एक खर्ब पाँच अर्बले बढ्यो बजार पूँजीकरण, कारोबार पनि दुई अर्ब १६ करोड रुपियाँले बढी

काठमाडौं । यो साता कुल बजार पूँजीकरण साढे दुई प्रतिशत बढेको छ । माघ महीनाको पहिलो साताको कारोबारमा कुल बजार पूँजीकरण एक खर्ब पाँच अर्ब ४० करोड ३६ लाखले बढेको हो । गत साता ४० खर्ब ३७ अर्ब रुपियाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण यस साता एक खर्ब पाँच अर्ब रुपियाँ बढेर ४१ खर्ब ४२ अर्ब रुपियाँ पुगेको छ । यो साता बजार ७३ दशमलव ५९ अंकले बढ्दा सूचीकृत कम्पनीहरुको कुल सेयर मूल्य पनि बढेको हो ।

गत साता ३५ अर्ब ६५ करोड २७ लाख ४३ हजार रुपियाँ बराबरको छ करोड ९२ लाख ९८ हजार ५७२ कित्ता सेयर कारोबार भएकोमा यो साता ३७ अर्ब ८१ करोड ६० लाख ५९ हजार रुपियाँ बराबरको सात  करोड ६५ लाख ६० हजार ६२७ कित्ता सेयर कारोबार भएको हो । गत साताको तुलनामा यो साता दुई  अर्ब १६ करोड ३३ लाख १६ हजार बराबरको ७२ लाख ६२ हजार ५५ कित्ता बढी सेयर कारोबार भएको हो ।

यो साता पाँच कारोबार दिनमा तीन दिन बजार बढेको छ भने दुई दिन घटेको छ । साताको पहिलो दिन ६९ अंकले बढेको बजार दोस्रो दिन पनि २० दशमलव ६९ अंकले बढेको हो । तेस्रो दिन १० दशमलव ७८ अंक र चौथो दिन ३८ दशमलव ३५ अकले घटेको बजार पाँचौ दिन पुन: ३३ दशमलव शून्य तीन अंकले बढेर बन्द भएको हो ।

गत साता २ हजार ८५७ दशमलव ७५ विन्दुमा रहेको नेप्से परिसूचक यो साता ७३ दशमलव ५९ अंकले बढेर २ हजार ९३१ दशमलव ३४ विन्दुमा पुगेको हो । नेप्से परिसूचकसँगै यो साता सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ९१ अंकले बढेको छ । गत साता ५३० दशमलव ८३ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५४३ दशमलव ७४ विन्दुमा पुगेको हो ।

यो साता बजारका सबै सूचकहरु सकारात्मक देखिएका छन् । पछिल्लो समय नेप्से परिसूचक उकालो यात्रामै रहेको छ । कोभिडको तेस्रो लहरको जोखिमका बीच पनि बजारले भने सकारात्मक गति लिनु भनेको लगानीकर्ताहरु बजार अझमाथि जानेमा आशावादी रहेको बुझ्न सकिन्छ ।

यसअघि पनि कोभिड प्रभावका विच ऐतिहासिक रेकर्ड कायम गरेको स्मरणमा लगानीकर्ताहरु अझै पनि यसको प्रभाव बढ्दै गए अन्य व्यवसायी क्षेत्रमा प्रभाव परेपनि बजार भने थप गतिशिल बन्ने विश्वास लगानीकर्ताहरुको छ ।

पूर्ण अनलाईन कारोबार प्रणालीमार्फत देश तथा विदेशबाट सम्पूर्ण नेपालीहरुले घरमै बसेर कारोबार गर्न सक्ने वातावरणका कारण कोभिडको जोखिमका विच पनि बजारले गति लिनेमा लगानीकर्ताहरु विश्वस्त बनेका हुन् ।

यो साता अन्य समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । गत साताको तुलनामा यो साता अन्य समूहको परिसूचक सर्वाधिक ३ दशमलव ७६ प्रतिशत वृद्धि भएको हो । गत साता २ हजार १३७ दशमलव ०१ विन्दुमा रहेको अन्य समूहको परिसूचक यो साता २ हजार २१७ दशमलव ३५ विन्दुमा पुगेको हो ।

अन्य समूहसँगै यो साता बैंकिङ समूहको ३ दशमलव ६१ प्रतिशत, जलविद्युतको र उत्पादन तथा प्रशोधन समूहको ३ दशमलव ३५ प्रतिशत र जीवन बीमाको ३ दशमलव १९ प्रतिशत परिसूचक बढेको छ ।

यो साता म्युचुअल फण्डको २ दशमलव ७१ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव २३ प्रतिशत, विकास बैंकको २ प्रतिशत र होटल्स तथा पर्यटन समूहको १ दशमलव ३९ प्रतिशत परिसूचक बढेको छ ।

गत साताभन्दा यो साता व्यापारिक समूहको परिसूचक १ दशमलव ६२ प्रतिशत, लघुवित्तको शून्य दशमलव शू्न्य ४ प्रतिशत र लगानी समूहको शून्य दशमलव २३ प्रतिशत परिसूचक घटेको छ ।


SHARE THIS