चुनावको सरगर्मी बढ्यो, बिग्रँदो अर्थतन्त्र भिरको टुप्पोमै पुग्यो जनता भने उत्तेजित छैनन्

लक्ष्मण बेल्बासे

भात चिसो भइसकेको छ । तरकारी पनि भर्खर उम्लिएको छ । तातो र चिसोको सम्मिश्रण ठिकै मान्नु परेको छ । हरि खाना खान थाल्छ । टेलिभिजन हेर्दै खाना खाने अब आदत जस्तै भइसकेको छ।

टिभि चली रहेको छ । देशै भरी स्थानीय चुनावको सरगर्मी पनि बढेको छ। टेलिभिजनको काम झनै बढेको छ । चुनावलाई पनि पछि पार्दै अर्को समाचार ट्रेण्डिङमा परेको छ अर्थतन्त्रको कुरा । अहिले सबै भन्दा भाइरल भएकै विषय त्यही हो ।

देश टाट पल्टिसक्यो । भिरको टुप्पोमा पुगिसक्यो बस अब स्थायी सरकार, अस्थायी सरकार र छाया सरकार मिलेर एक लात्ती हान्न मात्र बाँकी छ । अनि गुटुङ टुङ पल्टी हाल्छ । अर्थमन्त्री र गभर्नर बल गरिरहेका छन् । किन र कसरी भिरको टुप्पो मै पुग्यो जनता उत्तेजित छैनन् । बजार भाउ आकासिएको छ । काला बजारी शुरु भइसकेको छ । यहाँ जवाफ माग्ने र उत्तर दिने चलन पहिले देखि छैन । जनताको ध्यान भिरको टुप्पो तिर खिचिएको छ । खेल अरु पनि खेलिँदै छ ।

सबै राजनीतिक दलले पुराना अर्थात् अघिल्लो चुनावमा घोषणा गरेका घोषणा पत्र के लेखिएको थियो । सम्पूर्ण बिर्सी सकेको यो बेला फेरि अर्को घोषणा पत्र लेख्नुपर्ने भएको छ । नयाँ लेख्नकै लागि पनि पुरानो चाहिएको छ । कहिलेकाँही यही टेलिभिजनले सोध्यो भने मात्र हो । होइन भने जनताले घोषणा पत्र हेरेर भोट हालेको पनि होइन । त्यसैले होला घोषणा गरेका प्रतिबद्धता के कति पूरा भयो भनेर पार्टी र नेतालाई सोध्ने पनि होइन । त्यसैले सबैले अब पनि पुरानो कै सहरा लिएर नयाँ तयार पार्ने मात्र त हो । प्रतिबद्धता पूरा गर्न यहाँ कोही वाध्य छैन । घोषणाका लागि घोषणा गर्ने त हो । पार्टीलाई पनि धेरै मेहनत गर्नुपर्ने छैन । चुनावको चर्चा सँगै हरिनाथको मनमा यस्तै कुरा खेलिरहेका छन् ।

केही वर्ष अगाडिसम्म संसद ठूला बड़ा सामन्त र पुँजीपतिहरुको गफ गर्ने थलो मात्र हो । संसदीय व्यवस्थाबाट गरिब किसान तथा मजदुरहरुका समस्याको हल हुन सक्दैन भन्दै यही भनाइलाई आत्मसाथ, गरेर जीवन मरणको लडाइँमा सहभागी पनि भएका थिए । त्यही सहभागिताको जगमा आम जनताको सहयोगमा देशमा गणतन्त्र आयो । जहानियाँ शासन भन्दा धेरै प्रगतिशील भए पनि, व्यवस्था मात्र बदलियो । शासन सत्ता पुरानै पुँजीपति वा सामन्तहरुकै वरिपरी घुमिरह्यो । उनीहरूकै सेवा गरी रह्यो। जो अवस्था बदल्ने गरी सत्तामा गए । तिनीहरू नै सत्ता र पूँजीको रस स्वादन गर्दा गर्दै आफै पूँजीपति भइदिए । अब यो व्यवस्था उनीहरू कै अनुकूलको भएको छ ।

