“कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले एग्रेसिभ रुपमा व्यवसाय विस्तार नगर्नु”

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले पब्लिकको पैसा चलाउने भएकाले गलत प्रवृति बैंकमा छिर्न दिन नहुने बताउनुभएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको सोमबार आयोजित ५७ औं वार्षिकोत्सव कार्यक्रमममा यहाँले साँच्चिकै व्यवसाय गर्ने मानिसलाई बैंकले दिने कर्जाले प्रोत्साहन हुने बताउँदै बैंकहरुले पनि सही र गलत व्यक्ति छुट्याउन सक्नुपर्नेमा जोड दिनुभयो ।

लगानीको प्राथमिकता र स्रोतको परिचालन सही रुपमा गर्न पनि बैंकहरुलाई सुझाव दिंदै उहाँले कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले एग्रेसिभ रुपमा व्यवसाय विस्तार नगर्न आग्रह गर्नुभयो ।

‘पहिले कोरोनाको समयमा पनि हामीले आफु पनि बाँच्ने र अरुलाई पनि बचाउने रणनीति लियौं, अर्थतन्त्रलाई टिकाउन हाम्रो महत्वपूर्ण भूमीका हुन्छ, अहिले एग्रेसिभ्ली जाने समय होइन, ब्रान्च खोल्दा वा सेवा विस्तार गर्दा नआत्तिनु होला, अफ्ठ्यारो समय आउँछ, सुरक्षित रुपमा अगाडि बढ्नु होला, म्यानेजरको काम नै म्यानेज गर्ने हो, राष्ट्र बैंक तपाईंहरुसँग नै छ,’ उहाँले भन्नुभयो ।

असहज अवस्थामा पनि बैंकहरुले बैंकिङ सेवा दिइरहेको बताउँदै उहाँले नेपाल राष्ट्र बैंकले पनि तरलताको चाप परिरहेको अवस्थामा विभिन्न मौद्रिक उपकरणहरु प्रयोग गरेर समस्याको समाधान गरिरहेको जानकारी गराउनुभयो । गभर्नर महाप्रसाद अधिकारीका अनुसार गत भदौदेखि हालसम्म राष्ट्र बैंक्ले ३१ खर्ब रुपियाँको एसएलएफ सुविधा दिएको छ ।


SHARE THIS