सेयर बजार साढे २६ सयको विन्दु तल

काठमाडौँ । सेयर बजारमा गिरावटले नै निरन्तरता पाएको छ । सोमबार सेयर बजारमापक नेप्से परिसूचक ५६ अंकले ओरालो लाग्दा बजार साढे २६ सयको विन्दुभन्दा तल झरेको छ । परिसूचकसँगै कारोबार रकम अघिल्लो दिनको तुलनामा गिरावट आएको छ ।

सोमबार नेप्से ५५.८६ अङ्कले ओरालो लागेर २६४६.०३ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १०.५३ अङ्कले ओरालो लागेर ४६९.१८ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको दोस्रो दिनको नेप्से २.०६ प्रतिशतले ओरालो लागेको छ भने सेन्सेटिभ इन्डेक्स २.१९ प्रतिशतले ओरालो लागेको छ ।

सोमबार ३२७ कम्पनीको दुई करोड १० लाख ४८ हजार ९११ कित्ता सेयर एक लाख ११ हजार ९८६ पटक खरिद बिव्रmी हुँदा नौ अर्ब ४३ करोड ९१ लाख छ हजार ४२५ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा दुई अर्ब २२ करोड रुपियाँले कमी हो ।

सोमबार ३७ करोड ५७ हजार ८०२ सय रुपियाँ बराबरको सेयर कारोबार भएर सीइडीबी हाइड्रोपावर लिमिटेडको सर्वाधिक कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको २७ करोड ९४ लाख १२ हजार ९६ रुपियाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबारको सेयर बजारमा कारोबारमा आएका १३ ओटै उपसमूहको परिसूचक ओरालो लागेको छ । ओटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक २.६७ प्रतिशतले ओरालो लागेको छ । जीवन बीमा २.४९ प्रतिशत, निर्जीवन बीमा २.४५ प्रतिशत, जलविद्युत २.४४ प्रतिशत, लघुवित्त २.३३ प्रतिशत, बैंकिङ २.२८ प्रतिशत, फाइनान्स २.२७ प्रतिशतले ओरालो लागेको छ ।


SHARE THIS