उद्योगलाई चाहिने दक्ष्य जनशक्ति तयार गर्न सीटीइभिटी र वैदेशिक रोजगार विभागसँग महासंघले ग-यो सहमति

काठमाडौं । उद्योगलाई चाहिने दक्ष्य जनशक्ति तयार गर्न सीटीइभिटी र वैदेशिक रोजगार विभागसँग महासंघले सहमति गरेको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको सभाहलमा सीटीइभिटी, वैदेशिक रोजगार विभाग र महासंघको टोलीबीच मुलुकमा रोजगारी प्रबद्र्घनका विषयमा छलफल भएको छ ।

छलफलमा नेपाली उद्योगमा चाहिने दक्ष जनशक्ति तयार गर्न र देशमा रहेका र वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्योगमा रोजगारी दिलाउने तहमा वा स्वरोजगार बनाउन विभिन्न सीप विकास र व्यवस्थापकीय तालिम चलाउने सम्बन्धमा तथा वैदेशिक रोजगारीका लागि विदेश जाने युवायुवतीहरुका लागि आवश्यक पर्ने सीपमूलक तालिम सञ्चालनका सम्बन्धी सहमति भएको हो ।

महासंघ, सीटीइभिटी र वैदेशिक रोजगार विभागबीच आगामी दिनमा सहकार्य गर्ने सम्बन्धमा पनि  छलफल भएको थियो ।

कार्यक्रममा महासंघका अध्यक्ष उमेश प्रसाद सिंह, निवर्तमान अध्यक्ष श्याम प्रसाद गिरी, उपाध्यक्ष शोभा गुरुङ र सत्यनारायण प्रजापति, कोषाध्यक्ष अच्युत पाण्डे, केन्द्रीय महिला उद्यमी समितिका महासचिव सोनी महतो र कोषाध्यक्ष मिना तामाङको उपस्थिति रहेको थियो ।

यस्तै सीटीइभिटीका तर्फबाट उपाध्यक्ष खगेन्द्र अधिकारी, सदस्य–सचिव जीवनारायण काफ्ले, नेपाल सरकारः वैदेशिक रोजगार विभागका तर्फबाट महानिर्देशक शेषनारायण पौडेल, सीटिीइभिटी सीप परीक्षण समितिका निर्देशक टेक मल्ल र तालिम विभागका निर्देशक मिष्टरकान्त मैनालीको उपस्थिति रहेको थियो ।

उहाँहरुले विदेशबाट फर्केका युवाहरुलाई तालिम दिनका लागि प्रतिवद्घता व्यक्त गर्दै उद्योगका लागि तालिम आकांक्षी हरुलाई पनि कस्तो तालिम आवश्यक पर्दछ त्यसका लागि तयार रहेको बताउनुभएको थियो ।

कस्तो खालको तालिम आवश्यक पर्दछ । कुन कुन ठाउँमा तालिम सञ्चालन गर्नेलगायतका कुरामा विस्तृत तथ्याङ्क उपलब्ध गराउन पनि महासंघलाई उहाँहरुको आग्रह थियो ।


SHARE THIS