निरन्तर ओरालो लागेर २२ सयको विन्दुमा पुगेको सेयर बजारमा दोहोरो अंकले सुधार

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने दिन सेयर बजारले सुधारको बाटोमा लागेको छ ।

केही दिनदेखि निरन्तर ओरालो लागेर २२ सयको विन्दुमा पुगेको सेयर बजार साताको दोस्रो दिन भने दोहोरो अंकले उकालो लागेको छ ।

मङ्गलबार सेयर बजार मापक नेप्से परिसूचक १६.३२ अंकले उकालो लागेर २२१७.१९ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ३.६२ अंकले उकालो लागेर ४३२.६७ को बिन्दुमा पुगेर रोकिएको छ । समग्रमा मङ्गलबारको नेप्से ०.७४ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ०.८४ प्रतिशतले उकालो लागेको छ ।

लगातार ओरालो लागिरहेको सेयर बजार २२ सयको विन्दुमा पुगेको थियो । सातको पहिलो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक ३४.२१ अंकले ओरालो लागे २२००.८८ को विन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स पनि ५.६९ अंकले ओरालो लागेर ४२९.०५ को विन्दुमा पुगेर रोकिएको थियो । समग्रमा पहिलो दिनको नेप्से १.५३ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि १.३१ प्रतिशतले ओरालो लागेको थियो ।

मङ्गलबार २२४ कम्पनीहरुको ३१ लाख ७३० कित्ता सेयर २१ हजार ७०९ पटक खरिदबिक्री हुँदा एक अर्ब आठ करोड ८८ लाख ३३ हजार ५४२ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २८ करोड रुपियाँले कमी हो ।

परिसूचकमा गिरावट आएपनि सोमबारको कारोबार रकममा भने केही सुधार आएको थियो । पहिलो दिन २२४ कम्पनीहरुको ३९ लाख १७ हजार ६५५ कित्ता सेयर २८ हजार ५०६ पटक खरिदबिक्री हुँदा एक अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

कारोबार रकममा एनआइसी एसिया लघुवित्तको संस्थापक सेयर अगाडि रहेको छ भने दोस्रो र तेस्रो स्थानमा क्रमश: अपर तामाकोशी हाइड्रोपावर र अरुण काबेली पावर परेका छन् ।

मङ्गलबार कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापार र म्युचुअल फण्डबाहेक सबै उपसमुह उकालो लागेका छन् । जलविद्युत सर्वाधिक २.०६ प्रतिशतले उकालो लागेको मङ्गलबार व्यापार ०.१ठ प्रतिशत र म्युचुअल फण्ड ०.२५ प्रतिशतले ओरालो लागेका छन् ।


SHARE THIS