लगानीकर्ताको आकर्षण बीमामा, सेयर बजार २२ सयको विन्दु नजिक

काठमाडौँ । साताको पहिलो दिन लगानीकर्ताहरुको आकर्षण बीमा कम्पनीहरुको सेयरमा देखिएको छ । आइतबार बीमा कम्पनीहरुको सेयर मूल्य बढेसँगै जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक चार  प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

पछिल्ला दिनमा निरन्तर सुधारिएको सेयर बजार २२ सयको विन्दु नजिक पुगेको छ । अघिल्लो साता सुधारिएर बन्द भएको बजार यो साता पनि सुधारबाटै शुरु भएको छ । ५५ अंकले उकालो लागेको नेप्सेलाई साथ दिंदै कारोबार रकमले पनि साढे चार अर्ब नाघेको छ ।

आइतबार सेयर बजार मापक नेप्से परिसूचक ५४.५८ अंकले उकालो लागेर २१९५.१० को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ९.७२ अंकले उकालो लागेर ४१९.२० को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा आइतबारको नेप्से २.५५ प्रतिशत र सेन्सेटिभ इन्डेक्स २.३७ प्रतिशतले उकालो लागेको छ ।

अघिल्लो साता निरन्तर सुधारिएको सेयर बजार साढे २१ सयको विन्दु नजिक पुगेर बन्द भएको थियो  । शुक्रबार सेयर बजारमापक नेप्से परिसूचक १२.९२ अंकले उकालो लागेर २१४०.३९ को विन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि ३.८६ अंकले उकालो लागेर ४०९.४८ को विन्दुमा पुगेर रोर्किको थियो । समग्रमा अन्तिम दिनको नेप्से ०.६१ प्रतिशत र सेन्सेटिभ इन्डेक्स ०.९५ प्रतिशतले उकालो लागेको थियो ।

अघिल्लो दिन सुधारिएको सेयर बजारमा कारोबार रकम पनि झण्डै पाँच अर्ब रुपियाँ पुगेको थियो । मौद्रिक नीतियता प्राय: सुधारकै बाटोमा लागेको सेयर बजारमा पाँचौं दिनको कारोबार रकम केही दिन यताकै उच्च थियो ।

आइतबार २२० कम्पनीहरुको एक करोड १३ लाख ३९ हजार ४८६ कित्ता सेयर ६७ हजार ७४१ पटक खरिदबिक्री हुँदा चार अर्ब ६० करोड ९९ लाख ७१ हजार २७२ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा दुई अर्ब ४१ करोड रुपियाँले बढी हो ।

शुक्रबार २१५ कम्पनीहरुको ५१ लाख १० हजार ७०० कित्ता सेयर ३४ हजार ९४४ पटक खरिदबिक्री हुँदा दुई अर्ब १९ करोड १३ लाख ९५ हजार ७८८ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

शुक्रबार कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त उपसमूहबाहेक बाँकी १२ वटा उपसमूहको उपसूचक उकालो लागेको छ ।

आइतबार २१ करोड ३४ लाख कित्ता सेयर खरिदबिक्री भएर कारोबार रकमका आधारमा आइतबार  पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । नेपाल टेलिकम, एशियन लाइफ इन्स्योरेन्स र हिमालयन डिष्टिलरीको १० करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

आइतबार पाँच वटा बीमा कम्पनीहरुको सेयरमूल्य १० प्रतिशतले उकालो लागेर कारोबार भएको छ । नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशतले उकालो लागेर कारोबार भएको आइतबार युनाइटेड इदी मार्दी, स्वाभिमान लघुवित्त, युनाइटेड इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यता नेशनल हाइड्रोपावर कम्पनी र मल्टीपर्पस फाइनान्सको सेयरमूल्य तीन प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

बीमा कम्पनीहरुको सेयरमूल्य उकालो लागेसँगै पहिलो दिन जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक ४.१६ र ४.५१ प्रतिशतले उकालो लागेको छ । लगानी उपसमूहको परिसूचक सर्वाधिक ४.७६ प्रतिशतले उकालो लागेको आइतबार अन्य र व्यापार उपसमूहको परिसूचक तीन प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने होटल तथा पर्यटन र बैंकिङ उपसमूहको परिसूचक दुई प्रतिशतभन्दा बढीले उकालो लागेको छ । यता कारोबारमा आएको वित्त उपसमूहको परिसूचक भने १.६० प्रतिशतले ओरालो लागेको छ ।


SHARE THIS