फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एक लिटर पेट्रोल किन्न अब १४२ रुपियाँ तिर्नुपर्ने

काठमाडौं । नेपालमा पेट्रोलको मूल्य बृदिले नयाँ रेकर्ड ब्रेक गरेको छ । पेट्रोलियम पदार्थको मूल्य फेरी बढेर उच्च विन्दुमा पुगेको छ । अब एक लिटर पेट्रोलको मूल्य १४२ रुपियाँ पर्ने भएको छ।

नेपाल आयल निगमले पेट्रोल डिजल र मट्टितेलको भाउ प्रतिलिटर तीन–तीन रुपियाँले बढाएको हो । भारतबाट मूल्य बढेर आएसँगै घाटा थेग्नै नसक्ने स्थितिमा पुगेपछि तेलको भाउ बढाउन बाध्य भएको निगमको दाबी छ । अब डिजेल र मट्टितेलको मूल्य लिटरको १२५ रुपियाँ पर्ने भएको छ ।

एलपी ग्यासको मूल्य भने बढाइएको छैन । पेट्रोल अब इतिहासकै महंगो पर्ने भएको छ । यसअघि २०७० सालमा पेट्रोलको मुल्य प्रतिलिटर १४० रुपियाँ कायम थियो । निगमले यसअघि माघ ५ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल बढेर ९० डलरसम्म पुगेकाले यहाँ पनि मूल्य बढाएको निगमले जनाएको छ । नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।

यस्तै, निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपियाँ बढाएर ११६ रुपियाँ कायम गरेको छ । अन्तर्राष्ट्रियतर्फको हवाई इन्धन प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाएर १०९५ डलर तोकिएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।


SHARE THIS