सेयर बजारमा एकैदिन एक सय अंकको पहिरो, कारोबार रकममा भने झण्डै दुई अर्बले सुधार

काठमाडौं । सेयर बजारमा एकैदिन एक सय अंकको गिरावट आएको छ । सोमबार बजार खुलेदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक ९९.८६ अंकले ओरालो लागेर २८२०.६५ को विन्दुमा पुगेर रोकिएको छ । सेन्सेटिभ इन्डेक्स पनि १८.०८ अंकले ओरालो लागेर ५२६.०३ को विन्दुमा पुगेर रोकिएको छ । समग्रमा साताको दोस्रो दिन ३.४२ प्रतिशत र सेन्सेटिभ इन्डेक्स पनि ३.३२ प्रतिशतले ओरालो लागेको छ ।

बजार उच्च अंकले घट्दा पनि सोमबार दुई कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कुल कारोबार भएका २२८ कम्पनीमध्ये आठ कम्पनीको सेयरमूल्य बढेको छ । जसमध्ये विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत बढेर कारोबार भएको हो । विन नेपाल लघुवित्त, नेपाल सेवा लघुवित्त र विन लघुवित्त एक आपसमा गाभिएपश्चात बनेको कम्पनी हो । यी दुई लघुवित्तले गत कात्तिक १५ गतेदेखि एकिकृत कारोबार शुरु गरेका थिए । मर्जर प्रयोजनको लागि रोक्का रहेको कम्पनीको सेयर गत सातामात्र फुकुवा भएको थियो । त्यसैगरी, बुद्धभुमि नेपालको सेयर पनि गत साता मात्र नेप्सेमा सूचीकृत भइ कारोबारमा आएको कम्पनी हो ।

अघिल्लो साताको अन्तिम दिन साढे २९०० को विन्दु पछ्याएर बन्द भएको सेयर बजार यो साताको पहिलो दिनदेखि ओरालो लागेको छ ।

आइतबार सेयर बजार मापक नेप्से परिसूचक १०.८३ अंकले ओरालो लागेर २९२०.५१ को विन्दुमा पुगेर रोकिएको थियो । सेन्सेटिभ इन्डेक्स भने ०.०६ अंकले उकालो लागेर ५४३.८० को विन्दुमा पुगेर अडिएको थियो । समग्रमा पहिलो दिनको नेप्से ०.३७ प्रतिशतले ओरालो लागेको थियो भने सेन्सेटिभ इन्डेक्स ०.१० प्रतिशतले उकालो लागेको थियो ।

नेप्से परिसूचक ओरालो लागेपनि कारोबार रकम भने अघिल्लो दिन भन्दा झण्डै दुई अर्बले उकालो लागेको छ । सोमबार दिनभर २२८ कम्पनीहरुको एक करोड ७० लाख ६३ हजार ८३३ कित्ता सेयर एक लाख १३ हजार २०५ पटक खरिदबिक्री हुँदा आठ अर्ब ८८ करोड ८५ लाख १३ हजार १७८ रुपियाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ८५ करोड रुपियाँले बढी हो ।

आइतबार दिनभर २३२ कम्पनीहरुको एक करोड ४७ लाख चार हजार २७७ कित्ता सेयर ८७ हजार ४७८ पटक खरिदबिक्री हुँदा सात अर्ब तीन करोड पचास लाख आठ हजार २६३ रुपियाँ बराबरको सेयर कारोबार भएको थियो ।

सोमबार ३८ करोडभन्दा बढीको सेयर कारोबार भएर कारोबार रकमका आधारमा अपि पावर शीर्ष स्थानमा पुगेको छ । एनआईसी एशिया बैंकको ३६ करोडभन्दा बढी र अरुण भ्याली हाइड्रोपावरको ३० करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

सोमबार कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेका छन् । वित्त, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक चार प्रतिशतभन्दा बढी घटेको छ । यस्तै व्यापार, होटल तथा पर्यटन, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र लगानी उपसमूहको परिसूचक तीन प्रतिशतभन्दा बढीले ओरालो लागेका छन् ।

दोस्रो दिन विन लघुवित्त र बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने कर्णाली डेभलपमेन्ट बैंकका सेयर लगानीकर्ताले सर्वाधिक ७.८२ प्रतिशतले गुमाएका छन् । माउन्टेन हाइड्रो नेपाल, आशा लघुवित्त, ओरियन्टल होटल र सामलिङ्ग पावर लिमिटेडको सेयरमूल्य पनि सात प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।

ज्योति लाइफ, गोर्खाज फाइनान्स, सानिमा लार्ज क्याप फण्ड, जनउत्थान सामुदायिक लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र सिद्धार्थ बैंकको ऋणपत्रको मूल्य सामान्य बढेको छ । कारोबारमा आएको कर्णाली डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी, आशा लघुवित्त र ओरियन्टल होटलको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ ।


SHARE THIS