टिकेन सेयर बजारको सुधार, बुधबार उकालो लागेको बजार फेरी गिरावटतर्फ

काठमाडौँ । निरन्तर आठ कारोबार दिनसम्म ओरालो लागेर बढेको सेयर बजार फेरी गिरावटमै लागेको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डको ३० औं वार्षिकोत्सवको अवसरमा अर्थमन्त्री र धितोपत्र बोर्डका अध्यक्षको बुधबारको सम्बोधन अर्थात भाषणले उकालो लागेको सेयर बजारको सुधार एक दिन पनि टिक्न सकेन ।

बिहीबार सेयर बजारमापक नेप्से परिसूचक १७.६४ अंकले ओरालो लागेर २०६२.८० को विन्दुमा पुगेर अडिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ४.०१ अंकले ओरालो लागेर ३९६.३६ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा बिहीबारको नेप्से ०.८५ प्रतिशत र सेन्सेटिभ इन्डेक्स एक प्रतिशतले ओरालो लागेको छ ।

चालु आवको मौद्रिक नीति मार्फत लगाइएको सेयर धितो कर्जाको ४–१२ को नीतिलाई पुनरावलोकन गर्नेुपर्ने अर्थमन्त्रीको आश्वासनपछि बुधबार सेयर बजार सूचक नेप्से ६० अंकले बढेको छ ।

बोर्डको वार्षिकोत्सवमा अर्थमन्त्री शर्माले मौद्रिक नीति सम्बन्धी गुनासाहरूको बारेमा यथोचित सम्बोधन हुनुपर्ने  तथा पुँजी बजारको क्षेत्रमा देखिएका विविध समस्यालाई व्यवस्थित बनाउन लागि अर्थमन्त्रालय लागि परेको बताउदा सेयर बजार उकालो लागेको थियो ।

बोर्डका अध्यक्ष रमेश हमालले चार महिनाभित्र पूँजी बजारका समस्याहरु समाधान गरिसक्ने बताउँदा  लगानीकर्ता आशावादी बनेका थिए । यिनै कारण लगातार आठ दिनसम्म घटेको नेप्से नवौं दिन बुधबार ६० अंकले उछालिएको थियो ।

नेप्से लगातार २१९ अंकले ओरालो लागेर २०२० अंकमा झरेको थियो । बुधबार नेप्से परिसूचक ६०.२२ अंकले उकालो लागेर २०८०.४४ विन्दुमा पुगेको थियो । सेन्सेटिभ इण्डेक्स पनि ११.२५ अंकले उकालो लागेर ४००.३८ बिन्दुमा पुगेको थियो ।

बिहीबार २२९ कम्पनीहरुको ४१ लाख ५६ हजार १०४ कित्ता सेयर ३० हजार ७६२ पटक खरिदबिक्री हुँदा एक अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा १७ करोड रुपियाँले कमी हो ।

बिहीबार छ करोड ७४ लाख रुपियाँ बराबरको सेयर कारोबार भएर कुमारी बैंक सबैभन्दा धेरै सेयर कारोबार गर्नेमध्ये अगाडि देखिएको छ । यस्तै हिमालयन डिस्टिलरीको चार करोड ३२ लाख, अरुण काबेली हाइड्रोपावरको तीन करोड ९८ लाख र एशियन लाइफ इन्स्योरेन्सको तीन करोड ९८ लाख रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

बिहीबार उपकार लघुवित्त र बलेफि हाइड्रोपावरको सेयरमूल्य उच्च दरले बढेको छ भने मिथिला लघुवित्तको ३.९५ प्रतिशत नयाँ सारथी लघुवित्तको २.७५ प्रतिशत र लाइफ इन्स्योरेन्स कर्पोरेशनको २.७० प्रतिशतले बढेको छ ।

सिगटी हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ५.३४ प्रतिशतले घटेको बिहीबार समिट लघुवित्तको ५.०३ प्रतिशत, इमर्जिङ नेपालको ४.३४ प्रतिशत, लुम्बिनी विकास बैंकको ४.३० प्रतिशत र प्रोग्रेशिभ फाइनान्सको ४.२१ प्रतिशतले घटेको छ ।

बिहीबार कारोबारमा आएका १३ वटा उपसमूहको उपसूचकमध्ये व्यापार उपसमूहको उपसूचक बाहेक बाँकी सबै उपसमूहको उपसूचक ओरालो लागेको छ । व्यापार उपसमूहको सूचक ०.१२ प्रतिशतले उकालो लागेको बिहीबार वित्त उपसमूहको उपसूचक सर्वाधिक २.३ प्रतिशतले ओरालो लागेको छ । विकास बैंक २.०२ प्रतिशत, जलविद्युत १.६५ प्रतिशत र होटल्स एण्ड टुरिजम १.४४ प्रतिशतले ओरालो लागेको छ ।


SHARE THIS