वाणिज्य बैंकहरुको औसत नाफा ११ प्रतिशतले बढ्यो, अर्बपति क्लबमा पुगे १४ वटा बैंक

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासमा वाणिज्य बैंकहरुको नाफा ११.६३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालु वर्षको पुससम्म नाफा दुई अर्ब ९४ करोड ३० लाख रुपियाँले बढेको छ । यसपटक अर्बपति क्लबमा १४ वटा बैंक पुगेका छन् भने नौ वटा पुग्न सकेका छैनन् ।

दुई अर्बमाथि नाफा आर्जन गर्नेको सूचीमा पर्नेमध्ये पनि ग्लोबल, एनआइसी एसिया र नबिल बैंक रहेका छन् भने एक अर्बमाथि नाफा आर्जन गर्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, प्राइम कमर्सियल, नेपाल इन्भेष्टमेण्ट, सिद्घार्थ बैंक, कृषि विकास बैंक, मेगा बैंक, प्रभु बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड। सानिमा र माछापुच्छ्रे बैंक रहेका छन् ।

नौ वटा बैंक अर्बपति क्लबमा प्रदेश गर्न सकेका छैनन् । यी बैंकको नाफा एक अर्ब रुपियाँभन्दा कम छ । सिभिल, सेञ्चुरी, लक्ष्मी, नेपाल एसबीआई, एनसीसी, बैंक अफ काठमाण्डू, कुमारी, नेपाल बंगलादेश, एभरेष्ट बैंकको नाफा कम हुँदा अर्बपति क्लबमा प्रवेश पाएनन् ।

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये २३ वटा बैंकहरुले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिकमा कुल २९ अर्ब ५९ करोड ९१ लाख रुपियाँ नाफा आर्जन गरेका छन् । अघिल्लो वर्षको सोही अवधीमा २६ अर्ब ५० करोड ६१ लाख रुपियाँ नाफा गरेका बैंकहरुले यो वर्ष तीन अर्ब रुपियाँले बढाएका हुन् ।

गत वर्ष सोही अवधिको तुलनामा बैंकहरुको नाफा ११.६३ प्रतिशतले बढेको छ भने औसत नाफा २१.२४ प्रतिशतले बढेको छ । यो वर्ष ग्लोबल आइएमई बैंक धेरै नाफा आर्जन गर्नेमध्ये अगाडि आएको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सो बैंकले दुई अर्ब ६६ करोड ३३ लाख रुपियाँ खुद नाफा आर्जन गरेको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०४ प्रतिशत बढी हो । यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा एक अर्ब ४८ करोड ५६ लाख ४८ हजार रुपियाँ छ ।

यसअघि नबिल र एनआईसी एसिया बैंक नाफामा अगाडि भएको भएपनि चालु आवको दोस्रो त्रैमासिकको विवरण अनुसार भने ग्लोबल आईएमई बैंक नाफमा पनि अगाडि देखिएको हो ।

नेपाल बैंक, एनएमबि, हिमालयन र सनराइज बैंकले विवरण सार्वजनिक गरेका छैनन् । ग्लोबल आइएमई बैंकलाई पछ्याउँदै एनआइसी एसिया बैंक दोस्रो र नबिल बैंक तेस्रो नम्बरमा परेका छन् । प्रतिशतका आधारमा फराकिलो नाफा सिभिल बैंकले गरेको छ । बैंकले १४८.४७ प्रतिशतले नाफा गरेको छ । यसपछि ७१.६८ प्रतिशतले सिद्धार्थ बैंकले नाफा बढाएको छ । सेञ्चुरी बैंकले ५४.७७ प्रतिशत र नेपाल एसबीआइ बैंकले ५२.०४ प्रतिशतले नाफा बढाएको छ ।

यीबाहेक १० प्रतिशतमाथि नाफा गर्ने अन्य छ बैंक छन् । स्ट्यान्डर्ड चार्टर्ड बैंकले ४९.३६ प्रतिशत, एनसीसी बैंकले ४६.६७ प्रतिशत, सिटिजन्स बैंकले ४१.६१ प्रतिशत, माछापुच्छ्रे बैंकले २५.९२ प्रतिशत, एनआइसी एसिया बैंकले १६.४७ प्रतिशत र ग्लोबल आइएमइ बैंकले १५.०४ प्रतिशतले नाफा बढाएका छन्। बाँकी बैंकको नाफा एकल अंकमा छ । वित्तीय विवरण सार्वजनिक गरेकामध्ये चार बैंकको नाफा घटेको छ । प्राइम, नेपाल बंगलादेश बैंक, प्रभु र कुमारी बैंकको नाफा घटेको छ ।

रकमका आधारमा सर्वाधिक नाफा ग्लोबल आइएमइ बैंकले गरेको छ । बैंकले दुई अर्ब ६६ करोड रुपियाँ नाफा गरेको छ । ग्लोबल आइएमइ बैंकले गत वर्ष दुई अर्ब ३१ करोड रुपियाँ नाफा गरेको थियो । दोस्रो नम्बरमा एनआइसी एसिया छ । सो बैंकले दुई अर्ब ४० करोड रुपियाँ नाफा गरेको छ ।

नबिल बैंक तेस्रो नम्बरमा छ । सो बैंकले दुई अर्ब १८ करोड रुपियाँ नाफा गरेको छ । यो ८.२० प्रतिशतले बढी हो । नबिलपछि राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ९१ करोड, प्राइम बैंकले एक अर्ब ६७ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ६२ करोड, सिद्धार्थ बैंकले एक अर्ब ५७ करोड रुपियाँ नाफा गरेको छ ।

अर्बमाथि नाफा गर्नेमा मेगा बैंक एक अर्ब ४० करोड, प्रभु बैंक एक अर्ब २६ करोड, सिटिजन्स बैंकले एक अर्ब २४ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंक एक अर्ब आठ करोड, सानिमा बैंक एक अर्ब सात करोड र माछापुच्छ्रे बैंक एक अर्ब एक करोड नाफा गरेको छ । बाँकी बैकको नाफा अर्बभन्दा तल छ ।


SHARE THIS