राष्ट्रिय वाणिज्य बैङ्क ५७ औँ वर्षमा "कृषि, पर्यटन, औद्योगिक विकास र विस्तारमा लगानीलाई दोब्बर बनाउन सुझाव"


काठमाडौँ । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको ५७ औँ वर्षमा प्रवेश गरेको छ ।  बैङ्कको ५७ औँ वार्षिकोत्सव समारोहलाई सोमबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले कृषि, पर्यटन, औद्योगिक विकास र विस्तारमा गर्दै आएको लगानीलाई दोब्बर बनाउन सुझाव दिनुभयो ।

मुलुकलाई आत्मनिर्भर बनाउन वैदेशिक लगानी अभिबृद्धिका लागि नयाँ र समयसापेक्ष कार्यक्रम ल्याउन बैङ्क तथा वित्तीय संस्थासँग आग्रह गर्दै उहाँले गरिबी न्यूनीकरणमा बैङ्कको लगानी केन्द्रित हुनुपर्ने धारणा पनि व्यक्त गर्नुभयो ।

राष्ट्रिय वाणिज्य बैङ्कले सोमबारदेखि नै सुरु गरेको ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा’ (यूएसएसडी) सेवाको सुरुवात गर्दै मन्त्री शर्माले यस्तो नयाँ प्रविधिको प्रयोगले ग्रामीण भेगका जनतालाई पनि वित्तीय पहुँचमा ल्याउन सक्ने र छरिएर रहेको पुँजी एकीकृत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गरेको यो सेवा इन्टरनेट र जीपीएस सेवा नभएका स्थानका ग्राहक र सामान्य मोबाइल फोनमा पनि सजिलै चलाउन सकिने बैङ्कले जनाएको छ । यो सेवाबाट ग्राहकले बैङ्क रकम ट्रान्सफर गर्ने, स्टेटमेन्ट हेर्ने, पिन परिवर्तन गर्नेलगायतका सेवा उपभोग गर्न सकिने बैङ्कले जनाएको छ । सोही अवसरमा उहाँले बैङ्कले प्रकाशन गरेको स्मारिका उपहारको विमोचन पनि गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले पहिलो लहरको महामारीपछि पुनरुत्थान हुन खोज्दै गरेको अर्थतन्त्रमा अहिले चाप परेको बताउनुभयो । उहाँले बजारमा देखिएको तरलताको व्यवस्थापन गर्न राष्ट्र बैङ्क लागिरहेको जानकारी दिँदै त्यसका लागि राष्ट्र बैङ्कले विभिन्न औजार प्रयोगमा ल्याइरहेको बताउनुभयो । 

केही विषम परिस्थिति आयो भन्दैमा बैङ्कहरू आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँदै साथमा राष्ट्र बैङ्क रहेको छ भन्दै आश्वासन पनि दिनुभयो । 

विभिन्न चुनौतीको सामना गर्दै राष्ट्रिय वाणिज्य बैङ्कले हासिल गरेका सफलताको प्रशंसा गर्दै गभर्नर अधिकारीले हाल भएका कर्मचारीको सीप र दक्षताको अधिकतम उपयोग गरेर प्रतिस्पर्धामा उत्रन सुझाव दिनुभयो । 

कार्यक्रमा राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समिति अध्यक्ष डा. बलराम पाठकले सरकारको पूर्ण स्वामित्व रहेको यो बैङ्कले सरकारका नीति तथा कार्यक्रमलाई आत्मसात् गर्दै अगाडि बढिरहेको चर्चा गर्नुभयो । उहाँले बैङ्कले ७७ जिल्लाका २५८ शाखामार्फत सेवा प्रवाह गरेको र आगामी दिनमा अझ नयाँ सेवा तथा सुविधा विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चालू आर्थिक वर्षको मध्यसम्ममा बैङ्कमा दुई खर्ब ४२ अर्ब रुपियाँ निक्षेप, दुई खर्ब ११ अर्ब रुपियाँ कर्जा परिचालन भएको बताउनुभयो । त्यस्तै यो अवधिमा बैङ्कले एक अर्ब ९२ करोड रुपियाँ खुद नाफा आर्जन गरेको, बैङ्कको बेसरेट ६.६० रहेको र सीडी रेसियो ८३.५१ प्रतिशत रहेको जानकारी दिनुभयो ।

उहाँले यसै वर्ष १० शाखा जिल्ला सदरमुकाममा पुर्‍याउने योजना रहेको बताउनुभयो । उहाँले बैङ्कले नेपाल टेलिकमसँग सहकार्यमा नमस्ते पे सुरु गरेको र प्रतिस्पर्धामा जान नयाँ प्रडक्ट र सफ्टवेयर सञ्चालनमा ल्याउन लागेको पनि बताउनुभयो ।

कार्यक्रममा बैङ्कमा क्रियाशील नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका अध्यक्ष विपेन्द्र कार्की, नेपाल वित्तीय संस्था कर्मचारी सङ्घका अध्यक्ष मिलनबाबु नेपाल र राष्ट्रिय वाणिज्य बैङ्क कर्मचारी सङ्घ नेपालका अध्यक्ष रामप्रसाद जोशीले कर्मचारीको वृत्ति विकासमा ध्यान दिनुपर्ने र बैङ्कले गरेको मुनाफाबाट कर्मचारीलाई दिइने लाभांश बढाउनुपर्नेलगायतका माग राख्नुभएको थियो ।

मुलुकको आर्थिक क्षेत्रकोे विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ वि. सं. २०२२ माघ १० गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैङ्क सातैवटा प्रदेश, ७७ वटै जिल्लामा पुग्ने पहिलो वाणिज्य बैङ्क हो । हाल देशभर राष्ट्रिय वाणिज्य बैङ्कका २५८ वटा शाखा कार्यालय, २४५ वटा एटीएम, ४१ स्थानमा एक्सटेन्सन काउन्टर, ९८ स्थानमा शाखारहित बैङ्किङ सेवा सञ्चालनमा छन् ।


SHARE THIS