साढे २६ सयको विन्दुमा पुग्यो, कारोबार रकमका आधारमा नेपाल टेलिकम शीर्ष स्थानमा

काठमाडौं । साताको तेस्रो दिनको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । मङ्गलबार सेयर बजार मापक नेप्से परिसूूचक १७.१५ अंकले ओरालो लागेर २६५०.९७ को विन्दुुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि ७.२६ अंकले ओरालो लागेर ५०२.५९ को विन्दुुमा पुुगेर रोकिएको छ । समग्रमा तेस्रो दिनको सेयर बजार ०.६४ प्रतिशत र सेन्सेभि इन्डेक्स पनि १.४२ प्रतिशतले ओरालो लागेको छ ।

सोमबार ब्रोकरको ब्रोकर डाटा सेन्टरमा समस्या देखिएपछि सोमबारको सेयर कारोबार स्थगित भएको थियो । सोमबार १२ बजेर ५३ मिनेटसम्म मात्रै खुलेको बजारमा नेप्से सूचक ०.१५ अंकले बढेर २६६८.११ विन्दुमा पुगेर बन्द भएको थियो । सेन्सेटिभ इन्डेक्स भने ०.०५ अंकले ओरालो लागेर ५०९.८५ का विन्दुमा पुुगेर रोकिएको थियो । समग्रमा सोमबारको नेप्से ०.०१ प्रतिशतले उकालो लागेको छ भने र सेन्सेटिभ इन्डेक्स ०.०१ प्रतिशतले ओरालो लागेको थियो ।

मङ्गलबार २२९ कम्पनीहरुको ६५ लाख २९ हजार २६ कित्ता सेयर ४६ हजार २८७ पटक खरिदबिक्री हुँदा तीन अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

अघिल्लो दिन करिब दुई घण्टामा मात्रै खुलेको बजारमा २२० कम्पनीहरुको २३ लाख ४९ हजार १० कित्ता सेयर खरिदबिक्री भएर एक अर्ब ३४ करोड २२ लाख ३२ हजार ८३९ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

मङ्गलबार ३४ करोड २३ लाख रुपियाँ बराबरको सेयर खरिदबिक्री भएर कारोबार रकमका आधारमा  नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ । त्यसैगरी, अपि पावर, नेपाल लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको १० करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

मङ्गलबार १३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक उकालो लागेको छ भने बाँकी नौ उपसमूहको परिसूचक ओरालो लागेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.१६ प्रतिशत बढेको तेस्रो दिन जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढी ओरालो लागेको छ ।

मङ्गलबार इमर्जिङ्ग नेपाल लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । इमर्जिङ्गको सेयरमूल्य ३९ रुपियाँ बढेर ४२९ रुपियाँ ७० पैसामा अन्तिम कारोबार भएको छ भने  सगरमाथा इन्स्योरेन्स र सोल्टी होटलको सेयरमूल्य साढे छ प्रतिशतभन्दा बढी बढेको छ । युनाइटेड इदी मार्दीको मूल्य पनि करिब छ प्रतिशतले उकालो लागेको छ ।


SHARE THIS