साना किसान सवल भएमात्र नेपालको अर्थतन्त्रमा सुधार

काठमाडौं । कृषिमा आधारीत नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानहरुलाई सवल बनाउनुपर्नेमा सरोकारवालहरुले बताएका छन् ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमा बोल्ने वक्ताहरुले नेपालको आर्थिक सामाजिक रुपान्तरणका लागि साना किसानहरुलाई सवल बनाउनुपर्नेमा जोड दिएका हुन ।

पूर्व गर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले गरिबी निवारण, अर्थतन्त्रको सुधार, भोकमरीको अन्त्य र दिगो विकास लक्ष्य पुरा गर्न कृषि तथा पशुजन्य उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

उहाँले किसानहरुलाई उत्पादनसँगै उत्पादित वस्तुहरुको संकलन, भण्डारण, प्रशोधन र बजारीकरणमा समेत ध्यान दिनुपर्ने बताउनुभयो ।

किसानको उत्पादनलाई सिधै वा प्रशोधन गरेर किसान आफैले बजारसम्म लैजानसक्ने वातावरणको विकास गर्न आवश्यक रहेको उहाँको भनाई थियो । ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारका लागि साना किसानहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले सरकारले साना किसान, कृषि सहकारी र पशुपालनमा लागेका किसानहरुलाई सँगसँगै अगाडि बढाएमात्र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले साना किसानहरुलाई उद्यमसँग जोड्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

नेपाल सरकारले लघु तथा घरेलु उद्यममा विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको भन्दै उहाँले यसका लाभग्राही साना किसानहरुनै रहेको बताउनुभयो । सचिव पोखरेलले उत्पादित कच्चा पदार्थलाई साना तथा मझौला उद्योगबाट प्रशोधन गरेर बजारमा पठाउन सके त्यसको मूल्य बढ्ने र किसानको आर्थिक अवस्था सुधार हुने बताउनुभयो । 

कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठकले नेपालका दुरदराजका गरिब किसानहरुको जीवन रुपान्तरणमा विगत २१ वर्षदेखि निरन्तर काम गर्दै आएको बताउनुभयो ।

ग्रामिण क्षेत्रमा साना किसानहरुले भोगिरहेको आर्थिक समस्यालाई निधान गर्ने एक मात्र संस्था साना किसान विकास लघुवित्त वित्तीय संस्था भएको दाबी गर्नुभयो ।

उहाँले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका साना किसानहरुलाई गोलवद्ध गर्दै पूँजीको पहुँच बृद्धि गर्न सफल भएको बताउनुभयो । पूँजीको पहुँच बृद्धिसँगै उत्पादनमा पनि सन्तोषजनक प्रगति भएको भन्दै अध्यक्ष पाठकले राउटे, वनकरिया, मुसहर, चेपाङ, दलित, जनजाती, महिला लगायतलाई सूसुचित गरी उत्पादनमा संलग्न गराउँदै राज्यको मुलधारमा ल्याउन सफल भएको दाबी गर्नुभयो ।

पछाडी परेको समुदायलाई आवश्यक पर्ने वित्तीय पहुँचमा जोड्दै साना किसान विकास लघुवित्त वित्तीय संस्थाले पूँजी, प्रविधि, तालिम, चेतना, नेतृत्व विकास लगाएतका क्षेत्रमा काम गर्दै आएको अध्यक्ष पाठकले बताउनुभयो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइरालाले नेपालको गरिबी निवारणमा  लघुवित्तले अग्रणी भूमिका निर्वाह गरेको बताउनुभयो ।

उहाँले आर्थिक क्षेत्रमा किसानको पहुँच बढाउँदै आम्दानीको स्रोत बढाउन किसानहरुलाई सहयोग गर्ने एक मात्र संस्था साना किसान लघुवित्त वित्तीय संस्था रहेको बताउनुभयो ।

नेपालका ५४० वटा स्थानीयतहमा पहुँच विस्तार गरेको यस लघु वित्तमा ७९ प्रतिशत महिला सहभागिता रहेको भन्दै सीइओ डा. कोइरालले आर्थिक सामाजिक रुपान्तरणसँगै नेतृत्व विकासमा समेत योगदान गरिरहेको बताउनुभयो ।

उहाँले सरकार र साझेदार सँस्थाहरु सँगको सहकार्यले संस्थाले सञ्चालन गरेका कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन समेत सहयोग पुगेको बताउनुभयो ।

सो अवसरमा साना किसान विकास अभियानमा सहयोग पुर्‍याउने बाराकी सुगन्धी पासवान र सर्लाहीको लालबन्दिका मानबहादुर खड्कालाई सम्मान गरिएको थियो ।

यसैगरी वित्तीय संस्थाले राष्ट्रियस्तरमा सर्वोत्कृष्ठ संस्थाका रुपमा साना किसान कृषि सहकारी संस्था रघुनाथपुर धनुषालाई पुरस्कृत गरिएको छ । यसैगरी इलाका कार्यालय बनेपा अन्तरगत उत्कृष्ठ संस्थाका रुपमा सिन्धुपाल्चोकको जरायटार साना किसान कृषि सहकारी संस्था पुस्कृत भएको छ । सर्वोत्कृष्ठ इलाका कार्यालयका रुपमा नेपालगञ्ज कार्यालयलाई पुरस्कृत गरिएको छ ।

साना किसान विकास आयोजनाका रुपमा वि.स. २०३२ सालदेखि कृषि विकास बैंक मार्फत सुरु भएको साना किसान विकास कार्यक्रम विक्रम संवत २०५८ सालमा साना किसान विकास बैंकका रुपमा स्थापना भएको थियो ।

अहिले लघुवित्त वित्तीय संस्थाका रुपमा साना किसान सहकारीहरुलाई सेवा प्रवाह गर्दै आएको यस संस्थामा १ हजार २ सय ९१ वटा सहकारी संस्थाको संस्थागत सहभागिता रहेको छ । यस वित्तीय संस्थाको सेवा ७६ जिल्लाका ५ सय ४० स्थानीयतहसम्म पुगेको छ ।

१० लाख भन्दा बढि घरपरिवारमा ८१ अरबको कारोवार रहेको अहिलेको अवस्थामा सहकारीहरुमा ७९ प्रतिशत महिला सहभागिता रहेको छ ।


SHARE THIS