“कृषिमा लगानी बढाई, स्वरोगार बन्न बैंकहरुले भूमिका खेल्नुपर्छ, कृषिमा लगानी बढाउनु आजको आवश्यकता”

काठमाडौं । सरकारी स्वामित्वको वाणिज्य बैंक कृषि विकास बैंक शुक्रबारदेखि ५४ औं वर्ष पुरा गरी ५५ औं वर्षमा प्रवेश गरेको छ । बैंकको ५५ औं वार्षिकोत्सव समारोहमा अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रमा लगानी बढाउन बैंकहरुलाई आग्रह गर्नुभयो । कृषि क्षेत्रलाई व्यवसायीकरण र उत्पादनमुखी बनाउने कार्यमा बैंकहरुले उच्च भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कोभिड संक्रमणका कारण भर्चुअल माध्यमबाट आयोजना भएको कार्यक्रममा अर्थमन्त्री शर्माले कृषि विकास बैंकले स्थापनाकालमा लिएको प्रमुख उद्देश्यबाट विचलन नभई कृषिलाई पहिलो प्राथामिता दिई कर्जा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल सरकारले अगाडी सारेका लोककल्याणकारी कार्य र उत्पादनमुखी कार्यलाई समेत प्राथामिकता दिई समग्र वाणिज्य बैकिङ व्यावसाय सञ्चालन गर्नुपर्ने अवस्था पनि रहेको भन्दै उहाँले भन्नुभयो – “कृषिमा लगानी बढाई, स्वरोगार बन्नमा बैंकहरुले भूमिका खेल्नुपर्छ, कृषिमा लगानी बढाउनु आजको आवश्यकता हो ।”

कृषि विकास बैंक स्थापनाकालदेखि हाल ५५ औ वर्षसम्ममा सफलतापूर्वक ल्याई पुर्‍याउने सम्पुर्ण बैंक परिवार र सम्बद्ध पक्षलाई हार्दिक बधाई तथा धन्यवाद दिंदै उहाँले आगामी दिनमा थप सफलताको लागि शुभकामना समेत व्यक्त गर्नुभयो ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले पनि बैंकले कृषिलाई पहिलो प्राथमिकता दिएर नै आफ्नो बैकिङ व्यवसाय सञ्चालन गरेको बताउनुभयो । गत वर्षको मौद्रिक नीतिले कृषि क्षेत्रमा थप लगानी अवसर सृजना गर्नका निमित्त कृषि विकास बैंकलाई कृषि क्षेत्रको लिड बैंकको रुपमा रहने गरी कृषि बण्ड जारी गर्ने अवसर प्रदान गरे अनुरुप कृषि बण्ड जारी गरि सकेको उहाँले बताउनुभयो ।

किसानहरुको सुविधाका लागि किसान क्रेडिट कार्डको व्यवस्था गरेको र आगामी दिनहरुमा वाणिज्य बैकिङ लगायत कृषि र किसानहरुको प्रगतिका लागि समेत टेवा पुग्ने खालका कार्यक्रम सञ्चालन गर्न गर्भनर अधिकारीले निर्देशन समेत दिनुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकले करिब १५ लाख निक्षेप ग्राहीको एक खर्ब ५८ अर्ब निक्षेप संकलन, एक लाख ५६ हजार कर्जा ग्राहीलाई करिब एक खर्ब ७५ अर्ब कर्जा प्रवाह गरेको जानकारी दिनुभयो । बैंकले करिब ४० प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह गरेको बताउँदै उहाँले सुन कर्जा, सुन खरिद बिक्री, विदेशी मुद्रा खरिद बिक्री, लकर सेवा, प्रतितपत्र कारोवार, ट्रष्ट रिसिप्ट कर्जा, जमानत कारोवार, सेयरधितोमा कर्जा प्रदान गरिरहेको बताउनुभयो ।

यस्तै बैंकले एटिएम सेवा, एसएमएस अलर्ट सेवा, भिजा कार्ड, मोबाईल बैंकिङ्ग सेवा, एडिबिल रेमिट, आइपिएस सेवा तथा कनेक्ट आईपिएस, अनलाईन बैंकिङ्ग खाता खोल्ने, आरटिजिएस, आस्बा, डिम्याट, इन्टरनेट बैकिङ्ग सेवा, फाईव ईन वन सेवा, क्यूआर टेलर सेवा, मोवाईल बैंकिङ्ग मार्फत युटिलिटी पेमेन्ट प्रदान गरिरहेको सीइओ उपाध्यायले बताउनुभयो ।

करिब तीन लाखको हाराहारीमा रहेका सेयरधनीहरुलाई २१ प्रतिशतको प्रतिफल उपलब्ध गराउन सफल भएको भन्दै बैंकका सीइओ उपाध्यायले कुशल एवं प्रभावकारी बैंकिङ सेवा प्रवाहका माध्यमबाट उच्च गुणस्तरयुक्त सम्पत्तिको निरन्तर सृजना र त्यसबाट प्राप्त प्रतिफल बैंकका सबै हिस्सेदार समक्ष न्यायपूर्ण ढंगबाट वितरण गर्न सम्पूर्ण बैंक परिवारको तर्फबाट प्रतिबद्धता व्यक्त समेत गर्नुभयो ।

सो अवसरमा २० वर्ष र २५ वर्ष सेवा अवधि पूरा गर्ने कर्मचारी, बैंकका उत्कृष्ट ग्राहकको नामाबली, कार्यसम्पादनमा उत्कृष्ट अंक ल्याई पुरस्कृत हुने कर्मचारीहरुको नामाबली समेत घोषणा, सम्मान तथा पुरस्कृत समेत गरिएको थियो ।

कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्यहरु डा.राजेन्द्रप्रसाद मिश्र, रमेश दुवाडी, डा. इन्दीरा श्रेष्ठ मास्के,  संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोद कुमार गुरांगाई बैंकका उप–महाप्रबन्धकहरु प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दिर्घ बहादुर अर्याल, बाबुकाजी थापा कम्पनी सचिव तथा प्रबक्ता हिमलाल पौडेललगायत कर्मचारीहरुको उपस्थिति थियो ।


SHARE THIS