राष्ट्र बैंकले १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र बुधबार निष्काशन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । ‘विकास ऋणपत्र २०८० ङ’ नाम दिइएको यो ऋणपत्रको बिक्रीका लागि माघ ११ गते मङ्गलबार बोलकबोल हुने तथा माघ १२ गते बुधबार निष्काशन हुने सूचनामा उल्लेख छ ।

परिपक्व हुने अवधि दुई वर्ष रहेको ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने सूचनामा उल्लेख छ । बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले ऋणपत्र खरिद गर्न पाउनेछन् । यस्तै ऋणपत्र धितो राखेर कर्जा लिन वा दिन पाइने सुविधा पनि हुने राष्ट्र बैंकले जनाएको छ ।

खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलकबोलहरुलाई क्रमश: निष्काशित रकमको ८५ प्रतिशत अर्थात पाँच अर्ब ५० करोड र १५ प्रतिशत अर्थात एक अर्ब ५० करोड रुपियाँ छुट्याइएको छ ।

अप्रतिस्पर्धी बोलबालाहरुलाई छुट्याइएको रकमका लागि पुरा बोल प्राप्त नभएमा बाँकी हुन आउने प्रतिस्पर्धी बोलबालाहरुलाई बिक्री गरिने सूचनमा उल्लेख छ । अप्रतिस्पर्धी बोलबालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलबालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्र बाँडफाँड गरिने बताइएको छ ।

ऋणपत्र खरिद गर्न चाहनेले अनलाइन विडिङ प्रणालीमार्फत सहभागी हुन सक्नेछन् । यही माघ १२ गते बुधबार निष्कासन हुने ऋणपत्रको साँवा २०८० माघ १२ गते पाइने छ । अर्धवार्षिक रुपमा ब्याज पाइने छ भने उक्त ब्याजमा आयकर नलाग्ने पनि सूचनामा उल्लेख छ ।

के हो विकास ऋणपत्र ?

विकास ऋणपत्र दुइ वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र तीन वर्षदेखि १५ वर्षअवधि सम्मका रहेका छन् ।


SHARE THIS