सेयर बजार तीन दिन मात्रै खुलेको यो सातामा झण्डै साढे चार अर्ब रुपियाँ बराबरको कारोबार, बजार पूँजीकरण ३१ खर्ब ८४ अर्बमा झ-यो

काठमाडौं । तीन दिन मात्रै कारोबार भएको यो साता झण्डै साढे चार अर्ब रुपियाँ बराबरको सेयर कारोबार भएको छ । यो साता तीन कारोबार दिनमा मात्रै चार अर्ब ३४ करोड ७२ लाख रुपियाँ भन्दा बढीको एक करोड २२ लाख ५५ हजार ८६७ कित्ता धितोपत्र कारोबार भएको छ ।

गत साता भने पाँच कारोबार दिनमा आठ अर्ब २० करोड ५७ लाखभन्दा बढीको दुई करोड २५ लाख ६६ हजार ६० कित्ता धितोपत्र खरीद बिक्री भएको थियो । गत साता औषतमा एक अर्ब ६४ करोड रुपियाँभन्दा बढीको धितोपत्र खरिदबिक्री भएकोमा यो साता औषतमा एक अर्ब ४४ करोड बराबरको धितोपत्र खरीदबिक्री भएको हो ।

बजारका सबै महत्वपूर्ण परिसूचकहरु घट्दा कुल बजार पूँजीकरणमा पनि एक खर्ब ६६ अर्ब ८७ करोड ३८ लाख रुपियाँको गिरावट आएको छ । गत साता ३३ खर्ब ५१ अर्ब ६४ करोड ३३ लाख रुपियाँ रहेको कुल बजार पूँजीकरण यो साता ३१ खर्ब ८४ अर्ब ७६ करोड ९५ लाख रुपियाँमा झरेको हो ।

पाँच कारोबार दिनमा दुई दिन सार्वजनिक विदा परेकाले यो साता तीन दिन मात्र कारोबार भएको हो । तीन कारोबार दिनमै यो साता बजार घटेर बन्द भएको छ । पहिलो दिन ४८ दशमलव ७३ अंक, दोस्रो दिन ३१ दशमलव ७६ अंक र तेस्रो दिन ३७ दशमलव शून्य ६ अंक गरी यो साता ११७ दशमलव ५५ अंकले नेप्से परिसूचक घटेको हो ।

समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचकसँगै यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १७ दशमलव ६९ अंकले घटेको छ । गत साताको अन्तिम कारोबार दिन दुई हजार ३५६ दशमलव १७ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन दुई हजार २३८ दशमलव ६२ विन्दुमा झरेको हो । त्यस्तै गत साता ४५० दशमलव २४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४३२ दशमलव ५५ विन्दुमा झरेको छ ।

वित्तीय प्रणालीमा तरलता संकटको समस्या निरन्तर रहिरहँदा र आगामी दिनमा ब्याजदर अझ बढ्ने त्रासका कारण पछिल्लो समय शेयर विक्री चाप बढीरहेको छ । सोही कारण नेप्से परिसूचकमा असर परेको जानकारहरु बताउँछन् । बजारमा प्यानिक सेल भइरहेको अवस्थामा लगानीकर्ताको मनोबल बढाउने खालको सुचना यतिवेला आवश्यक रहेको ब्रोकरहरु बताउँछन् । सुचनाको आधारमा चल्ने धितोपत्र दोस्रो बजारमा पछिल्लो समय सकारात्मक सूचनाहरु नआउँदा लगानीकर्ताको मनोबल बढ्न नसकेको ब्रोकरहरुको बुझाइ छ ।

साथै सामाजिक सञ्जाललगायतका माध्यमबाट बजारको वारेमा गतल हल्ला चलाउँदा उक्त हल्लाको पछि लागेर नयाँ लगानीकर्ताहरु प्यानिक सेल गरिरहेको बुझाइ ब्रोकरहरुको छ ।

यो साता वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । गत साताको तुलनामा यो साता वित्त समूहको परिसूचक सर्वाधिक ८ दशमलव ९४ अंकले घटेको हो । वित्त समूहसँगै जलविद्युत् समूहको परिसूचक पनि ८ दशमलव ३३ प्रतिशत घटेको छ । त्यस्तै विकास बैंकको ७ दशमलव ३३ प्रतिशत, होटल्स तथा पर्यटनको ६ दशमलव ९९ प्रतिशत, जीवन बीमाको ६ दशमलव ७६ प्रतिशत, निर्जीवन बीमाको ६ दशमलव ४९ प्रतिशत, अन्यको ५ दशमलव ८२ प्रतिशतले घटेको छ ।

त्यसैगरी व्यापारिकको ५ दशमलव ७३ प्रतिशत, लगानीको ५ दशमलव ७२ प्रतिशत, लघुवित्तको ४ दशमलव ११ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३ दशमलव ८९ प्रतिशत, बैंकिङको २ दशमलव ८८ प्रतिशत र म्युचुअल फण्डको उपसूचक १ दशमलव ९३ प्रतिशतले घटेको छ ।


SHARE THIS