जारी भयो जलवायु जोखिम सम्बन्धी निर्देशिका, आगामी आर्थिक वर्षदेखि लागू हुँदै

काठमाडौं । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले आफ्नो वार्षिक प्रतिवेदनमा जलवायु सम्बन्धी जोखिमबाट आफ्नो व्यवसायमा परेको प्रभाव खुलाउनु पर्ने भएको छ ।

नियामक निकाय बीमा समितिले जलवायु जोखिम सम्बन्धी निर्देशिका, २०७८ जारी गर्दै अब बीमा कम्पनीहरुले जलवायु जोखिमको विवरण अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको हो ।

जलवायु जोखिम सम्बन्धी निर्देशिका २०७९ साउन १ गतदेखि लागू हुने समितिले जनाएको छ । निर्देशिका लागू भएसँगै सञ्चालित जीवन तथा निर्जीवन बीमा कम्पनीहरु सबैले आफ्नो वार्षिक प्रतिवेदनमा जलवायु सम्बन्धी जोखिमबाट आफ्नो व्यवसायमा परेको प्रभाव खुलाउनुपर्ने भएको छ ।

बीमा क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव सम्बोधन गर्नुका साथै जलवायु परिवर्तनबाट बीमकहरुमा आईपर्ने जोखिमहरु तथा त्यसको प्रतिकार्य स्वरुप उनीहरुबाट भएका कार्यको मूल्याङ्कन गर्न यो निर्देशिका जारी गरिएको समितिले जनाएको छ ।

निर्देशिका अनुसारको विवरण कुनै कारणले प्रकाशन नगरेमा कम्पनीले सो सम्बन्धी कुनै वैकल्पिक सूचना प्रकाशन गरेको छ वा छैन वा जलवायु जोखिम सम्बन्धी विवरण बीमकको पोर्टफोलियोसँग सान्दर्भिक भए वा नभएको वा त्यस्तो विवरण उपलब्ध हुन नसक्नाको कारण स्पष्ट खुलाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।

निर्देशिका लागू भएको मितिले तीन वर्ष पूरा भएपछि बीमकले नयाँ बीमा योजना तयार गर्दा सोको बीमा शुल्क निर्धारणमा जलवायु जोखिमलाई कसरी समाविष्ट गरिएको छ भन्ने समेत स्पष्ट रुपमा खुलाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।

समितिका अनुसार जलवायु सम्बन्धी जोखिम तथा जलवायु जोखिम भन्नाले स्थिरता जोखिमको उपवर्गको रुपमा रहेका जलवायु परिवर्तन वा यससँग सम्बन्धित भौति, संंक्रमण वा दायित्व जोखिमका कारणले आईपर्ने जोखिम हो ।

बीमा कम्पनीहरुले जलवायु जोखिमको प्रभाव सम्बन्धी विवरण वेबसाइटमार्फत प्रकाशित गरी त्यस्तो जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा ग्राहकलाई सुझाव दिनुपर्ने निर्देशिकामा उल्लेख छ ।


SHARE THIS