कोरोना संक्रमण असर कम हुँदै गएपछि पुनरकर्जाको ब्याजदर बढ्यो

काठमाडौँ । मुलुकमा कोरोना संक्रमणको दुई वर्षदेखिको असर कम हुँदै गएपछि कोरोना प्रभावितहरुलाई दिइदै आएको पुनरकर्जाको ब्याजदर दुई प्रतिशतले बढाएको छ ।

करोना संक्रमणले मुलुकको उद्योग व्यवसायदेखि समग्र अर्थतन्त्रलाई माथि उठाउनका लागि राष्ट्र बैंकले पुनरकर्जाको व्यवस्था गरेको थियो ।

मौद्रिक नीतिको मध्यावधी समीक्षामा पुनरकर्जाको ब्याजदर बढाउने घोषणा गरेको थियो । राष्ट्र बैंकले मङ्गलबार पुनरकर्जा कार्यविधि २०७८ को चौथो शंसोधनमार्फत यस अगाडि पाँच प्रतिशत रहेको यस्तो ब्याजदरलाई सात प्रतिशत कायम गरेको छ ।

बैंकका ग्राहकहरुले लघु, घरेलु तथा साना उद्यम पुनरकर्जामा सात प्रतिशत, विशेष पुनरकर्जामा पाँच प्रतिशत र साधारण पुनरकर्जा अन्तरगत सात प्रतिशत ब्याज लिन पाउने भएका छन् । यता बैंकहरुले भने राष्ट्र बैंकमार्फत् क्रमश: चार प्रतिशत, दुई प्रतिशत र पाँच प्रतिशत ब्याजदरमा पुनरकर्जा पाउनेछन् ।

एकमुष्ट रुपमा प्रदान गरिने पुनरकर्जाको अवधि बढीमा एक वर्षको हुनेछ र यस्तो कर्जा नवीकरण हुने नहुने राष्ट्र बैंकले जनाएको छ ।

ग्राहक ऋणी अनुसार प्रदान गरिने पुनरकर्जाको हकमा कोभिड–१९ बाट अति प्रभावित भनी बैंकले तोकेका क्षेत्रका ग्राहक ऋणीको लागि, लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि छ महिना अवधिको हुने कार्यविधिमा उल्लेख छ ।

यस्तै निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले संकटग्रस्त जलबिद्युत आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका दश मेगावाट भन्दा साना जलबिद्युत् आयोजनालाई तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न बढीमा एक वर्ष र मध्यम तथा न्यून प्रभावित क्षेत्र भनी बैंकले तोकेका ग्राहक ऋणीको लागि छ महिना अवधिको हुने कार्यविधिमा उल्लेख छ ।

राष्ट्र बैंक ऐन, २०५८ ले तोकेको व्यवस्थानुसार बैंकले यस्तो पुनरकर्जा नवीकरण गर्न सक्नेछन् ।  बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनरकर्जाको अधिकतम सीमा पाँच करोड रुपियाँको हुने कार्यविधिमा उल्लेख छ । यसरी एकमुष्ट प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिनेरकमको ७० प्रतिशतभन्दा बढी नहुने व्यवस्था छ ।

बैंकले ग्राहक अनुसार मूल्याङ्कन गरी उपलव्ध गराउने पुनरकर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोड रुपियाँसम्म हुनेछ । तर, स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट स्थापना गर्न तथा नेपाल सरकारबाट महामारीजन्य रोगको उपचारको लागि मान्यता प्राप्त खोप उत्पादन गर्ने उद्योग स्थापना गर्न प्रदान गरिने कर्जाको हकमा प्रति ग्राहक ऋणी ५० करोड रुपियाँसम्म पुनरकर्जा प्रदान गर्न यस व्यवस्थाले बाधा पुगेको नमानिने कार्यविधिमा उल्लेख छ ।

यसरी ग्राहक अनुसार प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी नहुने कार्यविधिमा उल्लेख छ ।

पुनरकर्जा के हो ?

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको सुरक्षणमा राष्ट्र बैंकबाट उपलब्ध गराइने कर्जा नै पुनरकर्जा हो । एक व्यक्ति वा व्यवसायले ब्याज दर, भुक्तानी तालिका र अघिल्लो क्रेडिट सम्झौताको सर्तहरू संशोधन गर्न लिइने कर्जालाई नै पुनरकर्जा भनिन्छ ।


SHARE THIS