सहकारीले दूरदराजका दिदीबहिनी, आमाहरुलई सशक्त बनाउने र घर, समाज सुधार्न भूमिका खेलेको छ ।

काठमाडौं । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले बचतबाट स्रोत र साधनलाई उर्जाशील गराउने भूमिकामा सहकारी क्षेत्र अब्बल रहेको बताउनुभएको छ । नागरिक संगठित गर्ने, क्षमता अभिबृद्धि गर्ने, सम्पत्तिको मालिक बनाउने, स्रोत र साधनमाथि पहुँच स्थापित गर्ने महत्वपूर्ण भूमिका सहकारी क्षेत्रले गरेको बताउनुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)को आयोजना तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सह–आयोजनामा आइतबारदेखि राजधानीमा सुरु भएको चौंथो साकोस शिखर गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री खाँणले नागरिकको जीवन परिवर्तमानमा समेत सहकारीको भूमिका रहेको बताउनुभयो ।

सहकारी क्षेत्रको बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्रिय उत्पादन बढाउन सम्पूर्ण सहकारीकर्मीलाई आग्रह गर्दै उहाँले भन्नुभयो –  ‘राज्यले गर्न नसकेको काम सहकारी गरेको छ । दूरदराजका दिदीबहिनी, आमाहरुलई पनि सशक्त बनाउने र घर, समाज सुधार्ने काममा पनि सहकारीले भूमिका खेलेको छ ।’ सहकारी अभियानप्रति सरकार सकारात्मक रहेका समेत स्पष्ट पार्नुभयो ।

कार्यक्रममा सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले पछिल्लो समय सहकारीहरुले गरेको गलत कामको गुनासो बढ्दै गएको बताउनुभयो । सहकारीहरुले अनुत्पादक क्षेत्रमा लगानी गरेको, बढी ब्याज लिने र सेवा शुल्क बढी लिएको लगायतमा गुनासो आएकोले त्यस्तो नगर्न उहाँले आग्रह गर्नुभयो ।

आफुलाई बैंक नठान्न र बैंकको जस्तो अभ्यासले सहकारीको भलो नहुने समेत उहाँले बताउनुभयो । ‘एउटा सहकारीको कारण सबै सहकारी बदनामी हुनुपर्ने अवस्था नआओस्,’ उहाँले भन्नुभयो । हालै सहकारी विभागले जारी गरेको ३५ बुँदे एकीकृत निर्देशनलाई कार्यान्वयन गर्न उहाँले आग्रह गर्नुभयो । सहकारी अभियान र सरकारले समन्वय गरेर अगाडि बढ्नुपर्ने पनि धारणा राख्नुभयो ।

सहकारीका नीति, योजना कार्यक्रम बनाउन तथ्याङ्क आवश्यक हुने बताउँदै उहाँले सम्पूर्ण सहकारी कोपोमिसमा आवद्ध हुनु आग्रह गर्नुभयो । ३० हजार सहकारी संस्थाहरुमा २६ प्रतिशत मात्रै सहकारीका विवरण प्राप्त भएको र थप अद्यावधिक गर्न आग्रह गर्नुभयो ।

त्यस्तै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले सरकारले सहकारीको आयकरको दर बढाएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । आयकरको दर पुरानै कायम गर्न उहाँले नेपाल सरकारलाई आग्रह गर्नुभयो । त्यस्तै उहाँले बचत तथा ऋण सहकारी संस्थाको नियमनको लागि छुट्टै बचत ऋण ऐनको माग समेत गर्नुभयो ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले कोभिड महामारीले सृजना गरेका वित्तीय सक्षमता, स्थिरता र स्वस्थताका विषयको यथोचित सम्बोधन गर्ने दाबी गर्नुभयो । साकोस अभियानको शक्ति, सामथ्र्य र सहनशीलताको बलमा चुनौतीहरु सामना गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । उहाँँले लामो बहसपछि बचत ऋण सहकारीहरुका लागि स्थिरीकरण कोष सञ्चालनमा आएपनि यसका कतिपय कानुनी प्रावधानहरु अभियानमैत्री बनाउनुपर्ने आवश्यकता रहेको तर्फ प्रमख अतिथि लगायत सरोकारवालाहरुको ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष पौड्यालले कर्जा सूचना केन्द्र र कर्जा असुली न्यायाधिकरणसँगै छुट्टै साकोस ऐनको आवश्यकता रहेको धारणा राख्नुभयो ।

आइतबारदेखि चौंथो साकोस शिखर गोष्ठी काठमाडौंमा सुरु भएको छ । दुई दिनसम्म चल्ने गोष्ठीमा देशभरका करिब सात सय बचत ऋण सहकारीकर्मीहरुको उपस्थिति रहेको छ ।

गोष्ठीमा दुई वटा सामुहिक र आठ वटा ब्रेकआउट गरी १० वटा सत्रमा सञ्चालन हुनेछन् । ‘दीगो एवं एकीकृत सञ्जालको लागि नविनतम साझा प्रविधि’ मुल भाव र संकल्पका साथ आयोजित शिखर गोष्ठीको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँडले गर्नुभएको थियो ।

कार्यक्रममा पूर्व मन्त्री एवं राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, समस्याग्रस्त सहकारीका अध्यक्ष काशिराज दाहाल लगायतको उपस्थिति थियो ।

चौथो शिखर गोष्ठीले बचत ऋण सहकारीमा नवीनतम प्रविधि, सञ्जालीकृत तथा दिगो अभियानमा विशेष जोड दिएको छ । कोभिड चुनौतीपछि सहकारीमा प्रविधिको आवश्यकता बढेकोले गोष्ठीका सबै कार्यपत्रहरुमा प्रविधिलाई बिशेष प्राथमिकता दिइएको नेफ्स्कूनले बताएको छ ।


SHARE THIS