ओरालै लागेर बन्द भयो यो साताको सेयर बजार

काठमाडौँ / निरन्तर ओरालोे लागेको सेयर बजार यो साताको अन्तिम दिन पनि दोहोरो अंकले ओरालो लागेर बन्द भएको छ । पहिलो दिन उच्च अंकले सुधारिएर दुई हजारको विन्दु नजिक पुगेको नेप्से अन्तत ओरालो लाग्ने क्रममा १८ सयको विन्दुमा पुगेको छ ।

विहीबार सेयर बजारमापक नेप्से परिसूचक २३.५२ अंकले ओरालो लागेर १८९३.७० को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ४.१७ अंकले ओरालो लागेर ३७२.३७ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा अन्तिम दिनको नेप्से १.२३ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इण्डेक्स पनि १.११ प्रतिशतले ओरालो लागेको छ ।

विहीबार दिनभर २२६ कम्पनीहरुको ३१ लाख १४ हजार ६८९ कित्ता सेयर २२ हजार ३९८ पटक खरिदबिक्री हुँदा एक अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २९ करोड रुपियाँले कमी हो ।

अन्तिम दिन १० करोड २२ लाख रुपियाँ बराबरको सेयर खरिदबिक्री भएर शिवम् सिमेन्ट्स शीर्ष स्थानमा पुगेको छ । नेपाल पुनर्बीमा कम्पनीको साढे तीन करोड रुपियाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन डिष्टिलरी र रिडी पावरको तीन करोड ३० लाख रुपियाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

विहीबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक २.४६ प्रतिशतले ओरालो लागेको बिहीबार जलविद्युत र अन्य उपसमूहको परिसूचक दुई प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । यस्तै व्यापार, निर्जीवन बीमा, म्युचुअल फण्ड, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन, लगानी, होटल तथा पर्यटन र विकास बैंक उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।


SHARE THIS