हिजोका ठूला ठूला कम्युनिस्ट पार्टीहरू नै आजका साना ठूला संसदीय पार्टी भएका छन् । सबै कुरा बिर्सिएर संसदीय अभ्यासमा लागि परेका छन् । हुन त कम्युनिस्टलाई कार्यनीतिका रुपमा यी सबै गर्न छुट पनि छ । तर वास्तविकता अर्कै हुँदै गएको छ ।चुनावी सफलता नै अब रणनीति भइसकेको छ । पूँजीवादले यस्तो बनायो । अब चिडिया खानाको बाघ जस्तै कम्युनिस्ट हुन थालेका छन् । सिकार गर्ने क्षमता गुमाइ सके जस्तो । चिडियाखानाको बाघले सोच्दछ । ठूलो जंगल पनि यही हो र यहाँको शेर पनि उही हो । उत अझ सुधारिएको अब उसले आफ्नो आहाराको लागि कसैको हत्या गर्नु पर्दैन । ऊ सँग अब कोही डराउँदैन ।उसैलाई हेर्न दुनियाभरका मान्छे कोशेलीसम्म लिएर आउँछन् । तर उसलाई लाग्छ ऊ बाघ हो अझै पनि मासु बाहेक अरु केही खाँदैन ।

संसदीय अभ्यासमा आवधिक चुनाव यसको मेरुदण्ड हुने गर्दछ । यो पूँजीवादको सवल पक्ष पनि हो । पूँजीपतिको लागि आफू जन अनुमोदित भएको प्रमाण र सुनपानी पनि यही चुनाव हुने गर्दछ । हुनत कम्युनिस्टहरू संसदीय अभ्यासबाट अवस्थामा परिवर्तन ल्याउन सकिँदैन भन्ने कुरामा विश्वास गर्नुपर्ने हुन्छ । तर पनि यहाँ यिनै कम्युनिस्ट पार्टीहरू नै सच्चा संसदीय पार्टी भइसकेका छन् । अब उनीहरूकै लागि पनि उनीहरूकै भाषामा भन्नु पर्दा यही बुर्जुवा चुनाव नै सुनपानी हुने भएको छ ।

विश्वमै समाजवादी धार रक्षात्मक अवस्थामा पुगेको यसको वास्तविकता हो । तर पनि हाम्रो संविधानमा समाजवाद लिखित रुपमा नै आइसकेको छ । यसले बताउँछ हाम्रो गन्तव्य समाजवाद नै हो । तर हाम्रो समाजवाद कस्तो हुने र कसरी समाजवादसम्म पुग्ने कुन बाटो बाट पुग्ने कतै व्याख्या भने पाइँदैन । सच्चा कम्युनिस्ट संसदको बाटो साँच्चिकै समाजबाद र साम्यवादसम्म पुग्ने कुरामा विश्वास पनि गर्दैनन् । यो मार्क्सबादी लेनिनबादी बाटो हुनै सक्दैन । विश्वभरका पुँजीवादी देशहरू समाजवादी अर्थात् साम्यवादीहरूलाई सिध्याउने तह मै उत्रिएको यो बेला जनमत अर्थात् क्रन्तिकारी विचारलाई जोगाई राख्न कठिन पनि छ । यही प्रतिकूल अवस्थामा यही व्यवस्थालाई अधिकतम उपयोग गरेर जनताका जनजीविका तथा तिनका अधिकारको सुनिश्चितता र यो व्यवस्थाको भण्डाफोर नै चुनाव उपयोगको कार्यनीति हो । विश्वभर मार्टरप्लान अहिले पनि विभिन्न रुपमा सक्रिय नै छ । भर्खरै नेपालको संसदबाट पास भएको एमसीसी पनि यही योजनाको परिणाम हो । तर कम्युनिस्टहरुकै रणनीति चुनावदेखि चुनावसम्म बनेको यो बेला अरुको लागि यो झनै ठूलो उत्सव हुने नै भयो ।

