कोरोना बीमा दाबी भुक्तानीका लागि एक अर्ब रुपियाँ बीमा समितिको खातामा

काठमाडौं र लामो समयदेखि अन्यौलमा रहेको कोरोना बीमाको दाबी भुक्तानीको बाटो खुलेको छ । अर्थ मन्त्रालयले बीमा समितिको खातामा कोरोना बीमाको दाबी भुक्तानीका लागि एक अर्ब रुपियाँ पठाएको छ । अर्थमन्त्रालयले समितिलाई दशैं अगाडी नै उक्त रकम पठाएको हो । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले रकम खातामा आएको बताउनुभयो ।  उक्त रकम कसलाई र कसरी वितरण गर्ने भन्ने बारेमा छलफल हुन बाँकी रहेको उहाँले बताउनुभयो । कोरोना बीमाको दाबी रकम पहिलो चरणमा कसलाई कसरी वितरण गर्ने भन्ने बारेमा भोली सोमबार अर्थमन्त्रालयमा बीमा समिति, बीमा कम्पनी र अर्थमन्त्रालयबीच छलफल हुँदैछ । त्यसपछि मात्रै समितिले निर्णय गर्नेछ ।

बीमा समितिको तथ्यांकअनुसार एक लाख ११ हजार ८९९ वटा पोलिसिको दाबी भुक्तानी हुन बाँकी छ । यो पोसिलीमार्फत १० अर्ब ५२ करोड रुपियाँ दाबी भुक्तानी गर्न बाँकी छ । सो रकम सरकारको दायित्व अन्तर्गत पर्छ । कोरोना बीमा मापदण्डअनुसार बीमा कम्पनीहरूले एक अर्ब रुपियाँसम्मको दायित्व, सोभन्दा बढी रकमको दायित्व एक अर्ब रुपियाँसम्म नेपाल पुनर्बिमा कम्पनीले भुक्तानी गर्नुपर्नेछ ।

दुई अर्ब रुपियाँभन्दा बढी दाबी परेमा ५० करोड रुपियाँ बीमा कम्पनीहरूको महाविपत्ति जगेडाबाट भुक्तानी हुने व्यवस्था मापदण्डले गरेको थियो । त्यसभन्दा पनि माथिको दायित्व परेमा एक अर्ब रुपियाँसम्म बीमा समितिले भुक्तानी गर्ने सहमति भएको थियो । त्यस्तै, तीन अर्ब ५० करोडभन्दा माथि दाबी परेमा नेपाल सरकारले दायित्व भुक्तानी गर्ने व्यवस्था निर्देशिकामा छ ।


SHARE THIS