झण्डै ५० प्रतिशत वाणिज्य बैंकको संख्या घटाउन सुझाव, वित्तीय हिस्सा साढे ५४ प्रतिशत

काठमाडौं । मुलुकमा १५ वटाभन्दा बढी वाणिज्य बैंक आवश्यक नभएको सर्भेक्षणबाट गरिएको एक अध्ययले निश्कर्ष निकालेको छ ।

नियामक निकाय नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले गरेको एक अध्ययनले नेपालमा १५ भन्दा बढी वाणिज्य बैंक आवश्यक नभएको देखाएको हो । यसैपनि वाणिज्य बैंकहरुको संख्या घटाउन मर्जरमा जोड दिँदै आएको राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक तथा विज्ञ गरेर २३० जनामा सर्वेक्षण गरेको थियो ।

सर्वेक्षणमा ५० प्रतिशतभन्दा धेरैले नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक भए पुग्ने राय दिएका थिए । उनीहरुले अहिलेको अवस्थामा नेपालमा १५ वटा भन्दा धेरै वाणिज्य बैंक नचाहिने राय दिएका हुन ।

यस्तै पाँच प्रतिशतले पाँच देखि १० वटा बैंक हुनुपर्ने राए दिएका छन् भने १५ प्रतिशतले १६ देखि २० वटा बैंक चाहिने बताएका छन् । बाँकीले भने २० देखि २५ बैंक हुनुपर्ने राय दिएका छन् ।

सर्वेक्षणमा सहभागीमध्ये ५७ प्रतिशतले इनसेन्टिभ दिएर मर्जर गर्नु पर्नेमा बताएका छन् भने २० प्रतिशतले फोर्स मर्जर गर्नुपर्ने बताएका छन् । ६१ प्रतिशतले मर्जरले कमजोर र बलिया बैंक तथा वित्तीय संस्थाबीच मर्जर गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपालको बैंकिङ प्रणली सुरक्षित मानिँदै आइएको छ । यद्यपी सूचना प्रविधिको जोखिम प्रमुख समस्याको रुपमा देखिएको तथा मर्जरले बलियो वित्तीय संस्था बनाउने सुझाव अध्ययन प्रतिवेदनमा छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा करिब दर्जन सुविधा दिएर बैंकहरुको मर्जरमा ध्यानाकर्षण गरेको थियो । राष्ट्र बैंककै पहलमा मर्जरमा दिइएको कर छुटको सुविधा वाणिज्य बैंकबीच भएमात्र दिने घोषणा सरकारले चालु वर्षको बजेटमै व्यवस्था गरेको छ ।

वाणिज्य बैंकहरुको हिस्सा साढे ५४ प्रतिशत

वित्तीय प्रणालीमा सबैभन्दा बढि हिस्सा वाणिज्य बैंकहरुको ५४.५ प्रतिशत पुगेको छ । यस्तै वित्तीय प्रणालीमा सहकारी संस्थाहरुको हिस्सा पनि साढे चार प्रतिशत पुगेको छ । सहकारी संस्थाहरुको संख्यात्मक बृद्धि र आकर्षणसँगै वित्तीय क्षेत्रमा सहकारीको हिस्सा बृद्धि भएको हो । राष्ट्र बैंकले गरेको वित्तीय प्रणालीको अध्ययन अनुसार सहकारीको हिस्सा विकास बैंक र इस्योरेन्स कम्पनीको नजिक पुगेको हो ।

राष्ट्र बैंकका अनुसार सम्पतिको  वित्तीय प्रणालीमा सबैभन्दा बढि हिस्सा वाणिज्य बैंकहरुको ५४.५ प्रतिशत रहेको छ । त्यसपछि नेपाल राष्ट्र बैंकको १७.६ प्रतिशत, इस्योरेन्स कम्पनीहरुको ५.५, विकास बैंकहरुको ५.१, कर्मचारी संचय कोषको ४.८ प्रतिशत र सहकारीहरुको ४.५ प्रतिशत रहेको छ ।

हाल २७ वटा बाणिज्य बैंक, १७ विकास बैंक, १७ फाइनान्स कम्पनी र ६६ लघुवित्त वित्तीय संस्थाहरु संचालनमा रहेका छन् । यसैगरी सहकारीहरुको संख्या करिव ३० हजार रहेको छ । सहकारीमार्फत करिव १० लाखको कारोबार भइरहेको अनुमान छ । तर, सहकारीको अभिलेख नहुँदा वास्तविक तथ्यांक आउन सकेको छैन ।

सहकारीको तथ्याङ्क एकीकृत गर्नका लागि संघिय सहकारी विभागले सहकारी तथा गरिबी निवारण सूचना प्रणाली कोपोमिस निर्माण गरेपनि प्रभावकारी हुन सकेको छैन । सहकारीको वास्तविक तथ्याङ्क आउन नसक्दा सहकारीको योगदान कमजोर देखिने गरेको छ ।

१७७ संस्थाहरुको इजाजत खारेज

वित्तीय स्थायित्व सुदृढीकरण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७८ फागुन मसान्तसम्म कुल २३९ बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १७७ संस्थाहरुको इजाजत खारेज हुन गई ६२ संस्था कायम भएका छन् ।

अध्ययनमा वाणिज्य बैंकको मात्रै कुरा गरिएपनि अहिले मुलुकमा २७ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वटा वित्त कम्पनी, ६६ वटा लघुवित्त कम्पनी र एउटा पूर्वाधार विकास बैंक रहेका छन् । जुन दुई वर्ष अगाडिको असार महिनासँग तुलना गर्ने हो भने एक वाणिज्य बैंक, १२ वटा विकास बैंक, छ वटा वित्त कम्पनी, २४ वटा लघुवित्त वित्तीय संस्थाको अस्तित्व सकिएको छ ।

७५० तहमा वाणिज्य बैंकका शाखा

कुल ७५३ स्थानीय तहमध्ये २०७८ फागुनसम्म ७५० तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । २०७७ फागुनसम्म ७४९ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए । कुल ७५३ स्थानीय तहमध्ये बैंक शाखा पुग्न बाँकी रहेका तीन स्थानीय तहमा पनि बैंक शाखा पुग्ने क्रममा रहेको राष्ट्र बैंकले जनाइको छ । अहिले धादिङ जिल्लाको रुवीभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको साइपालमा बैंक शाखा पुग्ने क्रममा रहेको छ । राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७८ फागुन मसान्तमा १२८ रहेको छ । यस मध्ये २७ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६६ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असार मसान्तमा १० हजार ६८३ रहेकोमा २०७८ फागुन मसान्तमा ११ हजार ३४९ पुगेको छ ।


SHARE THIS