बुटवलमा चिया प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रम सम्पन्न

काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २५औँ राष्ट्रिय चिया दिवसको उपलक्ष्यमा बृहत् राष्ट्रिय चिया प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रमको आयोजना गर्ने भएको छ ।

‘स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ’ मूल नाराका साथ सो कार्यक्रम मनाउन लागिएको बोर्डका निर्देशक दीपक खनालले बताउनुभयो । नेपालमा उत्पादित चियाको आन्तरिक बजार प्रवद्र्धन गर्ने उद्देश्यले बोर्डको आयोजनामा सो कार्यक्रम हुन लागेको उहाँले बताउनुभयो ।

यस पटक यो प्रदर्शनी लुम्बिनी प्रदेशको बुटवलमा गर्न लागिएको बोर्डद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । चिया प्रदर्शनी तथा टी टेस्टिङ ३ र ४ गते हुने जनाइएको छ ।

गएको वर्ष कोरोना महामारीले धेरै क्षेत्रमा नकारात्मक असर परे पनि नेपालको चिया क्षेत्रमा त्यति धेरै असर नपरेको बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले बताउनुभयो । कोरोनाका बेला अन्य बाली एवं वस्तुको उत्पादनमा गिरावट आउँदा पनि चियाको निर्यातमा उल्लेख्य वृद्धि भएको उहाँले बताउनुभयो ।

बोर्डको तथ्याङ्अनुसार आर्थिक वर्ष २०७५/७६ मा २५ हजार २०५ मेट्रिक टन चिया उत्पादन हुँदा आर्थिक वर्ष २०७६/७७ मा २४ हजार ११८ मेट्रिक चिया उत्पादन भएको थियो । उत्पादनमा केही गिरावट आए पनि कोरोना महामारीको बीचमा पनि चियाको निर्यातमा उल्लेखनीय बृद्धि भएको उहाँले जानकारी दिनुभयो ।


SHARE THIS