पहिले पहिलेका चुनावको पनि अनुभव लिई सकेका हरिलाई यो नौलो विषय पनि होइन र संसदीय अभ्यासमा विश्वास न भएका कारण धेरै रुचि पनि छैन । र पनि पार्टीको निर्देशनलाई शिरोधार्य गर्न उनी नैतिक रुपमा बाध्य छन् ।

सम्पूर्ण सञ्चारका माध्यम अब यही विषयमा केन्द्रित हुन थालेका छन् । सर्वत्र चुनावकै चर्चा हुन थालिसकेको छ । कम्युनिस्ट पार्टी  नीति सिद्धान्तबाद र विचार सबैलाइ पोको पारेर सन्दूकमा राखेर अनुकुलतामा खोलौला भनी चाबी लगाएर राखेको यो बेला ।विचारवाद र सिद्धान्तका कुरा गर्नु गर्मीमा आगो ताप्ने जस्तो लाग्छ उसलाई । पूँजी हुनेहरूको यो जुधाईमा भुइँ मान्छेको भूमिका उनीहरूको गतिलो या अप्ठेरो ग्राहक बन्नु मात्रै त हो । मनमनै कुरा खेलाउँछ हरि । अघिल्लो पाली पनि यस्तै भएको हो अब हुने पनि फरक हुने कुरै भएन ।

धेरै पछि आज फेरि हरिको ढोका कसैले ढकढक्याउँछ । हरि अलमलमा पर्छ । भाडा बुझाउने बेला त भएको छैन । को आयो त भन्दै ढोका खोल्छ । आश्चर्य लाग्छ, कहिल्यै यहाँसम्म नआउने पुराना मित्र गोपीनाथ रहेछन् । गाडी राख्ने ठाउँ नभएर कस्तो ठाउँमा बसेको भन्दै भुनभुनाउँदै भित्र पस्छन् । हरि स्वागत सँगै अभिवादन टक्र्याउँछन् । अँध्यारो र त्यो सानो कोठा भान्सा र सुत्ने एकै ठाउँमा छ । गोपीनाथलाई केही समय बस्न पनि अफ्ठेरो भइसके को छ । तर पनि मनको ब्यथा बिसाउँदा केही खुकुलो होला भनेर बसेका छन् । त्यही पनि भनी हाल्छन् । हरि कस्तो ठाउँमा बसेको गाडी पार्क गर्ने ठाउँ पनि छैन । भर्याङ उक्लिदै कता कता ठोक्किएला भन्ने डर ।

हरि पानी खाउँ भनेर सोध्दै अवस्थालाई सहज बनाउने कोशिस तिर लाग्छन् । मनमनै भन्छन् नयाँ वर्ग शत्रु आज यहाँसम्म आएछन् । उता गोपीनाथ पनि मनमनै सोच्दछन् । यत्रो वर्ष राजनीति गरेर पनि केही गर्न नसक्ने यही हरि जस्ता मात्रै हो । अहिलेसम्म पनि भाडामा त्यो पनि यस्तो थोत्रे घरमा ।

