विद्युतीय माध्यमबाट हुने बैंकिङ कारोबारमा ठगी धन्दा मौलाएको सजग हुन आग्रह

काठमाडौं । विस्तारीत हुँदै गइरहेको विद्युतीय माध्यमबाट हुने कारोबार विभिन्न माध्यमहरुको प्रयोग गरी ठगीको गुनासो बढेको भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सजग हुन आग्रह गरेको छ ।

विद्युतीय माध्यमबाट हुने बैंकिङ कारोबारमा अनेकौं ठगी धन्दा मौलाएको भन्दै राष्ट्र बैंकले सजग हुन सबैलाई आग्रह गरेको हो । राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै विद्युतीय माध्यमबाट वित्तीय कारोबारमार्फत हुने जोखिम औल्याउँदै सर्वसाधारणलाई सजग हुन आग्रह गरेको हो ।

कोरोना संक्रमणयता नेपालमा विद्युतीय कारोबार बढ्दो क्रममा छ । विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक व्यक्ति र समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासो प्राप्त भइरहेका भन्दै उल्लेखित विषयमा विशेष ध्यान दिन राष्ट्र बैंकले सजग हुन आग्रह गरेको छ ।

सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैंकबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ अथवा मोबाइल बैंकिङको यूजर नेम तथा पासवड माग्ने, नक्कली वेवसाइट बनाई ग्राहकका गोप्य सूचनाहरू लिने, ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाई उक्त चिठ्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाई गैरकानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्ने लगायतका ठगी भइरहेको जानकारीमा आएकोले विद्युतीय कारोबार गर्दा यसप्रकारको ठगीबाट बच्न विशेष ध्यान दिन जरुरी भएको राष्ट्र बैंकले जनाएको छ ।

अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटीपी वा अन्य कुनै पनि संवेदनशील जानकारी नदिन पनि राष्ट्र बैंकले आग्रह गरेको छ । मोबाइल तथा अन्य डिभाइस एवम् एपका पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्नुपर्ने भन्दै राष्ट्र बैंकले यस्ता पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्नुपर्नेमा जोड दिएको छ ।

सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको व्यहोरा अन्य माध्यमबाट यकीन गरेर मात्र रकम पठाउनुपर्ने राष्ट्र बैंकको भनाई छ । अनावश्यक तथा अनधिकृत एप आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड गर्न नहुने तथा यसरी अनधिकृत एप डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचनाहरू आपराधिक समूहले पत्ता लगाउन सक्नेतर्फ राष्ट्र बैंकले ध्यानाकर्षण गराएको छ ।

कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड अथवा क्यूआर कोड पठाएको अथवा एपको पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको कार्यलाई शङ्कास्पद रुपमा लिनुपर्ने तथा रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बारकोड, क्यूआरकोड अथवा पासवर्ड पठाउन आवश्यक नहुने राष्ट्र बैंकले जनाएको छ ।

कुनै पनि वेवमार्फत विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारीक वेव हो वा होइन यकीन गरेर मात्र कारोबार गर्नुपर्ने बताउँदै राष्ट्र बैंकले कुनै पनि वेव साइट भरपर्दो वा विश्वसनीय छ कि छैन  यकीन गर्न पनि आग्रह गरेको छ ।

विद्युतीय कारोबार गर्दा आफू ठगिएको शङ्का लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने गरेको बैंक तथा वित्तीय संस्था एवम् नेपाल राष्ट्र बैंकको गुनसो सुनुवाईसम्बन्धी पोर्टलमा गुनासो वा उजुरी दर्ता गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ ।


SHARE THIS