मुलुकको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८०, दश वर्षको सरदर जनसंख्या वार्षिक बृद्धिदर ०.९३ प्रतिशत

काठमाडौँ । विगत दश वर्षको सरदर जनसंख्या वार्षिक बृद्धिदर ०.९३ प्रतिशत रहेको देखिएको छ । जुन अघिल्लो जनगणनामा १.३५ प्रतिशत रहेको केन्द्रिय तथ्याङ्क विभागले जनाइको छ । अघिल्लो जनगणनाको तुलनामा यस पटकको जनगणनामा महिलाको जनसंख्या थप बढ्दो देखिएको छ । राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजाअनुसार मुलुकको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेकामा एक करोड ४९ लाख एक हजार १६९ जना महिला (५१.०४ प्रतिशत) र एक करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष (४८.९६ प्रतिशत) रहेका छन् ।

दश वर्षअघि २०६८ सालको जनगणनामा कूल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेकामा पुरुष र महिलाको हिस्सा क्रमश: ४८.५ प्रतिशत र ५१.५ प्रतिशत रहेको थियो । हालको प्रारम्भिक नतिजा अनुसार लैङ्गिक अनुपात (प्रति १०० महिलामा पुरुषको संख्या) ९५.९१ रहेको राष्ट्रिय योजना आयोग मातहतको केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा उल्लेख छ । गत जनगणनामा प्रति सय महिलामा पुरुषको संख्या ९४.१६ रहेको थियो ।

कूल जनसंख्या अघिल्लो गणनाको तुलनामा २६ लाख ९७ हजार ९७६ ले बढी हो । यसरी हेर्दा दश वर्षमा नेपालको जनसंख्या १०.१८ प्रतिशतले बढेको देखिएको छ । विगत दश वर्षको सरदर वार्षिक वृद्धिदर ०.९३ प्रतिशत रहेको र जुन अघिल्लो जनगणनामा १.३५ प्रतिशत रहेको विभागले जनाएको छ । यस जनगणनामा पहिलो चरणको स्थलगत कार्य विसं २०७८ भदौ ३० देखि असोज १८ गतेसम्म र दोस्रो चरणको स्थलगत कार्य विसं २०७८ कात्तिक २५ देखि २०७८ मङ्सिर ९ गतेसम्म सम्पन्न भएको थियो ।

राष्ट्रिय जनगणना २०७८ को प्रदेश तथा जिल्लास्तरमा व्यवस्थापकीय कार्यका लागि एक हजार ८७१ कर्मचारी र स्थलगत कार्यमा करिब आठ हजार ५०० सुपरिवेक्षक तथा ३९ हजार गणक संलग्न थिए । दुवै चरणको स्थलगत कार्य सम्पन्न भई भरिएका फाराम (घर तथा घरपरिवार सूचीकरण फाराम, मुख्य प्रश्नावली तथा सामुदायिक प्रश्नावली) केन्द्रीय तथ्याङ्क विभागमा प्राप्त भई प्रशोधन थालिएको हो ।

प्रारम्भिक नतिजाअनुसार नेपालमा अक्सर बसोबास गर्ने परिवारको सङ्ख्या ६७ लाख ६१ हजार ५९ रहेको छ र ती परिवार जम्मा ५६ लाख ४३ हजार ९४५ घरमा बसेका देखिएको छ । यसबमोजिम १० घरमा औषतमा १२ परिवार बसोबास गरेको देखिन्छ । हालको परिवार संख्या दश वर्षअघिको भन्दा करिब २४.५७ प्रतिशतले बृद्धि भएको हो । यस अवधिमा जम्मा १३ लाख ३३ हजार ७५७ परिवार थप भएको देखिन्छ । परिवारको आकारप्रति परिवार ४.३२ जना सदस्य रहेको देखिन्छ जुन २०६८ मा ४.८८ जना थियो ।

