यो साता नेप्से परिसूचक ९६.७६ अंकले बढ्यो, कारोबार भने दुई अर्ब ३० करोड ५७ लाख ९३ हजारले घट्यो

काठमाडौं । गत साताभन्दा यो साता दुई अर्ब ३० करोड ५७ लाख ९३ हजार बराबरको ७३ लाख ७७ हजार २७३ कित्ता कम सेयर कारोबार भएको छ ।

यो साता चार कारोबार दिनमात्र बजार सञ्चालन भएकाले कारोबार रकम र कित्तामा भने कमि आएको छ । गत साता पाँच कारोबार दिनमा २८ अर्ब ९७ करोड १२ लाख ६१ हजार रुपियाँ बराबरको पाँच करोड ७५ लाख ८६ हजार ६९२ कित्ता सेयर कारोबार भएकोमा यो साता २६ अर्ब ६६ करोड ५४ लाख ६८ हजार बराबरको पाँच करोड दुई लाख नौ हजार ४१९ कित्ता सेयर कारोबार भएको हो ।

यसरी हेर्दा गत साताभन्दा यो साता दुई अर्ब ३० करोड ५७ लाख ९३ हजार बराबरको ७३ लाख ७७ हजार २७३ कित्ता कम सेयर कारोबार भएको हो । नेप्से परिसूचक उकालो लागेको यो साता कुल बजार पूँजीकरण एक खर्ब ३६ अर्ब ७३ करोड ८४ लाखले बृद्धि भएको छ । गत साता ३९ खर्ब २८ अर्ब ६३ करोड ४२ लाख रहेको कुल बजार पू्ँजीकरण यो साता ४० खर्ब ६५ अर्ब ३७ करोड २६ लाख पुगेको हो ।

धितोपत्र बजारमा पनि साढे तीन प्रतिशतको वृद्धि देखिएको छ। २७७९.९८ को विन्दुबाट सुरुवात भएको बजार साताको अन्तिम कारोबार पछि २८७६.७४ विन्दुमा कायम छ। नेप्से परिसूचकले यो साता ९७ अंकको फड्को मारेको छ ।

यस्तै ’क’ वर्गको धितोपत्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स ४ प्रतिशत बढेको छ । ५१८.७२ अंकबाट पहिलो कारोबार सुरुवात गरेको सेन्सेटिभ इन्डेक्स सातामा २१ अंक बढेर ५३९.६५ अंकमा बन्द भएको छ ।

यो साता लगानीकर्ताको पुँजी पनि एक खर्ब ३६ अर्ब रुपैयाँ बढेको छ। गत साताको अन्तिम कारोबार ३९ खर्ब २८ अर्ब रुपैयाँमा सीमित कुल बजार पुँजीकरण चालु साताको अन्तिम कारोबार पश्चात ४० खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ ।

नेप्सेसँगै अधिकांश उपसमूहहरु पनि उकालो लागेका छन्। यो साता सर्वाधिक वृद्धि लिन सफल जलविद्युत उपसमूह हो । गत साताको तुलनामा जलविद्युत उपसमूहले साढे ८ प्रतिशत बढेको छ। लगानी उपसमूह पनि यो साता ८ प्रतिशत अधिक बढ्यो ।

गत साताको तुलनामा अन्य उपसमूह साढे ५ प्रतिशत बढ्दा विकास बैंक र वित्त उपसमूह झन्डै ५ प्रतिशत बढे। व्यापार र लघुवित्त उपसमूहमा पनि ३ प्रतिशत अधिकको वृद्धि देखिएको छ।

साताभर सबै भन्दा कम बढेको उपसमूह उत्पादन तथा प्रशोधन हो। यो उपसमूह ०.४७ प्रतिशत मात्र बढेको छ। जीवन बीमा उपसमूहले पनि यो साता ०.८७ प्रतिशत भन्दा बढी बढ्न सकेन।

नेप्से उकालो लागे पनि यो साता कारोबार रकम र कारोबार मात्रा दुवै घटेका छन्। साताको अन्तिम कारोबार दिनसम्म आइपुग्दा २६ अर्ब ६६ करोड ५४ लाख रुपैयाँ बराबरको ५ करोड २ लाख ९ हजार कित्ता सेयर खरिद बिक्री भएका छन्।

अघिल्लो साताको तुलनामा कारोबार रकम साढे ६ प्रतिशत घट्दा कारोबार मात्रा भने साढे ११ प्रतिशत घटेको छ। यस साता औसतमा ६ अर्ब ६६ करोड ६३ लाख रुपैयाँ बराबरको एक करोड २५ लाख ५२ हजार कित्ता सेयर खरिद बिक्री भएका छन्।

कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। साताको अन्तिम कारोबार दिनसम्ममा हाइड्रोपावरको एक अर्ब ६० करोड रुपैयाँको सेयर किनबेच भएको छ।

यस साता सर्वाधिक कमाउने विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ता नै हुन्। दुवै कम्पनीको मूल्य साताभरमा ४६ प्रतिशत अधिक वृद्धि भएको छ। विन नेपाल लघुवित्तको अन्तिम कारोबार मूल्य एक हजार ९ सय ५९ रुपैयाँ छ। यस्तै, बुद्धभूमि नेपाल हाइड्रोपावरको अन्तिम कारोबार मूल्य ७४४ रुपैयाँ रहेको छ।

साहस ऊर्जाका लगानीकर्ताले पनि यो साता २१ प्रतिशत कमाउँदा अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले १८.६२ प्रतिशत कमाए। साताभर कारोबार भएका १९१ कम्पनीको मूल्य अघिल्लो साताको तुलनामा बढ्दा ३ वटाको स्थिर छ भने २८ वटाको मूल्य घटेको छ।

सर्वाधिक गुमाउने अजोड र सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ता हुन्। अजोड इन्सोरेन्सका लगानीकर्ताले यो साता २.५६ प्रतिशतका दरले गुमाउदा सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले २.५ प्रतिशतका दरले गुमाए। शिवम् सिमेन्टको मूल्य पनि यो साता २ प्रतिशत घटेको छ।


SHARE THIS