभिने तथा प्राप्तीसम्बन्धी विनियमाबली २०७३ को पाँचौ संशोधन गर्दै राष्ट्र बैंकले मर्जरका क्रममा हुने सेयर कारोबार रोक्का र त्यस्ता संस्थाको कर्जा निक्षेप अनुपात(सीडी रेसियो) व्यवस्थापनको अवधि सम्बन्धी व्यवस्थामा परिमार्जन गरेको थियो ।

संसोधित विनियमाबली अनुसार अब गाभ्ने गाभिने तथा प्राप्तीका कारण बन्ने नयाँ संस्थाको कर्जा निक्षेप अनुपात तोकिएको मापदण्ड (९० प्रतिशत) भन्दा बढी भएमा त्यसको समायोजन गर्न दुई वर्षको अवधि दिइएको छ । यस अघि विनियमावलीमा यस्तो व्यवस्था थिएन । तर निर्देशिकामा भने एक वर्षको अवधि थियो । विनियमाबलीको व्यवस्था अनुसार सीडी रेसियोको सीमा उल्लँघन मर्जरकै कारण सृजित भएको प्रमाणित भएमात्र दुई वर्षको सुविधा प्राप्त हुने छ । अन्यथा यसैसम्बन्धी निर्देशिकाको व्यवस्था अनुसार एक वर्षभित्र नै व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

विनियमाबलीको पाँचौ संशोधनमार्पmत वित्तीय संस्थाहरू गाभ्ने गाभिनका सेयरको दोस्रो बजारमा कारोबार रोक्ने सम्बन्धी अख्तियारी धितोपत्र बोर्डमा छाडिएको थियो । “गाभ्ने गाभिने तथा प्राप्ति प्रयोजनका लागि सेयर कारोबारको रोक्का तथा फुकुवा नेपाल धितोपत्र बोर्डले गरेको व्यवस्था बमोजिम हुनेछ,” विनियमाबलीमा भनिएको छ । यस अघि गाभ्ने गाभिने तथा प्राप्तीको सैद्धान्तिक सहमति गरेपछि राष्ट्र बैंकमा निवेदन दिनेक्रममा सम्बन्धित संस्थाका साधारण सभाको निर्णयले नेपाल स्टक एक्सचेन्जबाट सेयर कारोबार रोक्का गराएको पत्रसमेत पेश गर्नु पर्ने व्यवस्था थियो ।


SHARE THIS