सहरी क्षेत्रका परिवारमा सालाखाला ४.२५ जना रहेका छन् भने ग्रामीण क्षेत्रमा ४.५५ जना रहेको देखिन्छ जुन दश वर्षअघि क्रमश: ४.३२ जना र ५.०२ जना थियो । भौगोलिक क्षेत्रानुसार हेर्दा हिमाली क्षेत्रमा सालाखाला ४.२७ जना, पहाडमा ३.९५ जना र तराई क्षेत्रमा ४.६५ जना प्रतिपरिवार रहेको देखिन्छ । प्रदेशगत आधारमा हेर्दा परिवारमा औसत सदस्य सङ्ख्या गण्डकी प्रदेशमा सबैभन्दा कम (३.६६ जना) र मधेश प्रदेशमा सबैभन्दा बढी (५.६६ जना) रहेको छ जुन २०६८ सालमा क्रमश: ४.१६ जना र ५.८० जना रहेको थियो । जिल्लाअनुसार परिवारको आकार सबैभन्दा सानो दोलखामा (३.४१ जना) देखिएको छ भने परिवारको आकार सबैभन्दा ठूलो रौतहटमा ५.९२ जना देखिएको छ ।

भौगोलिक क्षेत्रअनुसार कूल जनसङ्ख्याको वितरणमा तराई क्षेत्रको अंश २०६८ सालको तुलनामा २०७८ मा बृद्धि भएको देखिएको छ । विसं २०६८ को जनगणनामा तराईमा कूल जनसंख्याको ५०.२७ प्रतिशत  हिस्सा रहेकामा २०७८ मा बृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ । हिमाली क्षेत्रमा कूल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकामा २०७८ मा केही कम भई ६.०९ प्रतिशत रहेको देखिन्छ ।

त्यसैगरी पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशत अंश रहेकामा हाल ४०.२५ प्रतिशतमा झरेको छ । दश वर्षको अवधिमा लैङ्गिक अनुपात तराईमा एक प्रतिशत विन्दुले घटेको देखिन्छ भने हिमाल तथा पहाडमा क्रमश: तीन प्रतिशत र चार प्रतिशत विन्दुले बढेको देखिन्छ । यो गत २०६८ को जनगणनामा हिमाल, पहाड र तराईमा क्रमश: ९४, ९१ र ९७ रहेकामा २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजासम्म आइपुग्दा क्रमश: ९७, ९५ र ९६ कायम हुन आएको छ । वार्षिक जनसंख्या बृद्धिदर हेर्दा हिमाली क्षेत्रमा ऋणात्मक (—०.०२ प्रतिशत), पहाडी क्षेत्रमा न्यून मात्रामा धनात्मक (०.२९ प्रतिशत) र तराई क्षेत्रमा अन्य क्षेत्रको तुलनामा उच्च धनात्मक (१.५६ प्रतिशत) बृद्धि देखिन्छ ।

प्रदेशअनुसारको जनसंख्या परिवर्तन र बृद्धिदर प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८ र सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८८९ जना रहेको छ जुन समग्रको क्रमश: २०.९९ प्रतिशत र ५.८१ प्रतिशत छ । लैङ्गिक रुपले विश्लेषण गर्दा लैङ्गिक अनुपात सबैभन्दा धेरै मधेश प्रदेशमा र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा क्रमश: १०१ र ९० रहेको छ ।

यस्तै प्रदेशगत रुपमा वार्षिक जनसंख्या बृद्धिदर हेर्दा सात प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५ प्रतिशत प्रतिवर्ष र सबैभन्दा कम गण्डकी प्रदेशमा ०.३० प्रतिशत प्रतिवर्ष जनसंख्या बृद्धि देखिन्छ । दोस्रो धेरै वार्षिक जनसंख्या बृद्धिदर हुने प्रदेशमा मधेश प्रदेश रहेको छ जसको बृद्धिदर १.२० प्रतिशत प्रतिवर्ष छ । अन्य प्रदेशको वार्षिक जनसंख्या बृद्धिदर १.० प्रतिशत भन्दा कम नै रहेको देखिन्छ ।


SHARE THIS