बीमा कम्पनीहरुको पूँजी १५० प्रतिशतले बढ्यो, ३० दिन भित्र योजना पेश गर्न सर्कुलर

काठमाडौँ । मुलुकमा सञ्चालित बीमा कम्पनीहरुले हालको पूँजीलाई बृद्घि गर्नुपर्ने भएको छ । नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाउने निर्णय गरेको छ । समिति सञ्चालक समितिको बैठकले बीमा कम्पनीहरुको चुक्ता पूँजी बृद्धि गर्दै जीवन बीमा कम्पनीको चुक्ता पूँजी पाँच अर्ब  रूपियाँ र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी दुई अर्ब ५० करोड रूपियाँ पुर्‍याउने निर्णय गरेको हो ।

अहिले जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी दुई अर्ब र निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी एक अर्ब रुपियाँ रहेको छ । समितिले जीवन बीमा र निर्जीवन बीमा कम्पनीहरुको पुँजी १५० प्रतिशतले बढाउने निर्णय गरेको हो । बीमा कम्पनीहरुले २०७९ साल असार मसान्तसम्म तोकिएको पुँजी पुर्‍याउने गरि पुँजी बृद्धिको योजना पेश गर्नुपर्ने समितिले जारी गरेको सर्कुलरमा उल्लेख छ । बीमा कम्पनीहरुले आगामी ३० दिन भित्र पुँजी बृद्धि सम्बन्धी योजना सम्बन्धित बोर्डबाट निर्णय गराई समितिमा पेश गर्नुपर्ने व्यवस्था गर्न पनि पेश गर्नुपर्ने सर्कुलरमा उल्लेख छ ।

बीमा कम्पनीहरुको चुक्ता पूँजी बृद्धि गरी समग्रमा नेटवर्थ बढाई सोअनुरुप कम्पनीहरुको जोखिम बहन क्षमता बढाउन, कम्पनीहरुलाई एकअर्कामा गाभ्ने गाभिने अनुकुल वातावरण सिर्जना भई उपयुक्त संख्यामा राख्न तथा पूँजिगत आधार बलियो बनाउन, ठूलो पूँजी भएमा सेवाको लागत कम भई बीमाको पहूँच विस्तार गर्न, ठूलो पूँजी कायम गरी कम्पनीहरुबीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पूँजीसँग सामञ्जस्यता हुनेगरी चूक्ता पूँजी कायम गर्न पूँजी बृद्धिको निर्णय गरेको समितिको भनाई छ ।

समितिको निर्देशन अनुसारको चुक्ता पूँजी २०७९ साल चैत्र मसान्तसम्ममा कायम गरिसक्नुपर्ने र निर्धारित पूँजी उपरोक्त समयावधिभित्र पुर्‍याउन नसक्ने कम्पनीहरुले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” बमोजिम हुनेगरी पूँजी कायम गर्नुपर्ने सर्कुलरमा उल्लेख छ ।

विदेशी बीमकको रुपमा दर्ता भई सञ्चालनमा रहेको बीमकले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को दफा ४ बमोजिमको तोकिएको न्यूनतम चूक्ता पूँजी बराबरको निर्धारीत पूँजी कायम गर्ने र संयुक्त लगानीमा सञ्चालित कम्पनीले तोकिएको समयावधिभित्र उल्लेखित निर्देशिकाको दफा ४ बमोजिमको तोकिएको न्यूनतम चूक्ता पूँजी कायम गर्ने व्यवस्था गरिएको छ ।

समितिले कम्पनीहरुलाई तीस दिनभित्र आफ्नो पूँजी योजना सम्बन्धित बोर्डबाट निर्णय गराई समिति समक्ष पेश गर्न पनि निर्देशन दिएको छ ।

अहिले नेपालमा १९ वटा जीवन बीमा कम्पनी, २० वटा निजीवन बीमा कम्पनी र दुई पुर्नबीमा कम्पनी रहेका छन् । बीमा समितिका अनुसार आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्मको तथ्याङ्क अनुसार कुल जीवन बीमा शुल्क एक खर्ब २० अर्ब ९५ करोड रुपियाँ रहेको छ भने जीवन बीमाको बृद्घि प्रतिशत २७.१२ प्रतिशत रहेको छ ।

यस्तै कुल निर्जीवन बीमा शुल्क ३१ अर्ब ७० करोड रुपियाँ रहेको छ भने निर्जीवन बीमाको बृद्घि प्रतिशत २४.७४ प्रतिशत रहेको छ । कुल बीमा शुल्क एक खर्ब ५२ अर्ब ६५ करोड रुपियाँ रहेको छ भने यसको बृद्घि २६.१८ प्रतिशत रहेको छ ।


SHARE THIS