नागरिक लगनी कोषको ३२ औं वार्षिकोत्सव र लगानीयोग्य रकमलाई पूर्वाधार परियोजनामा लगानी गर्नुपर्छ

काठमाडौ । अर्थमन्त्री जनार्दन शर्माले नागरिक लगानी कोषको लगानीयोग्य रकमलाई राष्ट्रिय पूर्वाधार परियोजनामा परिचालन गर्नुपर्ने बताउनुभएको छ । कोषको ३२ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दे उहाँले बंैक तथा वित्तीय संस्थामा रकम राख्ने कार्य अन्त्य गर्नुपर्ने बताउनुभएको हो ।

कोष जस्तै संस्थाहरुले सृजना गरेको रकमलाई प्रभावकारी बनाउनुपर्ने भन्दै मन्त्री शर्माले अहिले मुलुकलाई १७/२० खर्बको लगानी जुटाउन आवश्यक रहेको बताउनुभयो । उहाँले  मुलुकको स्तारोन्नतीको लागि उक्त रकम आवश्यक भएकोमा जोड दिनुभयो ।

नेपाल वायु सेवा निगमलाई कोषले प्रवाह गरेको ऋmणको सम्बन्धमा मन्त्री शर्माले सरकारले जमानत बसेर लिएको ऋणको जिम्मेवारी सरकारले नै पुरा गर्ने भन्दै यसको लागि सम्बन्धित संस्थालाई पनि जिम्मेवार बनाउनु सरकारको कर्तव्य भएको बताउनुभयो ।

उहाँले बजारबाट पैसा हराइरहेको विषयमा सरकारले चासो राखिराखेको भन्दै निस्कृय रहेको पुँजीलाई लगानी गर्नुपर्ने खाँचो औल्याउनुभयो । आयातमा भएको बृद्धिले शोधनान्तर स्थितिमा समस्या आएको भन्दै अर्थमन्त्री शर्माले भन्नुभयो,‘उत्पादनमा लगानी गर्दै निर्यातलाई सन्तुलित बनाउनु पर्छ ।’

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले सेयर बजारलाई व्यवस्थित गर्न संस्थागत सुशासन आवश्यक भएको बताउनुभयो । सेयर बजारमा लगानी कोषको भुमिका महत्वपुर्ण  हुने भन्दै कोस संग सहकार्य गर्न बोर्ड तयार रहेको उहाँको भनाई थियो । 

कार्यक्रमलाई स्वागत गर्दै कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले अहिले विभिन्न १२ वटा कार्यक्रममा करिब आठ लाख भन्दा बढी सहभागीहरुलाई आबद्ध गराई आफ्नो सेवा देशभर पुर्‍याइरहेको बताउनुभयो ।

कोषको चुक्ता पूँजी तीन अर्ब २७ करोड रुपिया पुगेको छ भने चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषको खुद मौज्दात रकम एक खर्ब ८४ अर्ब ९० करोड रुपिया रहेको छ । यो अवधिमा कोषले एक खर्ब ८३ अर्ब ९१ करोड लगानी गरेको छ । कोषले लगानी गर्दा सुरक्षित र उच्च प्रतिफल मुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने बिषयलाई कोषले उच्च प्राथमिकता दिएको पनि कार्यकारी निर्देशक नेपालले बताउनुभयो ।

कोषले पुँजी बजारमा संस्थागत लगानी भित्र्याउने उद्देश्यले नागरिक स्टक डिलर कम्पनी स्थापना भई सञ्चालनमा आइसकेको छ । कम्पनीमा कोषको ५१ प्रतिशत सेयर स्वामित्व रहेको छ भने पुर्नबीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत सेयर स्वामित्व रहेको छ । बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुटयाइएको छ । नागरिक स्टक डिलर नेपालको पहिलो स्टक डिलर कम्पनीको रुपमा रहेको पनि नेपालले बताउनुभयो ।

कोषका विभिन्न कार्यहरुलाई थप व्यवस्थित गर्न कार्यविधिलाई कार्यान्वयनमा ल्याइसकेको उहाँको भनाई थियो । कार्यकारी निर्देशक नेपालले कोषले आवाश कर्जा बापत सहभागीलाई १५ वर्षको सुरु तलबमानको रकम वा ८० लाख रुपियाँ मध्ये जुन कम हुन्छ सो बराबरको रकम प्रदान गर्ने कार्य सुरु गरी सकेको धारणा राख्नुभयो । उहाँले कोषका कार्यक्रममा पति, पत्नि दुवै सहभागी भएको भए आवाश कर्जा सिमालाई एक करोड रुपियाँ सम्म सुविधा प्रदान गर्ने कार्य सुरु गरीसकेको जानकारी दिनुभयो ।

सो अवसरमा कोषका संचालक इश्वरीप्रसाद अर्यालले कोषमा सिमित जनशक्ति रहेपनि सञ्चालन देखि कोष नाफामा गएको बताउँदै भन्नुभयो, ‘कोषले सिमित क्षेत्रमा रहेको लगानीको अवधारणलाई विस्तार गर्नुपर्छ ।’ त्यसैगरी कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसे र नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष देव गुरागाइले नागरिक पेन्सन योजनालाई बजेटमा समावेश गर्नुपर्ने, बजेट मार्फत कर छुटको सिमा बढाउनुपर्ने, कोष सरहकै अन्य संघ संस्थाले पाउने सुविधा कर्मचारीले पाउनुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रममा कोषले २० वर्ष सेवा पुगेका र उत्कृष्ठ कर्मचारीलाई सम्मान गरेको थियो ।


SHARE THIS