 दुबै जना हरिको ओछ्यानमै बसेका छन् । सामान्य भालाकुसारी पछि । गोपी विषय वस्तुतर्फ मोडिन्छ । समस्या दर्शाएको छ । गोपीनाथलाई लागेको छ । अहिले आएर पार्टीले धोखा दिएको छ । हरि अचम्म मान्दै सोध्छ । कसरी गोपी भन्छन् । अध्यक्षको चुनाव खर्च समेत मैले व्यहोर्छु । र अरु धेरै लगानी पनि गर्न सक्छु भन्दा पनि अझै अर्को म भन्दा पनि कनिष्ठ नयाँ ठेकदारलाई जिम्मेवारी दिन्छन् जस्तो छ । हिंजोसँगै जीवन मरणका लडाइँ लडेका क्रान्तिकारी हामी । टिकट हिजोका नव प्रवेशी नव धनाढ्यको हातमा अनौठो भयो । त्यसैले तपाईंहरूले सहयोग गर्नु पर्यो । सुनेरै हरि दंग पर्छन् । हरि नाजवाफ हुन्छन् । पहिलेकै चुनावमा अन्तरघातको नमूना बनेका गोपी गतिला अवसरवादी पनि हुन् । पहिलेकै चुनावमा आफ्नै कमरेडलाई हराउन अर्को प्रतिस्पर्र्धीबाट मोटो रकम लिएर छदम्भेशी रुपधारण गर्दै प्रतिपक्षीलाई जिताएरअझै धनी भएका गोपी अहिले बडो इमान्दार     बनेर अर्को अवसर हात पार्न खोजेका छन् । अहिले गाईको पुच्छर समाएर वैतरणी तर्न जुरेको यो अवसर पनि आफ्नै पोल्टामा पार्न लागि परेका छन् । सबै कुरा बुझेका हरि नबोली बस्छन् । धेरै बेर नबोली टोलाइरहन्छन् । अन्तत हुन्छ हुन्न केही नभनी गोपीनाथलाई बिदा गर्दछन् । गोपी पनि सहयोगको अपेक्षा राख्दै बिदा हुन्छन् । यसै पनि धेरैबेर बस्न उनलाई अफ्ठेरो भएको थियो ।

हरि उसैगरी ओछ्यानमा पल्टिन्छ । जीउमा आलस्यता बढेको छ । तर पनि निदाउन सकेको छैन । अब मनमा कुरा खेल्न थालेको छ । विचार गर्छ बेहोशी नै बनेर नेताहरु गरीब किसानको भावनासँग खेलिरहेका छन् । गरिबको प्रतिनिधित्व गरेर हिंजो सत्तामा पुगेको मध्यम वर्ग पनि पुँजीपति वर्गमै रूपान्तरण भइसकेको छ । भुईमान्छे यहाँ कसैको नजरमै परेका छैनन् । यहाँ राजनीति गर्न सबैलाई गरिब हेपिएका दबिएका मान्छेहरु नै उर्वर हुने गरेका छन् । लडाईको अग्रभागमा जानलाई तथा भोट बैंक पनि मूलत: उनीहरू नै हुन्छन् । यो वर्ग अशिक्षा र गरिबीकै कारण सहजै प्रभावित पनि हुने गर्दछ । झूठा आश्वासन पनि सत्य नै ठान्ने यो वर्गका मत किन्ने र भावनासँग खेल्ने काम नेताले धेरै गरी सकेका छन् ।

यस्तै कुरा खेल्दै गर्दा उसका नजर नजिकै रहेको माओका चुनिएका रचना भन्ने पुस्तकमा पर्छन् । पुस्तक हातमा लिएर पल्टाउन थाल्छ । किताब पनि अल्छी गरेरै पढ्न थालेको छ । उसलाई लाग्छ । चीनमा जस्तै अहिले अबोध भनेको वर्ग सचेत हुँदै आफ्नै 

