बैंकको ब्याजदर अझै बढ्छ, सामना गर्नका लागि तयार रहनुस

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदर बढ्ने बताउनुभएको छ । चार्टर्ड एकाउन्टेन्ट्स संस्था अफ नेपाल (आईक्यान) ले बुधबार राजधानीमा आयोजना गरेको लेखा व्यवसायी सम्मेलनमा बोल्दै उहाँले ब्याजदर बढ्ने भन्दै ब्याजदर बद्धिको सामनाका लागि तयार रहन पनि आग्रह गर्नुभयो । अझै पनि प्रणालीमा तरलता अभाव भएको भन्दै उहाँले भन्नुभयो - 'अझै ब्याजदर बढ्ने देखियो, त्यसका लागि सबै तयार हुनु पर्छ ।’

बह्य क्षेत्रमा देखिएको समस्या समाधान पनि चुनौतिको विषय रहेको भन्दै उहाँले अहिलेको अर्थतन्त्र सुधारका लागि ब्याजदर बद्धि आवश्यक रहेको धारणा राख्नुभयो ।

तर, अर्थतन्त्रमा केही सुधार भने देखिएको उहाँको भनाई छ । कोभिड पश्चात चलायमान भएको अर्थतन्त्रले आर्थिक बद्धि बढाउने अनुमान भएपनि लक्ष्य अनुसार हुन नसकेको उहाँको धारणा छ । वैदेशिक रोजगारीमा गएका नेपालीको विप्रेषणले आयातलाई सधै धान्न नसक्ने पनि उहाँले बताउनुभयो ।

गभर्नर अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्जा लक्ष्य पुरा नहुने बताउँदै आर्थिक वर्षको सुरुवातमा कर्जा विस्तार ३२ प्रतिशतसम्म पुगेको र बैकिङ प्रणालीमा तरलता अभावका कारण कर्जा विस्तार हुन नसकेको कारण निजी क्षेत्रमा जाने १९ प्रतिशतको कर्जा लक्ष्य पुरा नहुने बताउनुभयो ।

१९ प्रतिशतको कर्जा विस्तारको लक्ष्य पुरा गर्न थप दुई खर्ब ऋण बैंकहरुले विस्तार हुनुपर्ने भन्दै उहाँले बजारमा तरलता अभाव तथा अर्थतन्त्र चुनौती पूर्ण रहेकाले पछिल्लो दुई महिनामा दुई खर्ब लगानी विस्तार हुन नसक्ने स्पष्ट पार्नुभयो ।

गभर्नर अधिकारीले मुलुकमा चालु आर्थिक वर्षमा अत्याधिक रुपमा आयात बढेकाले विदेशी मुद्रा सञ्चितिमा चाप परेको पनि बताउनुभयो । मुलुकमा भएको पैसा सबै आयातबाट मुलुक भन्दा बाहिर गएकाले बजारमा तरलता अभावको समस्या देखिएकोतर्फ संकेत गर्दै भन्नुभयो ‘हामीले जुन किसिमको पोलिसी लिएका छौँ, त्यसले आषाढ मसान्तमा गएर १९ प्रतिशत पुग्नेवाला छैन, १९ प्रतिशत तल नै रहन्छ, १९ पुग्नलाई अब लगभग लगभग २ खर्ब क्रेडिट फ्लो हुनुपर्छ ।’

बैंकिङ प्रणालीमा तरलता अभावको कारण व्याजदरमा असर परेको भन्दै गभर्नर अधिकारीले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा समेत दुई प्रतिशतले रेट बढाएको बताउनुभयो ।

व्यापार घाटा बढ्दै गएमा आयातका नीतिहरुमा सोच्नुपर्ने अवस्था रहेको भन्दै अहिले पनि सरकारले केही वस्तुको आयातमा रोक लगाउने नीति प्रयोग गरिरहेको उहाँले बताउनुभयो । सरकारले आयातमा रोक लगाएको नीति सधैको लागि नभएर छोटो समयको लागि भएको बताउनुभयो ।

विदेशीबाट आउने रेमिट्यान्स औपचारिक क्षेत्रबाट ल्याउने प्रयास गर्दा गर्दै पनि नसकिएको उहाँले बताउनुभयो । अनुदान तथा सहुलियत दिएर रेमिट्यान्स बढाउने कुरा गरे पनि अहिले नेपाल जस्तै विदेशी मुलुक पनि विदेशी मुद्रा दिन नसक्ने अवस्थामा रहेकाले सोचे जस्तो रेमिट्यान्स आउन नसक्ने उहाँको भनाइ छ ।

पछिल्लो समय नेपालमा डलर तिरेर सामान ल्याए पनि नेपालमा प्रयोग नभएको भन्दै गभर्नर अधिकारीले त्यो वस्तु कहाँ प्रयोग हुन्छ, कसरी हिसाब मिल्छ लेखापरीक्षकहरुले राष्ट्र बैंकलाई जानकारी दिन आग्रह गर्नुभयो ।

गभर्नर अधिकारीले नेपालबाट डलर तिरेर सामान ल्याउने तर अन्य देशमा निर्यात तथा त्यो सामान नेपालमा कतै प्रयोग भएको नदेखिनुले देशलाई नै अफ्ठ्यारो परिरहेको भन्दै नेपालमा कहीँ कतै सामान आयात नभइकन डलर पेमेण्ट त गरिरहेका छौंकि शंका रहेको बताउनुभयो ।


SHARE THIS