झण्डै ४० प्रतिशत उद्योग पूर्ण क्षमतामा सञ्चालन, कुल उद्योग ६० हजार, पाँच लाखलाई रोजगारी

काठमाडौँ । नेपालमा सञ्चालित उद्योगहरुमध्ये ४० प्रतिशतले पूर्ण क्षमतामा सञ्चालनमा रहेका छन् । केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६ अनुसार ३९ दशमलव ९ प्रतिशत उद्योग प्रतिष्ठानले मात्र उत्पादन क्षमताको पूूर्ण उपयोग गरेका छन् ।

यस्तै ६० प्रतिशत उद्योग कच्चा पदार्थको अभाव, जनशक्ति अभाव र बजार माग कम भएकाले आंशिक रूपमा सञ्चालन भएको पाइएको छ ।

सर्वेक्षण अनुसार मुलुकभर साना तथा ठूला गरी ६० हजार १८५ उद्योग रहेका छन् भने ती उद्योगमा चार लाख ९१ हजार २२७ जनाले रोजगारी पाएका छन् ।  

विभागले ती उद्योगअन्तरगत खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युुत्, ग्यास, बाफ तथा वातावरण अनुकूलित सेवा, पानीको आपूूर्ति, ढल निकास, फोहोर व्यवस्थापन क्षेत्रमा अध्ययन गरेको थियो ।

औद्योगिक क्षेत्रका चारवटै औद्योगिक प्रष्ठिानमध्ये ७६ प्रतिशत उद्योग प्रतिष्ठान २७० दिन वा सोभन्दा बढी दिन सञ्चालन भएको देखिएको छ ।

यसैगरी १९ प्रतिशत उद्योग प्रतिष्ठान १८० देखि २६९ दिन, चार प्रतिशत उद्योग प्रतिष्ठान ९०–१७९ र बाँकी १ प्रतिशत उद्योग प्रतिष्ठान ९० भन्दा कम दिन सञ्चालन भएको विभागको तथ्याङ्क छ ।

३४ प्रतिशतलाई मात्र ऋण

साना उत्पादनशील औद्योगिक प्रतिष्ठानमध्ये ३४ प्रतिशतले मात्र वित्तीय संस्थासँग ऋण लिएकामा १ प्रतिशतले ऋणको प्रतिबद्धता प्राप्त गरेको देखिएको छ । पाँच प्रतिशत साना उद्योग प्रतिष्ठान ऋण लिने प्रक्रियामा रहेको छ । यस्तै ६० प्रतिशत साना उद्योग प्रतिष्ठानले ऋण नलिएको सर्वक्षणले देखाएको छ ।

साढे तीन खर्बको मूल्य अभिबृद्धि

ती चारवटै औद्योगिक प्रतिष्ठानले आठ खर्ब ४६ अर्ब ६६ करोड रुपियाँ बराबरको लगानी गरी करिब १२ खर्ब एक अर्ब १७ करोड रुपियाँ बराबरको वस्तु तथा सेवा उत्पादन गरेको विभागको तथ्याङ्कले देखाएको छ ।

ती चारवटै क्षेत्रका औद्योगिक प्रष्ठिानले अर्थतन्त्रमा तीन खर्ब ५४ अर्ब ५१ करोड बराबरको मूूल्य अभिवृद्धि (भ्यालु एड) गरेको तथ्याङ्कले देखाएको छ । औद्योगिक प्रतिष्ठानमा छ खर्ब १९ अर्ब ५१ करोड रुपियाँ बराबरको स्थायी सम्पत्ति रहेको देखिएको छ ।

यी उद्योगले एक वर्षमा तलब भत्तामा मात्रै एक खर्ब सात अर्ब ८९ करोड रुपियाँ खर्च गर्दैै आएको पाइएको छ । सर्वेक्षण अवधिमा साना र ठूला उद्योगमा प्रत्यक्ष रूपमा चार लाख ९१ हजार २२७ जना उद्योगसँग जोडिएका छन् । जसमा कर्मचारी मात्रै तीन लाख ८१ हजार ६८७ जना छन् । ती जागिरे कर्मचारीको तलब र भत्तामा मात्रै उक्त रकम खर्च हुने गरेको छ ।

६३ प्रतिशत बन्द

कोभिड–१९ को महामारीको समयमा चार महिनाको लकडाउनमा ६३ प्रतिशत उद्योग प्रतिष्ठान पूर्ण रूपमा बन्द भएको सर्वेक्षणले देखाएको छ । २४ प्रतिशत उद्योग प्रतिष्ठान आशिंक रूपमा सञ्चालनमा रहेको र बाँकी १३ प्रतिशत उद्योग प्रतिष्ठान पूर्ण रूपमा सञ्चालनमा रहेको सर्वेक्षणले देखाएको छ ।

यस्तै लकडाउनको समयमा करिब १७ प्रतिशत कामदारले बिनासुविधा स्थानीय रूपमा आफूूले गरिरहेको काम छोड्नुपरेको र  ११ प्रतिशत कामदारले तलब सुविधा आंशिक रूपमा कटौती र बाँकी १२ प्रतिशत कामदारले तलब/सुविधा निर्धारित समयभन्दा ढिला पाएको सर्वेक्षणले देखाएको छ ।

पाँच वर्षको फरकमा सर्वेक्षण

विभागका उपमहानिर्देशक हेमराज रेग्मीले चारवटा औद्योगिक प्रतिष्ठानमा उत्पादन, रोजगारी र लागतको अवस्थाबारे अध्ययन गरिएको जानकारी दिनुुभयो । २०७६ फागुुनदेखि सर्वेक्षण सुरु गरे पनि कोभिड–१९ का कारण सर्वेक्षण सम्पन्न गर्न बढी समय लागेको उहाँले जानकारी दिनुुभयो ।

अध्ययनमा नौ जनासम्म कर्मचारी कामदार कार्यरत उद्योगलाई साना र १० वा सोभन्दा बढी कर्मचारी कार्यरत उद्योगलाई ठूलो उद्योगका रूपमा वर्गीकरण गरिएको छ ।

आव २०७५/७६ लाई आधार मानेर तथ्याङक सङ्कलन गरिएको विभागले जनाएको छ । विभागले २०७६ फागुनमा तथ्याङ्क सङ्कलन सुरु गरेको थियो तर बीचमा कोभिड–१९ महामारीका कारण तथ्याङ्क सङ्कलनको काम प्रभावित हुँदा केही ढिला गरी तथ्याङ्क सार्वजनिक गरिएको विभागले जनाएको छ ।

विभागले पाँच/पाँच वर्षको अन्तरमा औद्योगिक क्षेत्रको सर्वेक्षण गर्दै आएको छ । २०२९ देखि नेपालमा औद्योगिक क्षेत्रको सर्वेक्षण हुँदै आएको हो । औद्योगिक प्रष्ठिानको संरचनागत उपलब्ध गराउनु, रोजगारी, उत्पादन तथा मूूल्य अभिवृद्धि उपलब्ध गराउने उद्देश्यसहित सर्वेक्षण गरिएको विभागले जनाएको छ ।


SHARE THIS