भूमिमा हामी माथि शोषण गर्दै मोटाएका वर्ग माथि धावा बोल्न थाले के होला । अझ यिनै शोषित पीडित वर्गको मुक्तिको नाममा राजनीति गर्ने कम्युनिस्ट पार्टीको अवस्था कस्तो होला रु कल्पना जस्तो लाग्ने यो विषय वास्तविकतामा बदलिन के बेर । दिनरात मिहिनेत गर्ने किसानले उत्पादनको उचित मूल्य नपाउने र श्रमजीवी मजदुरहरुले दिनभर काम गरेर एकदिन खाना नपुग्ने ज्याला र त्यसमै पनि रोजगारी नपाउनुको अर्को पीडा । जब यी सबै कुरा एकमुष्ठ विस्फोट हुने छ । हातमा औजार लिएर जाइलाग्ने यो वर्गको आक्रोशको अगाडि यही वर्गको भोट र भावनासँग खेल्दै नव धनाढ्य बनेको तथा पुरानै त्यो यो समाजको उपरी वर्ग भन्न रुचाउने वर्गको सेना पुलिस पक्कै फिक्का हुनेछ । दिनभर खेत बारीमा लडेर मूल्य नपाउने किसान र दिनभर काम गरेर बेलुका खान नपुग्ने ज्याला पाउने मजदुर जब दूध बाटोमा पोख्दै र खेती खेतमै फालेर सडकमा आउने छन् । त्यो बेला त्यो आक्रोशको निशाना पाँच रुपियाँमा किनेको काउली सय रुपियाँमा बेच्ने यही राज्य व्यवस्था हुनेछ । विदेशी उत्पादनलाई ढोका खुला राखेर स्वदेशी उत्पादन डुबाउने शासक वर्ग हुनेछन् । गरिब र किसानको स्वदेशी उत्पादन महंगो हुने र आयातित उत्पादन सस्तो हुने यस्तो विडम्बनाबाट मुक्तिको प्रयास गरीब किसानले पक्कै पनि गर्नेछन् । जवाफ यही नेतृत्त्वले दिनुपर्ने छ । हिजो हजारौं गरिब किसान मजदुर, सीमान्तकृत, उत्पीडित र उपेक्षितहरूको बलिदान र हुँकारले दुला पसेकाहरूले आजै यति चाँडै खुलामञ्चबाटै खुलमखुल्ला गणतन्त्रलाई चुनौती दिने हिम्मत जुटाएका छन् । यो सबैको कारक के हो रु परिवर्तनका वाहक तिनै गरिब किसानले जवाफ माग्ने छन् । यही नेतृत्वसँग । उनलाई लाग्छ त्यति बेला एैजरु जस्तै पलाएका धनी कम्युनिस्ट र खराब पूँजीपतिको पूँजीको संरक्षण गरिदिने तागत कसैमा हुने छैन । अवस्थाले अहिलेका यिनै अबोध भनिएका गरिब किसान काल भैरव हुनेछन् । त्यति बेला यिनीहरूको पूँजीले यिनीहरू कै संरक्षण गर्न सक्ने छैन ।

हिजो आफूलाई कम्युनिस्टबाट कमाउनिस्ट बनाउँदै गएका कम्युनिस्टको अवस्था कमजोर भएको छ । झुटका पर्दा च्यतिदै जाँदा सबैका वास्तविक मुखौटा देखिन थालेका छन् । जनताले ठूलाबाट साना पार्टी बनाइदिएका यी पार्टीलाई सत्ताको लोभ अझै हराएको छैन । हिजो आफैले प्रधान शत्रु भनेर ठूला ठूला अक्षरले दस्तावेजका पाना भरेका नेता आजै कार्यनीतिको दुहाई दिँदै त्यही प्रधान शत्रुको खुट्टा समाएर वैतरणी तर्न लागिपरेका छन् । कार्यनीतिले रणनीतिको सेवा गर्नुपर्छ भन्ने सामान्य सिद्दान्त पनि भुलाएर सर्वसाधारणलाई अन्योलमा राख्ने कोशिश गरेका छन् । सत्ताको दौडमा कुन बेला गाइले खुट्टा छड्काई दिन्छ । त्यति बेला पक्कै सागरको गहिराइमा फेरि आफ्नो अस्तित्व खोज्दै गर्दा अर्कै कित्ता मा पुगेका हुने छन् ।

