५३ अंकले बढ्यो सेयर बजार, हाइड्रोपावर चम्कियो

काठमाडौँ । घट्ने क्रममा २७ सयको विन्दुमा पुगेको सेयर बजार मङ्गलबार फेरी एकाएक ५३ अंकले बढेको छ । सेयर बजार मापक परिसूचकले साढे २७ सयको विन्दु पार गरिरहँदा तेस्रो दिन जलविद्युत कम्पनीहरुको सेयरमा पनि बढोत्तरी आएको छ ।

मङ्गलबार सर्वाधिक सेयरमूल्य बढेका १० कम्पनीहरुमध्ये सात वटा जलविद्युत कम्पनी रहेका छन् । मङ्गलबार नेप्से परिसूचक ५३.३० अंकले उकालो लागेर २७५४.२८ को विन्दुमा पुगेर अडिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १०.८३ अंकले उकालो लागेर ५२२.१३ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा तेस्रो दिनको सेयर बजार १.९७ प्रतिशत र सेन्सेटिभ इन्डेक्स २.१२ प्रतिशतले उकालो लागेको छ ।

बजार खुलेको तीन घण्टासम्म सुस्त रहेको बजार अन्तिम एक घण्टामा तिब्र गतिमा उकालो लागेको थियो । तर कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढ्न सकेन । 

साताको पहिलो कारोबार दिन १०० अङ्कभन्दा बढीले घटेको सेयर बजार दोस्रो दिन झिनो अङ्कले सम्हालिएको थियो । सोमबार नेप्से परिसूचक शून्य दशमलव ०८ अङ्कले बढेर २७००.९८ को बिन्दुमा पुगेको थियो । ‘क’ वर्गका कम्पनीमा मापक सेन्सेटिभ इन्डेक्स भने ०.३६ अङ्कले ओरालो लागेर ५११.३० कोे बिन्दुमा रोकिएको थियो ।

तेस्रो दिन २२४ कम्पनीहरुको ६३ लाख ४३ हजार २२८ कित्ता सेयर ४३ हजार ५१९ पटक खरिदबिक्री हुँदा तीन अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४५ करोड रुपियाँले कमी हो ।  सोमबार २२७ कम्पनीका ७५ लाख ४९ हजार ७७९ कित्ता सेयर खरिद बिक्री हुँदा तीन अर्ब ६८ करोड रुपियाँको कारोबार भएको थियो ।

मङ्गलबार २२ करोड ७७ लाख रुपियाँ बराबरको सेयर खरिदबिक्री भएर हिमालयन डिष्टिलरी शीर्ष स्थानमा पुगेको छ । त्यसैगरी, नेशनल हाइड्रोपावर र नेपाल टेलिकमको १८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

तेस्रो दिन सर्वाधिक सेयरमूल्य बढेका १० कम्पनीहरुमध्ये सात वटा जलविद्युत कम्पनी रहेका छन् । जसमध्ये न्यादी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ । तेह्रथुम पावरको शेयरमूल्य करिब नौ प्रतिशत बढेको छ भने हिमालय उर्जा विकास कम्पनी, कालिका पावर, छ्याङ्दी हाइड्रोपावर र सिनर्जी पावरको सेयरमूल्य सात प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

मङ्गलबार मूल्य घट्नेमा अधिकांश म्युचुअल फण्डहरु रहेका छन् जसमध्ये एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य सर्वाधिक ३.१४ प्रतिशत घटेको छ ।

हाइड्रोपावर कम्पनीको सेयरमूल्यका साथै सो उपसमूहको परिसूचक सर्वाधिक ४.३२ प्रतिशतले उकालो लागेको छ भने कारोबारमा आएका अन्य १२ वटा उपसमूहको परिसूचक पनि उकालो लागेको छ । तेस्रो दिन अन्य उपसमूहको परिसूचक ३.३८ प्रतिशत बढेको छ भने विकास बैंक, वित्त, लगानी र लघुवित्त उपसमूहको परिसूचक दुई प्रतिशतभन्दा बढी बढेको छ ।


SHARE THIS