सेयर बजार फेरी दुई हजारको विन्दुभन्दा तल, कारोबार पनि घट्यो

काठमाडौं । ओरालो लाग्ने क्रममा सेयर बजार फेरी दुई हजारको विन्दुभन्दा तल झरेको छ । साताको अन्तिम दिन ३५ अंकले ओरालो लागेको नेप्से दुई हजारको विन्दुभन्दा तल ओर्लेको हो ।

शुक्रबार सेयर बजारमापक नेप्से परिसूचक ३४.७० अंकले ओरालो लागेर १९९२.६२ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ५.६० अंकले ओरालो लागेर ३७९.८९ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा शुक्रबारको नेप्से १.७१ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि १.४५ प्रतिशतले ओरालो लागेको छ ।

ओरालो लाग्ने क्रममा यसअघि १८ सयको विन्दुलाई छोएर सुधारिएको बजार फेरी २१ सय नजिक पुगेर गिरावटतिर लागेको छ ।

पछिल्लो समय उतारचढावमा रहेको सेयर बजारमा पाचौं दिनमा पनि दोहोरो अंकको गिरावट आएको थियो । अघिल्लो दिन दोहोरो अंकले उकालो लागेको नेप्से बिहीबार दोहोरो अंकले ओरालो लागेको थियो । पाचौं दिनको कारोबार रकममा पनि गिरावट आएको थियो ।

बिहीबार सेयर बजारमापक नेप्से परिसूचक १६.६० अंकले ओरालो लागेर २०२७.३२ को विन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि ३.४२ अंकले ओरालो लागेर ३८५.४९ को विन्दुमा पुगेर रोकिएको थियो । समग्रमा बिहीबारको नेप्से ०.८१ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ०.८८ प्रतिशतले ओरालो लागेको थियो ।

शुक्रबार दिनभर २१७ कम्पनीहरुको ३० लाख ६३ हजार ४७६ कित्ता सेयर २० हजार १२२ पटक खरिदबिक्री हुँदा एक अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ६४ करोड रुपियाँले कमी हो ।

बिहीबार दिनभर २२९ कम्पनीहरुको ४७ लाख ११ हजार २५ कित्ता सेयर ३१ हजार २७६ पटक खरिदबिक्री हुँदा एक अर्ब ८० करोड ६२ लाख चार हजार ७६५ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

शुक्रबार साढे पाँच करोडभन्दा बढीको सेयर कारोबार भएर कारोबार भएर  शिवम् सिमेन्ट्स रकमका आधारमा शीर्ष स्थानमा पुगेको छ । त्यसैगरी,  युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेशनको करिब चार करोडको सेयर खरिदबिक्री भएको छ ।

शुक्रबार १९४ कम्पनीहरुको मूल्य ओरालो लागेको छ भने १९ कम्पनीको मूल्य बढेको छ । बाँकी चार कम्पनीको मूल्य भने स्थिर रहेको छ । मूल्य बढेका कम्पनीहरुको बृद्धिदर तीन प्रतिशतभन्दा कम रहेको छ । हिमालयन उर्जा विकास कम्पनीको सेयरमूल्य सर्वाधिक ५.४४ प्रतिशत ओरालो लागेको छ भने दिन बलेफी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, बेष्ट फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक लगायतका कम्पनीको मूल्य साढे चार प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

शुक्रबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । अन्तिम दिन वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक तीन प्रतिशतभन्दा बढीले ओरालो लागेको छ भने विकास बैंक, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक दुई  प्रतिशतभन्दा बढीले ओरालो लागेको छ । त्यस्तै, बैंकिङ्ग, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा, जीवन बीमा र अन्य उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।


SHARE THIS