आफैले समाई राखेको पुस्तक माओका चुनिएका रचना फेरि पल्टाउँछ । माओ लेख्छन् । हाम्रा शत्रुहरूको हुन रु हाम्रा मित्र शक्तिको हुन रु यो क्रान्तिको लागि प्राथमिक महत्त्वको सवाल हो । चीनमा पहिलेका सबै क्रान्तिकारी संघर्षहरुले यति कम उपलब्धि हासिल गर्नको कारण के थियो भने ती संघर्षहरु सच्चा शत्रुमाथि हमला गर्नको लागि सच्चा मित्रहरुसित एकता बद्द हुन सकेनन् । क्रान्तिकारी पार्टी जनताको पथ प्रदर्शक हो र सो क्रन्तिकारी पार्टीले जनतालाई अलपत्र पारेमा कुनै पनि क्रान्ति कहिल्यै सफल हुँदैन । हरि पढ्दै सोच्दै गर्छन् । क्रान्तिकारी नेताको उठबस सबै सम्भ्रान्त वर्ग र पूँजीपति ठूला ठेकदार र व्यापारी वर्गसँग मात्र हुन थालेको धेरै भइसक्यो । क्रान्तिकारी वर्ग जसलाई क्रान्ति चाहिएको छ । त्यही वर्गबाटै कम्युनिस्ट पार्टी खोसिएका छन् ।यही वर्ग पार्टीबाट टाढा लगिँदै छ । यही चुनावी बेला मात्रै यो वर्गसँग पनि कम्युनिस्ट पार्टी जोडिन खोज्दछन् । भोटिङ सँगै यो वर्ग सँग पार्टीको डिभोर्स शुरु हुने गर्छ । हरि निदाउन पनि सकेको छैन । ध्यान दिएर पढ्न पनि सकेको छैन । बेला बेला वास्तविकतासँग ठोकिन पुग्छ । जीउ नै सिरिंग हुन्छ । कता हिंडेको मान्छे कता पुगे जस्तो लाग्छ । क्रान्ति उबाट टाढा भाग्दै गए जस्तो लाग्छ । अब त कम्युनिस्ट पार्टी पनि नाम मात्रै कम्युनिस्ट भएका पूँजीवादी पार्टी जस्तै लाग्छ । जनताको नाममा सपथ खाएर जनतालाई धोका दिँदै व्यवस्था अनुकूल हुने संसदबादी कम्युनिस्ट कम्युनिस्ट हुनै सक्दैन । भन्न मन लाग्छ तिमीहरूको पार्टीलाई कम्युनिस्ट पार्टी लेख्ने र तिमीहरूलाई कम्युनिस्ट भन्ने अधिकार पनि छैन । मन लाग्छ सच्चा देशभक्त माक्सबादी लेनिनवादी क्रान्तिकारी विचारले निथ्रुक्कै भिजेकाहरुले विद्रोह गर्नु पर्दछ । नयाँ क्रान्तिकारी संगठनको निर्माण गर्नु पर्दछ । मन मनै आहृवान गर्छन् सम्पूर्ण समानताको आशमा विभिन्न नाम मात्रैका कम्युनिस्ट पार्टीमा ठगिएका सच्चा कम्युनिस्टहरुलाई ।

सोचाइमा डुबेको हरि झसङ्ग हुन्छ । मोबाइलको घण्टी आज पनि उसै गरी बजेको छ । आफ्नै कमरेडहरुकै मोबाइल ले घण्टी बजाएको छ । झोला मिलाउनु परेको छ । भोलिदेखि फेरि पहिले जस्तै चुनाव प्रचार प्रसारको लागि गाउँ गाउँ जानु छ । सहरमा परिवर्तनको आश देखाउँदै ठूला ठूला भाषण गर्नु छ । हरि अल्छी मान्छ । बिहानका जुठा भाडा माझ्नु छ । भोलिको तयारीमा जुट्नुछ ।


SHARE THIS