नेपाल उद्योग परिसंघको महानिर्देशकमा जोशी

काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपकराज जोशीनियुक्त हुनुभएको छ । परिसंघ पदाधिकारी समितिको २७ औँ बैठकको निर्णय अनुसार जोशीलाई महानिर्देशक नियुक्त गरिएको हो । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नवनियुक्त महानिर्देशक जोशीको स्वागत गर्दै ‍सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो । अध्यक्ष अग्रवालले नेपाली उद्योगहरूको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले औद्योगिक वातावरण निर्माणमा सक्रियतापूर्वक काम गरिरहेको भन्दै नवनियुक्त महानिर्देशकबाट परिसंघको उद्देश्य हासिल हुने गरी कार्यसम्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।

नवनियुक्त महानिर्देशक जोशीले परिसंघले अघि बढाइरहेका अभियानहरूलाई भविष्यमा थप प्रभावकारी बनाउने बताउनुभयो । उहाँले परिसंघमा आवद्धसम्पूर्ण सदस्यहरूमा पर्ने समस्या समाधानका लागि सहजीकरण गर्नेतर्फ ध्यान दिने बताउनुुभयो । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत जोशी विगत २२ वर्षदेखि विभिन्न जिम्मेवारीमा सक्रिय रहनु भएको छ । उहाँले प्यासिफिक एसिया ट्राभल एसोसिएसनमा डेस्टिनेसन कमिटीको अध्यक्षको रूपमा काम गर्नुभएको छ ।

अन्तराष्ट्रिय रूपमा ‘च्यान्पिएन्स इन च्यालेन्ज’ र ‘पर्यटन हिरो’ जस्ता सम्मानबाट सम्मानित भइसक्नु भएका जोशीबाट परिसंघका उद्देश्य अनुरूपको कार्यसम्पादन हुने विश्वास परिसंघको छ ।  वाणिज्य शास्त्रमा स्नातोक्ततर उहाँ पर्यटन तथा अन्य आर्थिक क्षेत्रसँग सम्बन्धित अध्ययन अनुसन्धानमा पनि संलग्न हुनुहुन्छ । अध्यक्ष अग्रवालले परिसंघमा विगत दुई वर्ष तीन महिनामहानिर्देशकको रूपमा रहनु भएका यादवप्रसाद पौड्याललाई उहाँको योगदानका निमित्तधन्यवाद ज्ञापन गर्नुभयो ।


SHARE THIS