सहकारीलाई मर्यादित र प्रविधियुक्त बनाउनुपर्नेमा सरोकारवालाहरुको जोड

काठमाडौं । सहकारी व्यवसायलाई मर्यादित बनाउँदै नविन प्रविधिको अवलम्बनमा जोड दिनुपर्नेमा सहकारी अभियान्ता तथा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय सहकारी महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिवार आयोजना गरेको कार्यक्रममा मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने थिमलाई कसरी सार्थक बनाउन सकिन्छ भन्ने विषयमा सहकारी अभियान्ता र सरोकारवाल निकायले आफ्नो धारणा राखेका थिए ।

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले थिमको विषयमा कार्यपत्र प्रस्तुत गर्दै सहकारी अभियान्ताको आचरण, व्यवहार र अनुशासित आवद्धतालाई मर्यादित बनाउनुपर्नेमा जोड दिनुुभयो । डिजिटल को–अपरेटिभ गर्भनेन्स र डिजिटल साक्षरतालाई फोकस गर्नुपर्ने भन्दै उहाँले सदस्यको अधिकार, इच्छा, आवाज र निरिक्षणको सुनिश्चिताका लागि व्यसायमा नैतिकता, जवाफदेहिता, नविनतासहित सृजनात्मक रुपान्तरणका लागि सहकारीलाई मर्यादित र प्रविधियुक्त बनाउनुपर्ने बताउनुुभयो ।

सहकारी विभागका रजिष्ट्रार रुद्र प्रसाद पण्डितले सहकारीले ऐन कानुनको परिपालनामा खरो उत्रिन आग्रह गर्नुभयो । महासंघका अध्यक्ष मिनराज कडेलले सरकारसँग मिलेर सहकारी अभियान अगाडि बढ्ने बताउनुुभयो ।

कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष केशव बडाल, वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, राष्ट्रिय सहकारी विकास बोर्डका मित्रराज दवाडी, नेफ्स्कूनका अध्यक्ष परितोष पौडेल, सल्लाहकार दीपक प्रकाश बाँस्कोटा, भरत प्रधान, डा. उषा झा, रविन्द्र केसीले सहकारीलाई मर्यादित बनाउन पनि आधुनिक प्रविधिको अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए ।


SHARE THIS